मासिक एक प्रतिशत बढ्दै इन्टरनेट पहुँच
काठमाडौं : नेपालमा इन्टरनेटको पहुँच मासिक एक प्रतिशतका दरले बढ्दै गएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनअनुसार पछिल्ला केही महिना इन्टरनेटको पहुँच मासिक एक प्रतिशतले बढिरहेको छ। प्राधिकरणले भर्खरैमात्र असोज महिनाको तथ्यांक सार्वजनिक गरेको छ। तथ्यांकले नेपालमा हाल इन्टरनेटको पहुँच ५४.५० प्रतिशत जनसंख्यामा पुगेको देखाएको छ। यसअनुसार एक करोड ५९ लाख ६३ हजारभन्दा बढी मानिसमा इन्टरनेटको पहुँच पुगेको छ।
नौ वर्ष अघिसम्म पनि नेपालमा इन्टरनेटको पहुँच एक प्रतिशत जनसंख्यामा सीमित थियो। दूरसञ्चार प्राधिकरणले २०६६ साल साउनमा तयार पारेको प्रतिवेदनअनुसार त्यस समयमा नेपालको कुल जनसंख्याको १.९ प्रतिशत मानिस इन्टरनेटको पहुँचमा थिए। तर, अहिले हरेक महिना एक प्रतिशत हाराहारीले मानिस इन्टरनेटमा जोडिँदै गएको तथ्यांकले देखाएको छ। अर्कोतर्फ विश्व पनि इन्टरनेट पहुँचका आधारमा तीव्ररूपमा अघि बढिरहेको तथ्यांकले देखाउँछ। इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार हाल विश्वको कुल जनसंख्या मध्य ५१.२ प्रतिशतमा इन्टरनेट पहुँच पुगेको छ।
नयाँ तथ्यांकअनुसार हाल विश्वका तीन अर्ब ९० करोड मानिस इन्टरनेटमा जोडिएका छन्। विश्वको जनसंख्या सात अर्ब ५३ करोड छ।
यो रफ्तारमा इन्टरनेटको पहुँचमा वृद्धि हुनुको कारण नेपाल जस्ता विकसित राष्ट्रलाई लिइएको छ। विकसित देशमा सन् २००५ मा इन्टरनेटको पहुँच ७.७ प्रतिशतमा थियो। यो प्रतिशत बढेर सन् २०१८ को अन्त्यसम्म ४५.३ प्रतिशत पुगेको छ। आईटीयूको तथ्यांकअनुसार अफ्रिका महादेशमा सबैभन्दा दु्रत गतिमा इन्टरनेट विस्तार भएको छ। एसिया तथा प्रशान्त क्षेत्रमा ४७ प्रतिशत इन्टरनेटको पहुँच वृद्धि भएको छ।
यो तथ्यांकले पनि नेपालको इन्टरनेट पहुँचमा भइरहेको विकासलाई देखाउन मद्दत गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताउँछन्। ‘एसिया तथा प्रशान्तमा ठूला जनसंख्या भएका देश छन्। त्यो हिसाबले नेपालको जनसंख्याले त्यो तथ्यांक ठूलो भाग ओगट्दैन’, अर्याल भन्छन, ‘तर पक्कैपनि हाम्रो देशमा भइरहेको इन्टरनेटको विस्तारले यसलाई प्रभाव भने पार्छ।’
प्राधिकरणले गत साउनमा जारी गरेको प्रतिवेदनअनुसार एक महिनाकै अवधिमा कुल जनसंख्याको एक प्रतिशतभन्दा बढी मानिस थप इन्टरनेटको पहुँचमा आएका छन्। भदौमा १.३८ प्रतिशतले इन्टरनेट पहँचमा वृद्धि भएको छ। भदौमा कुल जनसंख्याको ५३.१२ प्रतिशत मानिस इन्टरनेट पहुँचमा रहेकामा असोजमामा ५४.५० प्रतिशत पुगेको छ। यो क्रम पछिल्लो सात महिनायता निरन्तर छ। यसले नेपालमा पछिल्लो समय इन्टरनेटको बढ्दो प्रयोगलाई दर्शाएको प्रवक्ता अर्याल बताउँछ।
‘पछिल्लो सयम इन्टरनेटको उपयोगिता बढ्दै गएको छ्’, अर्याल भन्छन्, ‘शिक्षा, स्वास्थ्य, सरकारी कार्यालयका साथै निजी क्षेत्रमा पनि इन्टरनेटको प्रयोग बढेको छ।’ अर्कोतर्फ मोबाइल ब्रोडब्यान्ड पनि विकास भइरहेको छ। द्रुतगतिको फोरजी सेवाको पहुँच बढेको छ।
अझ टेलिकमले पनि फोरजीको विस्तार गर्न सक्ने हो भने इन्टरनेटको पहुँच र प्रयोगमा ठूलो परिवर्तन आउने उनको भनाइ छ। यो रुपमा इन्टरनेटको पहुँचमा भइरहेको वृद्धिले सरकारको ब्रोडब्यान्ड नीति २०७१ को एउटा लक्ष्य प्राप्त गर्न पनि मद्दत गर्ने अर्याल बताउँछन्। अर्यालका अनुसार सरकारको ब्रोडब्यान्ड नीति २०७१ मा सन् २०१८ सम्ममा नेपालको ४५ प्रतिशत घरधुरीमा ब्रोडब्यान्डको पहुँच सुनिश्चित गर्ने भनिएको छ।