सामाजिक सुधारका अभियन्ता
शिक्षाप्रेमी, समाजसेवी र छुवाछूतविरुद्ध कदम चाल्ने व्याक्तित्वका रूपमा षडानन्द अधिकारी चिनिन्छन्। १८९२ सालमा मंसिर शुक्ल पञ्चमी (विवाहपञ्चमी) मा भोजपुरको दिङ्लामा जन्मेका षडानन्द टेकुको पचली घाटमा १९७३ मा ब्रह्मलीन हुँदा आवाल ब्रह्मचारी बालागुरु षडानन्द भन्ने चिनारी प्राप्त गरिसकेका थिए। आमा रुक्मिणीका कान्छा सन्तान गर्भेटुहुरो षडानन्दले आठ वर्षको उमेरमा व्रतबन्ध गरेदेखि नै जनकपुर र बनारसमा अध्ययन, ध्यान र योग साधना गरेर योग साधकका रूपमा आफूलाई खार्दै लगे। यिनले २४ पल्ट गायत्री पुरश्चरण गरेका थिए। विधिपूर्वक चौबीस लाखपटक गरिएको गायत्री मन्त्रको जपलाई एक पुरश्चरण मानिन्छ। षडानन्दले मन्त्रजपबाट सिद्धि प्राप्त गरेर दिङ्लामा नर्मदेश्वर शिवमन्दिर र विद्यालय स्थापना गरेका थिए। यिनले शिक्षाको माध्यमबाट सामाजिक सुधार गर्ने निर्णय गरेअनुरूप व्यावहारिक कार्य गरे। विसं १९३२ मा षडानन्दले दिङ्लामा स्थापना गरेका सामुदायिक विद्यालयमा पढ्न छिमेकी देशबाट पनि विद्यार्थी आउँथे। आसाम, सिक्किम र ताप्लेजुङका विद्यार्थीको रोजाइमा दिङ्लाको पाठशाला पर्दथ्यो।
१८५ वर्षअघिको समाजमा विद्यमान जातिप्रथा र छुवाछूत अन्त्यका लागि षडानन्दले व्यावहारिक कदम चालेका थिए। धर्मको आडमा मानिस–मानिसका बीचमा गरिने विभेद हटाउन उनले लेखेर भन्दा पाठशाला सँगसँगै सबैलाई राखेर शिक्षा दिएर विभेद कम गर्ने प्रशंसनीय कार्य गरे। षडानन्दलाई पढ्न लेख्न प्रेरणा दिएर हौसला प्रदान गर्ने गाउँगाउँका बोद्ने दमै, रुक्मिणी दमिनीको स्मरण पनि षडानन्दसँगै गर्नुपर्छ।
षडानन्दले संस्कृत भाषालाई वैदिक देववाणीमा मात्रै सीमित नराखेर लौकिक जीवनको अभिन्न अंग नै बनाउन आफ्नै गाउँ ठाउँबाट पहल गरे। नेपालका धेरै स्थानमा बोलिने र कुनै बेला राष्ट्रभाषासमेत रहेको संस्कृतमा लेखिएका ग्रन्थहरूका आधारमा उनले नैतिक शिक्षा र अध्यात्मको ज्ञान सरल ढंगले दिने माध्यम शैक्षिक संस्थालाई रोजे। आफ्नो कर्मथलो उनले विद्यालय नै छाने। नीति र नियत दुवै प्रबल र स्वच्छ हुनुपर्नेमा उनी जोड दिन्थे।
तनावमुक्त जीवन जिउन षडानन्दले नैतिक, आध्यात्मिक र योगमय व्यवहार रोजे। विभिन्न योगमध्ये हठ र राजयोगको माध्यमबाट परमात्मासँग नजिक हुने र स्वस्थ जीवन बाँच्ने प्रयत्नमा उनी लागेका थिए। गायत्री मन्त्र २४ पटकसम्म पुरश्चरण गरेर योगद्वारा यिनले पाएका सिद्धिबाट प्रचलित किंवदन्ती पनि थुप्रै छन्। अरुण र बागमती नदीमा पानीमाथि हिँडेर वारपार गरेको देख्ने दाबी गर्ने मानिसहरू पनि छन्।
षडानन्दले विनम्र हुन सम्यक्वाणी बोल्न पाठशालाका विद्यार्थीलाई बारम्बार शिक्षा दिन्थे। दिङ्लामा खोलेका पाठशालाका प्रथम प्रधानाध्यापक नन्दीकेश्वर अधिकारीको देखरेखमा विद्यार्थीलाई सुत्ने र खानेसमेतको व्यवस्था गरिएको थियो। पाठशाला र खानपिनको व्यवस्था सुचारुरूपले सञ्चालन गर्न यिनले गुठीको व्यवस्थासमेत गरेका थिए। लिच्छवीकालमा धार्मिक र लौकिक व्यवस्था गर्न गोष्ठीहरूको व्यवस्था गरिएको हुन्थ्यो। लेलेको शिवदेव र अंशुबर्माको शिलालेखमा गोष्ठी प्रथाबारे विस्तृत उल्लेख छ। लिच्छवि समयको गोष्ठी प्रथा मल्लकालमा गुठी भएर आजसम्म पनि कुनै न कुनै रूपमा कायमै छ। समाजका विभिन्न आवश्यक कार्य मिलेर गर्ने सुन्दर पद्धति बोकेको गुठीबाट प्रभावित भएर षडानन्दले आफूले खोलेको पाठशाला र छात्रावास सञ्चालन गर्न, जग्गाजमिनको व्यवस्था गरेर गुठी खोले।
षडानन्द जन्मेको १८ वर्षपछि (जंगबहादुरको समयमा) १९१० मा नेपालमा लिखित कानुन जारी भयो। मुलुकी ऐन जारी भएपछि समाजका कुरीतिविरुद्ध बोल्न र कदम चाल्न षडानन्दलाई सजिलो भयो।
षडानन्दले आफ्नो संस्कृति र संस्कारको सम्मान र जगेर्नाका सुधारवादी कदम चालेका थिए।
षडानन्दले बालविवाह, बहुविवाह, अनमेल विवाह, सतीप्रथा, दासप्रथाको विरोधमा बोले र तत्कालीन समाजमा यसबारेमा चेतना फैलाउने कार्य गरे। तात्कालीन समाजमा धर्म ठानिएका र धर्म–पापसँग जोडिएको विविध सामाजिक कर्मकाण्ड र संस्कारमा सुधार ल्याउन बोल्ने र कदम चाल्ने काम फलामको चिउरा चपाउनुजस्तै थियो।
शिवले धारण गर्ने विविध आभूषणमध्ये रुद्राक्ष प्रमुख हो। शिव र शिवभक्त दुवैले रुद्राक्ष शरीरको विभिन्न भागमा लगाउँछन्। पौराणिक ग्रन्थअनुसार वैदिक देवता रुद्रको आँसुबाट उम्रिएको रूखको फलदाना हो रुद्राक्षको धारण विधि शिवपुराणमा छ। दिङ्लामा रुद्राक्षको महत्व बुझाउन षडानन्दले सामुदयिक वनको अवधारणा ल्याए। रुद्राक्ष र विभिन्न जातका रूखका बिरुवा लगाएर वातावरण, पर्यावरण स्वच्छ र सुन्दर राख्न उनले अभियानै चलाएका थिए। दिङ्लाको रुद्राक्षको आज बजारमा ठूलो माग छ।
संस्कृतिको संरक्षण गर्दै विकृति हटाएर विभिन्न संस्कार समय र ठाउँअनुसार गर्नुपर्छ भन्नेमा षडानन्दले जोड दिएका थिए। आर्थिक अभावसँगै पर्याप्त समय दिन नसक्दा धेरै गृहस्थहरू परम्परादेखि गर्दै आएका संस्कार झारा टार्ने ढंगले गर्न बाध्य थिए। मितव्ययी ढंगले संस्कार सम्पन्न गर्न दिङ्लामा सामूहिक व्रतबन्ध आयोजना गरेर षडानन्दले सामाजिक सुधारको उद्घोष गरेका थिए। उनको यस्तो सुधारवादी कदमपश्चात् ऋण लिएर संस्कार सम्पन्न गर्ने र अनावश्यक रूपमा भोज खुवाउने चलनमा कमी आएको स्थानीयहरू सुनाउँछन्। हामी सबैले आफ्नो संस्कृति र संस्कारको सम्मान र जगेर्ना गर्नुपर्दछ। अरूले के भन्लान् भनेर संस्कार सम्पन्न गर्दा अनावश्यक रूपमा भोजभतेर खुवाउन र रवाफ प्रदर्शन गर्नु हुँदैन भन्ने सन्देशलाई षडानन्दले व्यावहारिक रूपमै देखाएका थिए।
समाजसेवी षडानन्दको सम्मान गर्न उनका बारेमा अध्ययन–अनुसन्धान गरेर पुस्तक, लेख, हस्तचित्र प्रकाशनसँगै फिचर र डकुमेन्ट्री फिल्म पनि बनाउनुपर्छ। दिङ्लामा उनको योगदान झल्काउने आधुनिक ढंगको संग्रहालय बनाउन आवश्यक छ। औपचारिक शिक्षालय हो संग्रहालय। मनोरञ्जनसँगै ज्ञान लिन संग्रहालय उचित थलो हो। मूर्त (भौतिक) र अमूर्त (अभौतिक) सम्पदाहरूको संरक्षण गर्न संग्रहालयको ठूलो भूमिका हुन्छ। हाम्रो संस्कृति संरक्षण, प्रदर्शन र अवलोकन गर्दै नवपुस्तालाई हस्तान्तरण गर्नु संग्रहालयको विशेष भूमिका हुन्छ। त्यसैले शैक्षिक नक्षत्रका रूपमा प्रसिद्धि पाएका षडानन्दको जीवनी र योगदान दर्शाउने संग्रहालय आवश्यक छ।
संग्रहालयमा चिठीपत्र, ऐतिहासिक दस्ताबेज, षडानन्द जन्मेको घर र विद्यालयको मोडेल, उहाँका पुस्तक, प्रयोग गरेका सामग्री, उहाँले २४ पटक पुरश्चरण गर्नुभएको गायत्री मन्त्रको ध्वनि, उहाँको नाममा छापिएका टिकट, निर्माण भएका डकुमेन्ट्री सबैलाई व्यवस्थित ढंगले प्रदर्शन गर्न सकिन्छ। संग्रहालयमा उहाँबारे शोधखोज गरेर प्रामाणिक रूपमा लेखिएको शोधग्रन्थ र सम्भावित अनुसन्धानका विषय पनि प्रदर्शन गर्न सकिन्छ। षडानन्दले दिङ्लामा बालाचतुर्दशी (शतवीज) भेला–पर्व सुरु गठराएका थिए। मंसिरको कृष्ण पक्षको चतुर्दशीमा पर्ने शतवीज छर्ने दिनको महिमा शास्त्रहरूमा पाइन्छ। पशुपतिको मृगस्थलीमा शिवपार्वती मृग–मृगिनीका रूपमा विचरण गर्नुभएको पौराणिक कथासँग जोडिएर शतवीज (धान, गहुँ, मकै, जौ, मास, तिल, फलफूलका टुक्रा र फूलहरू) छरिन्छ। त्यस बीउबाट उम्रेको मुना शिव–पार्वतीरूपी भाले–पोथी मृगले चर्ने विश्वासमा यो पर्वले निरन्तरता पाइरहेको छ।
शतवीज छर्ने दिनको महत्वलाई षडानन्दले दिङ्लामा पनि व्यापक बनाउन प्रचारप्रसार गरे। पाशुपत क्षेत्रको कैलाश र शिवलिंगमा छरिएका शतवीजको जस्तो महत्व छ, त्यस्तै दिङ्लाका शिवमन्दिरवरपर छरिएका फलफूल र अनाजका बीउको पनि महत्व छ। यस्तो तथ्य उजागर गरेपछि स्थानीयले आफ्नै ग्राम देवताका देवल र शिवालयका चौरहरूमा बालाचतुर्दशीको दिन शतवीज छर्न थालेका हुन्। बहुप्रतिभाका धनी, शैक्षिक नक्षत्र षडानन्दको नियत सफा र प्रस्ट भएकाले उनको योगदानलाई नेपाली समाजले कदर गरेको छ।