आदित्यनाथको जनकपुर भ्रमण : सांस्कृतिक कि राजनीतिक ?
जनकपुर : भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बुधबार जनकपुर आएर फर्कीएका छन्। विवाह पञ्चमीको अवसरमा जन्ती लिएर नेपाल आएका उनी छ घन्टा जनकपुरमा रहे । जनकपुरमा उनले राजनीतिक भेटघाटमै समय बिताए। केही समय पुजाआजा गरे ।
मुख्यमन्त्री आदित्यनाथको यो दौडाह पूर्णरुपमा संस्कृतिक तथा धार्मिक भएपनि उनले केपी शर्मा ओली नेतृत्वको सरकारसँग असन्तुष्ट राजनीतिक दलका नेतासँग भेटवार्ता गरे। राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम नेपालका नेतासँग उनले भेटवार्ता गरेका हुन्।
जानकी मन्दिरमा पूजा गरेर प्रदेश २ का समकक्षी लालबाबु राउतको सरकारी निवास मधेश भवन पुगेका आदित्यनाथले मुख्यमन्त्रीसँगै फोरम महासचिव रामसहाय प्रसाद यादव र राजपाका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, अध्यक्ष मण्डलका अन्य सदस्य महन्थ ठाकुर, अनिलकुमार झालगायतले भेटेका हुन्। आदित्यनाथको प्रत्येक भेटमा नेपालस्थित भारतीय राजदूत मन्जीव पुरी छुटेनन्। यो भेटलार्इ नेपालस्थित भारतीय दूतावासले नै औपचारिकता दिएर प्रचार प्रसार-समेत गरेको छ।
राजपा र फोरम नेताहरूसँग भेटवार्ता गर्दै आदित्यनाथ
विशेष विमानबाट बुधबार विहान साढे दश बजे जनकपुर विमानस्थलमा ओर्लिएका मुख्यमन्त्री आदित्यनाथले प्रदेश-२ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थसँग पनि भेट गरे। यो भेटमा पनि राजदूत पुरीसँगै थिए।
परराष्ट्र मामिलाका जानकार हिरण्यलाल श्रेष्ठ आदित्यनाथको जनकपुर दौडाहालार्इ धार्मिक र राजनीतिक दुबै मान्छन्। 'मुख्यमन्त्री आदित्यनाथ धार्मिक व्यक्तित्व र राजनीतिक व्यक्तित्व दुवै हुन्। त्यसैले उहाँ जनकपुर आउनु र राजनीतिक भेटघाट गर्नुलार्इ ठूको कुरा मान्नु हुँदैन', उनी भन्छन्, 'उहाँको स्वागत र सुरक्षा राजनीतिक व्यक्तित्व रुपमा गरिएको छ। यो स्वभाविक पनि हो। अर्कोतर्फ धार्मिक भ्रमण गरेर आफ्ना जनतालार्इ फकाउने कुरा छ। सबै भारतीय नेताले गर्ने यही हो।'
प्रदेश-२ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थसँग भेटवार्ता गर्दै आदित्यनाथ
चनाखो हुनुपर्छ नेपाल
मुख्यमन्त्री आदित्यनाथको जनकपुर भ्रमणबाट चनाखो हुनुपर्ने परराष्ट्र मामिलाका जानकारहरुको भनाइ छ। धार्मिक रूपमा आदित्यनाथ आफैमा विवादित व्यक्ति भएको र नेपालमा पछिल्लो समय कूटनीतिमा धर्म मिसाउने काम भएकाले नेपाल चनाखो हुनुपर्ने परराष्ट्र मामिलाका जानकार एवं पूर्वराजदुत दिनेश भट्टरार्इको धारणा छ।
'पछिल्ला गतिविधिले कुटनीतिमा धर्म मिसिइरहेको देखिन्छ। उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको यो भ्रमणको आशय यस्तो नहोस्' पूर्वराजदुत भट्टरार्इ भन्छन्,'कुटनीतिमा धर्म जोडिने जोड्ने कुरामा हामी चनाखो हुनुपर्छ। आदित्यनाथजी हिन्दु धर्मलार्इ नै प्रोत्साहन गर्ने राजनीतिज्ञ भएकाले यसबाट हामी बच्नुपर्छ।'
नेपालका विषयमा विवादित अभिव्यक्ति दिने आदित्यनाथ भारतमा पनि पटकपटक विवादित बयानकै कारण चर्चामा आइरहन्छन्। २००८ मा गोरखपुरमा भएको हिन्दु मुस्लिम दङ्गामा यिनको नाम मुछिएको थियो। त्यही दंगाका क्रममा उनले घोषणा गरे-'अवसर पाएँ भने म सबै मस्जिदमा गौरी-गणेशको मूर्ति स्थापना गर्नेछु।' उनी धर्मनिरपेक्ष भारतमा धर्मपरिवर्तन र गो हत्याविरुद्ध आन्दोलन गर्दै आएका छन्। नेपालमा भने राजतन्त्रसँग गहिरो नाता जोड्दै हिन्दु राज्य र राजतन्त्र पुनर्स्थापना पक्षधरका रुपमा उनको परिचय बनेको छ।
अर्कोतर्फ आदित्यनाथको यो भ्रमणबाट नेपाललार्इ नयाँ दिल्लीसँग सिधा डिल गर्न थप ऊर्जा मिलेको दक्षिण एसियाली अध्ययन केन्द्रका प्रमुख डा.निश्चलनाथ पाण्डे बताउँछन्। 'हाम्रो छिमेकी राज्यका शक्तिशाली मुख्यमन्त्री आदित्यनाथको जनकपुर भ्रमण सधैंहुने भ्रमण होइन। सीमा जोडिएको उत्तर प्रदेशसँग असल सम्बन्ध राख्नु हाम्रो हितमा छ' उनी भन्छन्,'त्यसले नयाँ दिल्लीसँग सिधा डिल गर्न थप उर्जा मिल्नेछ। सहज हुनेछ।'
नेपालमा पनि विवादित
नेपाल मामिलाबारे जानकार भारतीय नेता मध्ये एक हुन् स्वामी आदित्यनाथ। आदित्यनाथ महन्त रहेको गोरखपुरको गोरखनाथ मन्दिरसँग नेपालका विभिन्न मठ मन्दिरहरू जस्तै- मृगस्थलीको नाथ अखाडा, थापाथली मन्दिर, दाङको सिद्ध रत्ननाथ, जुम्लाको चन्दननाथ आदि मठ मन्दिरको पुरानो सांस्कृतिक सम्बन्ध छ।
त्यसैले आदित्यनाथ नेपालका हिन्दू धार्मिक नेतासँग निकै निकट छन्। उनी नेपालको तत्कालीन दरबारसँग निकै नजिक थिए। उनी मुख्यमन्त्री भएपछि २०७४ पुस १४ गते नेपालगंञ्ज पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले लखनउ पुगेर उनलार्इ सुटुक्क भेटेका थिए।
नेपालमा राजतन्त्रको इतिहास बोकेको शाह वंशले पूजा गर्ने गुरु हुन् गोरखनाथ। उनै गोरखनाथको उत्तराधिकारी आदित्यनाथ राजनीतिक रुपमा क्रियाशील हुँदै भारतको सबैभन्दा ठूलो प्रान्त उत्तर प्रदेशका मुख्यमन्त्री भएका हुन्।
संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषित गरेर गणतन्त्रमा गइसकेपछि आदित्यनाथ नेपालमै आएर हिन्दु राज्य स्थापना र राजतन्त्र पुनर्स्थापनाका विषयमा भाषण दिएर विवादमा तानिएका थिए।
भारतका हिन्दू सङ्गठनले उठाउने गरेका सवाल ‘लभ’, ‘जेहाद’, ‘घर वापसी’, ‘इस्लामिक आतङ्कवाद’ र ‘माओवाद’आदि विषय योगी आदित्यनाथकै देन मानिन्छन्। आदित्यनाथले यस्ता विषयमा सभा सम्मेलन गर्दा नेपालबाटसमेत धार्मिक नेतालाई बोलाउने गर्छन्।