मोबाइल चोर्दै, बिक्री गर्दै : चारजना पक्राउ
भक्तपुर : भक्तपुर प्रहरीले मोबाइल चोरी गर्ने एक समूहलाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले उक्त समूहका सदस्यहरुलाई मंसिर २५ गते नियन्त्रणमा लिएको हो ।
प्रहरीले मोरङ रतमाई नगरपालिका–५ घर भइ हाल भक्तपुर नगरपालिका–७ जगाती बस्ने ३० वर्षीय प्रेमकुमार श्रेष्ठ, काभ्रेको पनौती नपा–७ बस्ने १९ वर्षीय सुवेस धुसा, मोरङकै भोगटेनी गापा–८ फडानी घर हुने १८ वर्षीय पूर्णबहादुर गदाल र भक्तपुरकै सूर्यविनायक नपा–८ सूर्यविनायक बस्ने २५ वर्षीय सुसन नागालाई पक्राउ गरेको हो ।
चोरीका मोबाइल बेच्ने पसल नै सञ्चालन
परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले समूहका सदस्यहरुले चोरेर ल्याएका मोबाइल बिक्री गर्न भक्तपुर नपा–७ जगातीमा मोबाइल पसल नै सञ्चालन गरेको जानकारी दिए ।
गत असोज २६ गते चोरी भएको माधव थोकरको सामसुङ जेसेभेन प्राइप मोबाइलको लोकेसनको आधारमा उक्त समूहलाई नियन्त्रणमा लिन आफूहरु सफल भएको उनको भनाइ छ ।
गत असोज २६ गते भक्तपुर नगरपालिका–९ च्याम्हासिंहस्थित धनलाल घिसिङको कोठामा चार्जमा छोडेको अवस्थामा थोकरको मोबाइल चोरी भएको थियो ।
मोबाइल चोरी भएपछि थोकरले महानगरीय प्रहरी परिसर भक्तपुरमा निवेदन दिएका थिए । सोही निवेदनको आधारमा उक्त मोबाइल खोजतलासी गर्ने क्रममा जगातीस्थित मोबाइल पसलमा देखिन आएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।
‘चोरीको मोबाइलले उक्त पसलमा लोकेसन देखाएपछि खानतलासी गर्दा साँच्चिकै मोबाइल फेला परेको थियो’, उनले भने, ‘पसलमा खानतलासी गरी अन्य शंकास्पद मोबाइल १४ थान र २ थान ट्याबलेटसमेत बरामद गरी प्रारम्भिक अनुसन्धान गर्दा पसल सञ्चालक प्रेमकुमार श्रेष्ठ मोबाइल चोरीमा संलग्न रहेको देखिए ।’
उनका अनुसार समूहका अन्य सदस्यहरुले चोरेर ल्याएका मोबाइल श्रेष्ठले आफ्नो पसलबाट बिक्री वितरण गर्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरी नायब उपरीक्षक पोखरेलले श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएपछि थप तीनजनालाई नियन्त्रणमा लिएको बताए । मोबाइल चोरीमा संलग्न समूहका सदस्यलाई जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको भक्तपुर प्रहरीले जनाएको छ ।