नेपाल र अमेरिकाबीच १७ वर्षपछि सम्बन्ध–समीक्षा
काठमाडौं : कूटनीतिक वृत्तमा चर्चा चलिरहन्छ, अमेरिकाले नेपाललाई सधैं ‘दिल्लीको आँखा’ले हेर्छ । हुन पनि १७ वर्ष भयो, परराष्ट्र मन्त्रीस्तरमा दुई देशबीच औपचारिक छलफल भएको छैन । आगामी साता भने परराष्ट्र मन्त्रीस्तरमै दुई पक्षीय सम्बन्धको समीक्षा हुने भएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओबीच पुस ३ र ४ मा वार्ता तय भएको परराष्ट्र स्रोतले बतायो । परराष्ट्र मन्त्रालयले यो भ्रमणलाई अमेरिकाले नेपाललाई दिएको उच्च महत्वको रूपमा अथ्र्याएको छ । राष्ट्रपतिपछि शक्तिशाली मानिने अमेरिकी विदेशमन्त्रीको निम्तामा औपचारिक भ्रमण हुनुले नेपाल र अमेरिकाबीचको सम्बन्ध अर्को चरणमा पुग्न लागेको परराष्ट्र स्रोतले बतायो ।
‘१७ वर्षपछि पहिलो पटक नेपाल र अमेरिकाबीच स्टेट डिपार्टमेन्टमा औपचारिक विदेशमन्त्रीस्तरीय वार्ता हुँदैछ,’ परराष्ट्र अधिकारीले सुनाए, ‘यो वार्तालाई अमेरिकाले निकै महत्व दिएको छ ।’ उनले परराष्ट्रमन्त्रीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा गृह र अर्थका अधिकारी पनि सहभागी हुने जानकारी दिए ।
‘नेपाल र अमेरिकाबीच द्विपक्षीय औपचारिक छलफल आवश्यक थियो । त्यसको पहल भइरहेको छ,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अन्नपूर्णसँग भने, ‘समय आएपछि यसबारे भन्नेछु, कुराकानी भइरहेको छ ।’ अमेरिकासँगको सम्बन्धलाई प्राथमिकतामा राखिएको र त्यसैअनुरूप भ्रमण भइरहेको पनि उनले बताए ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ
स्रोतका अनुसार गत सोमबार नै भ्रमणको कार्यतालिका पारित भइसकेको छ । चीनमा रहेका परराष्ट्र सचिव शंकारदास बैरागी काठमाडौं ओर्लेलगत्तै मन्त्रीसँगै अमेरिका जानेछन् । अमेरिकामा नेपाली समुदायको संख्या बढिरहेको छ । उसैगरी दक्षिण एसियामा अमेरिकी स्वार्थ समेत बढिरहेको छ । यस्तो अवस्थामा नेपाल र अमेरिका सम्बन्धलाई नयाँ तवरमा अघि बढाउने तयारी रहेको ती अधिकारीले बताए ।
अघिल्लोपटक केपी ओली प्रधानमन्त्री रहँदा उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले तत्कालीन अमेरिकी विदेशमन्त्री जोन केरीसँग वार्ता गरेका थिए । तर त्यो अनौपचारिक भेट थियो । वास्तवमा नेपाल र अमेरिकाबीच लामो समयदेखि राजनीतिक स्तरमा औपचारिक छलफल हुन सकेको छैन । राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क पुग्दा अमेरिकी राष्ट्रपतिसँग फोटो खिचाउने र एक मिनेट सञ्चो–बिसञ्चो सोध्नेभन्दा अरु कुराकानी हुन पाउँदैनथ्यो ।
गत वर्ष मात्रै अमेरिकाले नेपाललाई ‘ब्रोड स्ट्राटेजिक पार्टनर’ घोषित गरेको थियो । यसले द्विपक्षीय सम्बन्धलाई निकट ल्याएको र यही बेला यो स्तरको भ्रमण हुनु सुखद् रहेको परराष्ट्र अधिकारीले बताए ।
भएन उच्चस्तरीय भ्रमण
अमेरिकाबाट उच्चस्तरको नेपाल भ्रमण हुन सकेको छैन । उपमन्त्रीस्तरका भ्रमण धेरै हुन्छन् । फस्ट लेडी हिलारी क्लिन्टन (१९९५), पूर्वराष्ट्रपति जिमी कार्टर (संविधान सभा निर्वाचन पर्यवेक्षक) र विदेशमन्त्री कोलिन पावेल (२००२ जनवरी) नेपाल आएका छन् । भारत आइरहने अमेरिकी राष्ट्रपति, विदेशमन्त्रीको प्राथमिकता नेपाल परेको छैन । पञ्चायतकालमा अमेरिकी उपराष्ट्रपतिले नेपाल भ्रमण गरेको भनिए पनि परराष्ट्रको सूचीमा त्यो उल्लेख छैन ।
लामो समयदेखि नेपालका तर्फबाट पनि औपचारिक भ्रमण भएको छैन । पावेल नेपाल आएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमण गरेका थिए । त्यो नै नेपालको पछिल्लो उच्चस्तरीय भ्रमण हो । दुईपक्षीय सम्बन्धमा समीक्षा हुन आवश्यक भनिएपनि त्यसयता त्यो तहको प्राथमिकता नेपालले पाएको थिएन ।
परराष्ट्रमन्त्रीको भ्रमणले थप उच्चस्तरीय भ्रमणको बाटो खोल्ने अपेक्षा पनि सरकारले राखेको छ ।
बहुआयामिक सम्बन्ध
अमेरिका र नेपालबीच निरन्तर सहयोग आदानप्रदानको सम्बन्ध छ । गत वर्ष पनि अमेरिकाले नेपाललाई ५० अर्ब रूपैयाँभन्दा बढी अनुदान सहयोग गरेको थियो । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत आएको अनुदान ट्रान्समिसन लाइन र सडकको स्तरोन्नतिमा खर्च हुँदैछ । नेपाललाई गरिएका द्विपक्षीय सहयोगको सूचीमा यो अहिलेसम्मकै ठूलो अनुदान हो । २०७४ असोजमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डीसी पुगेरै सम्झौतामा हस्ताक्षर गरेका थिए ।
नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्ष पुगिसकेको छ । नेपालको दौत्य सम्बन्ध स्थापना भएको बेलायतपछिको दोस्रो देश हो अमेरिका । राजा त्रिभुवनलाई अमेरिकी राष्ट्रपति ह्यारी एस ट्रुम्यानले पत्र पठाएपछि दुई देशबीच सम्बन्ध शिलान्यास भएको थियो । राजा महेन्द्र र वीरेन्द्रले राष्ट्रप्रमुखको हैसियतमा तथा देउवाले प्रधानमन्त्रीको हैसियतमा द्विपक्षीय भ्रमण गरेका थिए ।
आवश्यकताको सिद्धान्तले नेपाल र अमेरिका सम्बन्ध बनेको विज्ञहरूले बताउँदै आएका छन् । प्रजातन्त्रको विश्वव्यापी प्रसार गर्न भन्दै अमेरिका लागिपरेको थियो । नेपालमा साम्यवादको प्रभाव पर्ला भन्ने डर रहेकाले नै शिक्षा, स्वास्थ र कृषिको निरन्तर विकासमा अमेरिकी सहयोग केन्द्रित रहँदै आएको छ । भारतबाट अंग्रेज लखेटिने निश्चित भएपछि राणा शासकहरू अमेरिकातर्फ ढल्किए ।
दक्षिण एसियाको शान्ति र सुरक्षामा नेपालको भूमिकालाई अमेरिकाले प्रशंसा गर्दै आएको छ । संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा त नेपालको ब्रान्ड नै बनेको छ । भूकम्पमा पनि अमेरिकाले नेपाललाई सहयोग गरेको थियो । नेपाली सेना र अमेरिकी सेनाले पनि संयुक्त सैन्य अभ्यास निरन्तर भइरहेको छ । अमेरिकाले पिसकोरलगायत संस्थामार्फत जनस्तरमा पनि सम्बन्ध बढाइरहेको छ । सशस्त्र द्वन्द्वको समयमा बन्द भएको पिसकोर पुनः आरम्भ भएको छ ।