राप्रपाको दुरवस्थामा नेतृत्व नै जिम्मेवार
परिस्थितिजन्य बाध्यताको उपज थियो राष्ट्रिय प्रजातन्त्र पार्टी। तसर्थ जन्मिँदै जम्लाहा भएर जन्मियो। न कुनै पार्टी संस्कार, संस्कृति, संगठन विस्तारको रणनीति न त कुनै त्याग र बलिदानको इतिहास। मरुभूमिको मध्य भागमा चुम्बकीय कम्पास हराएजस्तो। गन्तव्यविनाका झुन्डहरूद्वारा गठन गरिएको राप्रपामा हिजोको निर्दलीय पञ्चायती व्यवस्थाले लगाइदिएको पगरीकै निरन्तरता दिँदै पार्टीको नेतृत्व एवं मुख्य पदहरू हत्याउन सफल भए नेताहरू।
जम्लाहा जन्मियो वा जन्माइयो जे भने पनि पञ्चायतकालको उदारवादी र अनुदारवादी दुई खेमामा रहेका दुई पूर्वप्रधानमन्त्रीहरूले एउटा न एउटा पार्टीको नेतृत्व गरे। जसरी जम्ल्याहा जन्माइयो त्यसैगरी मूल्याह (मूल) पनि भएछ। त्यसैले त आम पार्टीका कार्यकर्ताले कहिल्यै पार्टी संस्कार, पद्धति, विधिविधान, संस्कृति आदिको अनुभूति गर्न पाएनन्। उनीहरूले कहिल्यै आत्मसम्मानसहित उच्च शिर हुने गरी राजनीतिक सम्मान पाएनन्, पाएका छैनन्।
०४६ को परिवर्तनअगाडि निर्दलीय पञ्चायती व्यवस्थामा पञ्चहरूलाई वर्गीकरण गर्ने आधार मेरो र तेरो थियो। निर्दलीय व्यवस्थाका साथसाथै एकतन्त्रीय शासन व्यवस्था स्विकारेका पञ्चहरूलाई पनि कर्णप्रिय वाक्य बोल्ने व्यक्ति सधैं आफ्नो बनाउने र सत्य बोल्ने व्यक्ति सधैं टाढा राख्ने काम हुन्थ्यो।
निर्दलीय व्यवस्थाको भावनाप्रतिकूल बालिग मताधिकारद्वारा निर्वाचन, राष्ट्रिय पञ्चायतका सदस्यहरू पूर्ण राष्ट्रिय पञ्चायतप्रति प्रतिबद्ध हुनुपर्ने र विश्वासको मत राष्ट्रिय पञ्चायतमा लिनुपर्ने माग पञ्चायतभित्रबाट र पाकिस्तानमा जुल्फिकर अली भुट्टोलाई मृत्युदण्डपश्चात् विद्यार्थीले सुरु गरेको आन्दोलनले सुधारिएको पञ्चायती व्यवस्था कि बहुदलीय व्यवस्था भनेर बाध्यताबस जनमत संग्रहको घोषणा गरी आन्दोलनकारी शक्तिसँग सम्झौता गरिएको थियो। पञ्चायतभित्रै पञ्चायतको विरोध ०३६ सालको जनमत संग्रहपश्चात् अत्यधिक बढ्दै गएर मुलुकमा सिंहदरबार र राजदबारको द्वैध शासनको सुरुवात भयो।
नयाँ अदृश्य शक्ति भूमिगत गिरोहको समेत जन्म भयो। उक्त गिरोहले निर्वाचनको बेलामा त्यतिबेला प्रतिबन्धित कांग्रेस र कम्युनिस्टका अघोषित उम्मेदवारलाई निर्वाचनमा सघाएर आफूले भनेको नमान्ने स्वाभिमानी पञ्चलाई हराउने काम गथ्र्यो। यसरी जिताइए मानिसहरू भने अदृश्य रूपमा पञ्चायती व्यवस्था नै सिध्याउन लागे। यसका उदाहरण प्रशस्त छन्। तीमध्ये एक हुनुहुन्छ– गणेशबहादुर खत्री। विश्वेश्वरप्रसाद कोइरालाले जेल जर्नलमा विभिन्न राजनीतिक व्यक्तित्वका बारेमा चर्चा गर्दा काठमाडौं उपत्यकाका काँठ क्षेत्रमा एक सशक्त एवं प्रभावशाली राजनीतिक व्यक्तित्व युवा नेता खत्री छन् भनेर धेरै ठाउँमा लेख्नुभएको छ।
गन्तव्यविनाका झुन्डहरूद्वारा गठन गरिएको राप्रपाका आम कार्यकर्ताले कहिल्यै पार्टी संस्कार, पद्धति, विधिविधान, संस्कृति आदिको अनुभूति गर्न सकेका छैनन्।
यसबाट खत्रीको प्रजातन्त्रप्रति आस्था राख्ने गरेको कुरा छर्लंग हुन्छ। खत्री पञ्चायतमा भए पनि खत्रीलाई गिरोहले कहिल्यै पचाउन सकेन। कारण एउटै थियो भक्तपुरमा जर्मन विकास परियोजनाले गरेका विकासको स्वागत गर्दै भक्तपुरबाट विकासका नाममा बहुमूल्य पुरातात्विक मूर्तिहरू विदेशी संग्रहालयमा बेचियो भनेर उहाँले आवाज उठाउनु हो। त्यसपछि उहाँलाई शत्रुवत् व्यवहार हुन थाल्यो। सजायस्वरूप तत्कालीन २०३८ साल र २०४२ सालको निर्वाचनमा खत्रीजीको पकड भएका काँठ क्षेत्रमा हरेक गाविसमा एकएकजना उम्मेदवार खडा गरी तत्कालीन २१ वटा गाविसमा ती सबै उम्मेदवारहरूलाई अञ्चलाधीशमार्फत राज्यको ढुकुटीबाट लाखौं रुपैयाँ वितरण गरियो, जसमा वामपन्थी उम्मेदवारलाई सघाउँदै दुवै निर्वाचनमा झीनो मत करिब बाह्र सय र चौध सय मतद्वारा नारायणमान बिजुक्छे रोहितका उम्मेदवारबाट पराजित हुनुपर्यो। पञ्च बिरालो थिए, हिन्दु धर्मअनुसार बिरालोले भान्छा छुँदा भान्छा छोड्नु पर्दैनथ्यो भने पञ्चायतका लागि कांग्रेस कम्युनिस्ट अछुतो थिएँ, जसले भान्छा छुँदा भान्छा नै छोड्नुपथ्र्यो। त्यही वर्गलाई पालित पोसित गर्दा राजसंस्थाले भान्छा नै छोड्नुपरेको जगजाहेर छ। यो एउटा उदाहरण मात्र हो– खत्रीजस्ता जनाधार भएका अनेकन पञ्चलाई पाखा लगाइयो र हुक्के बैठकहरूलाई शासन सत्तामा पुर्याइयो।
यो रोगले कुनै वाद वा कुनै एजेन्डा वा कुनै दर्शनविना गठन भएको राप्रपालाई कहिल्यै छाडेन। ०४६ का परिवर्तनकारी शक्तिको राजनीतिक भौतिक आक्रमण र आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न मात्र गठन भएको यस पार्टीमा बहुदलीय संस्कार सधैं शून्य रहयो। पञ्चायतमा काम गरेका तल्लो तहका पञ्चहरू राप्रपाबाट संरक्षणको आशा बोकेर पछि लागेका थिए। अन्ततोगत्वा पञ्चायतको जस्तो गुटउपगुट भएका कारण निराश भई बाध्य भएर अन्य पार्टीमा पलायन हुन पुगे। पहिलो बहुदलीय निर्वाचनमा नराम्रोसँग हार व्यहोरेपछि राप्रपामा केही बुद्धि पलायो, फुटेर होइन जुटेर मात्र हुँदो रहेछ भन्ने अनुभूति भयो। त्यसपछि जुटेर २०५१ सालको मध्यावधि निर्वाचनमा लड्दा २० सिट जित्नुका साथै दुईजना प्रधानमन्त्री १८ जना मन्त्री भए। तर त्यसपछि संगठन निर्माण र कार्यकर्ताको उचित सम्मान गर्नतिर नलागेर करोडौं कमाउने र नातागोता मात्र पोस्ने काम मात्र भयो। अहिले पनि त्यो प्रवृत्ति फेरिएको छैन। त्यसैले त विभिन्न उपनाम थपिएका राप्रपा अस्तित्वको लडाइँमा छ।
यो पार्टीको दूरवस्थामा कसले पुर्यायो भनेर यहाँ व्यक्तिगत रूपमा कसैलाई दोष लगाउन खोजिएको होइन। यो अवस्थाबाट पार्टीलाई उकास्न विगतलाई पाठको रूपमा लिई राष्ट्रवादी पार्टीको अवधारणा बोकी मातृभूमिको सिन्दूर लगाई विनास्वार्थ बचेका कार्यकर्ताको स्वाभिमान उँचो राख्ने कसम खाई सत्ता र शक्तिको नेतृत्व होइन, कार्यकर्तालाई अवसर दिने प्रण गरी पार्टीमा समेत नेतृत्व दिने गरी नेतृत्व अगाडि बढोस् भन्न खोजिएको हो। जनमत स्थायी हुँदैन। २०१६ सालमा ४ सिट प्राप्त गरेको कम्युनिस्ट पार्टी हाल दुईतिहाइमा पुगेको कुरालाई आत्मसात गर्दै कार्यक्रम लिएर जाऔं दुई निर्वाचनपश्चात् जनताले राष्ट्रवादी पार्टी एवं वैकल्पिक प्रजातान्त्रिक पार्टीको रूपमा स्विकार्छन् भन्न खोजिएको हो। कांग्रेस र कम्युनिस्टहरूको दुई पुुस्ताले नेतृत्व त्याग र बलिदानको भावनालाई पनि कदर गरांै र आफू पनि त्याग र बलिदान गर्न तयार रहौं भन्न खोजिएको हो।
छोटै भए पनि पार्टीको इतिहासबाट मनन गर्नुपर्ने कुरा धेरै छन्। करिब १९ प्रतिशत मत आएको पार्टी किन तीन प्रतिशत पुर्याउन सकेन। एकचोटि प्रत्यक्षमा २० सिट र संविधानसभामा ३५ सिटसम्म पुगेको पार्टी अहिले आफ्नो बलमा किन चुनाव लड्न सकेन ? पार्टीलाई यो अवस्थामा पुर्याउने को हुन्, पात्र प्रवृत्ति मात्र हो कि कुनै अरू तत्व छन् वा जनताभन्दा अरूलाई नै सर्वेसर्वा ठान्ने प्रवृत्ति हावी भएको छ भनेर राप्रपाले विवेचना गर्न आवश्यक छ।
यो पार्टीलाई जनसमक्ष पुर्याउन कुनै प्रकारका कठिनाइ छैन। अझ भन्ने हो भने वैकल्पिक प्रजातान्त्रिक शक्तिका रूपमा राप्रपालाई दस वर्षभित्रमा स्थापित गराउन सकिन्छ। तर त्यसका लागि विगतका गल्तीबाट पाठ सिक्नुपर्छ। विगतमा जनाधार भएका नेताहरू पार्टी छोडेर किन गए, अझ छोड्ने तरखरमा किन छन् ? सिद्धान्त चित्त नबुझेर वा नेतृत्व यो गम्भीर चर्चाको विषय हो। पार्टी छोडेर जाने नेताहरूमा गणेशबहादुर खत्री, रामेश्वर ढुंगेल भक्तपुर, नेत्रविक्रम थापा सिन्धुपाल्चोक, शरदसिंह भण्डारी महोत्तरी, बृजेशकुमार गुप्ता, अभिषेक प्रताप शाह, अकवाल अहमद साह र सलाहुद्दीन मुसलमान कपिलवस्तु सर्वेन्द्रनाथ शुक्ला, फकुर दिन मुसलमान रूपन्देही केशवकुमार बुढाथोकी झापा, नैनबहादुर स्वार र मोहनराज मल्ल कन्चनपुर, रामनारायण सिंह र खोभारी राय, सर्लाही रेणु यादव र गोविन्द न्यौपाने सप्तरी लगनलाल चौधरी, सिराह सूर्यबहादुर केसी कास्की, गोविन्दविक्रम शाह जाजरकोट कृष्णकुमार राई, रमेश श्रेष्ठलगायत हजारौं कार्यकर्ता तथा नेता भिन्न पृष्ठभूमि र भिन्न सैद्धान्तिक पृष्ठभूमि भएका पार्टीबाट हाल पनि करिब ९० प्रतिशत यस पार्टीका पूर्वनेता, सांसद वा मन्त्री छन् अन्य पार्टीबाट। यी सबै नेता तथा कार्यकर्ता हाम्रै पार्टीमा भएको भए यो पार्टी ते स्रो राजनीतिक शक्तिका रूपमा हुन्थ्यो। अहिले राष्ट्रिय पार्टी हुनबाट वञ्चित हुनु पर्दैनथ्यो। तसर्थ यी विषयलाई मनन गर्दै आगामी दिनमा सनातन हिन्दु अधिराज्य र लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात गरी अघि बढौं। तीनैवटा पार्टी एकीकरण गरौं भविष्य उज्ज्वल छ।
-केसी राप्रपा प्रजातान्त्रिकको प्रशिक्षण विभाग प्रमुख हुन्।