एक महिनामै फेरिए विमानस्थल प्रहरी इन्चार्ज

एक महिनामै फेरिए विमानस्थल प्रहरी इन्चार्ज

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी इन्चार्ज एक महिनामै हेडक्वार्टर फर्किएका छन्। ३८ क्विन्टल अवैध सुन तस्करी भएको भनिएको विमानस्थलबाट डीआईजी शेरबहादुर बस्नेतलाई मुख्यालयअन्तर्गत सुरक्षा परिषद् लगिएको छ।

त्यसअघि असोज २८ गतेदेखि लागू हुने गरी डीआईजी कमलबहादुर जीटी महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरबाट प्रहरी प्रधान कार्यालय विशेष ब्युरो सरुवा भएका थिए। उनको स्थानमा विमानस्थल पुगेका डीआईजी बस्नेतलाई प्रहरी प्रधान कार्यालयले सुरक्षा परिषद्को कार्यालयमा लगेको हो। बस्नेत सुरक्षा परिषद् पुगेसँगै अब एसएसपी देवबहादुर बोगटीले तत्कालका लागि विमानस्थल निमित्त सुरक्षा प्रमुखको जिम्मेवारी पाएका छन्।

प्रहरी प्रधान कार्यालयले सरकारको निर्णय उल्ट्याउँदै विमानस्थल सुरक्षालाई आफूबाट महानगरीय प्रहरी आयुक्त मातहत पठाउने निर्णय गरेसँगै डीआईजी बस्नेत सुरक्षापरिषद् गएको प्रहरी स्रोतले जनाएको छ। प्रहरी प्रधान कार्यालय अन्वेषण योजना निर्देशनालयका प्रमुख डीआईजी विनोद शर्मा घिमिरेले मंसिर ११ गते पठाएको पत्रानुसार विमानस्थल सुरक्षालाई महानगरीय प्रहरी कार्यालय मातहत ल्याइएको उल्लेख छ।

जुनियरलाई रिपोर्टिङ

गृहमन्त्री रामबहादुर थापा र मन्त्रिपरिषदबाट स्वीकृत संगठन–व्यवस्थापन सर्वेक्षण प्रतिवेदन–२०७५ को निर्णय उल्टाएर प्रहरी प्रधान कार्यालयले विमानस्थल सुरक्षा महानगरीय प्रहरी कार्यालय मातहत लगेपछि बस्नेत त्यहाँबाट हटेका हुन्। प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालयलाई विमानस्थल सुरक्षाको जिम्मा फिर्ता गरेसँगै विमानस्थलका डीआईजी बस्नेतले आफूभन्दा जुनियरलाई रिपोर्टिङ गर्नुपर्ने भएपछि अन्यत्र जान खोजेका थिए।

विमानस्थल सुरक्षा प्रमुखमा नायव महानिरीक्षक (डीआईजी) रहने व्यवस्था छ। यसअघि महानगरीय प्रहरी प्रमुखमा अतिरिक्त महानिरीक्षक (एआईजी) खटाइन्थ्यो। जेठ २७ गतेको मन्त्रिपरिषद् बैठक र त्यसपछि जेठ ३१ को मन्त्रीस्तरीय निर्णयबाट महानगरीय प्रहरी कार्यालयमा डीआईजी रहने व्यवस्था थियो।

तत्कालीन विमानस्थल सुरक्षा प्रमुख डीआईजी कमलबहादुर जीटी विशेष ब्युरो सरुवा भएपछि त्यहाँ पुगेका बस्नेत पनि सिनियारिटीको समस्याले एक महिनामै हटेका हुन्। बस्नेतले विमानस्थल सुधारको काम अघि बढाएका थिए। अन्तर्राष्ट्रिय टर्मिनलअघिको पार्किङ उनकै पालामा हटाएर गोल्डेन गेटनजिकै झारिएको छ।

बस्नेतले विमानस्थल प्रवेशका लागि बाँडिएका साधारण र भीआईपी प्रवेश पास फिर्ता लिएर नियमन गर्न विमानस्थलका अन्य निकायसँग छलफल अघि बढाइरहेका बेला सिनियारिटीको विषयले त्यहाँबाट फिर्ता भएका हुन्। तर सुरक्षाविज्ञहरूले भने विमानस्थल जस्तो सुरक्षाले संवेदनशील स्थानबाट प्रमुखको हुने हेरफेरले सुरक्षा चुनौती बढाउने बताएका छन्।

असोज ६ गतेको गृह मन्त्रालयको सिफारिसअनुसार डीआईजी बनेका शैलेश थापा क्षेत्री महानगरीय प्रहरी कार्यालय प्रमुख छन्। विमानस्थल प्रमुखको जिम्मेवारी एक महिना मात्रै सम्हाल्दै केही दिनअघि सुरक्षा परिषद् पुगेका डीआईजी बस्नेत वर्तमान आईजीपी सर्वेन्द्र खनालका ब्याची हुन्।

विकल्प नयाँ डीआईजी

तत्काललाई एसएसपी देवबहादुर बोगटीले विमानस्थलमा निमित्त सुरक्षा प्रमुखको काम गर्ने नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदीले जानकारी दिए। ‘विद्यमान प्रहरी ऐन र नियमवालीअनुसार विमानस्थल सुरक्षाको कमान्ड डीआईजीमै छ। एसएसपीलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ, हामी चाँडै नयाँ डीआईजी पठाउँछौं’, उनले भने।

प्रहरी प्रधान कार्यालयले कात्तिक १० काभ्रेमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका डीआईजी सुशील भण्डारीको स्थानमा एक जनालाई बढुवा गरेर विमानस्थलमा पठाउने विकल्प रहेको जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.