देशभर ‘सु श्री सम्पत्ति’
काठमाडौं : फिल्म ‘सु श्री सम्पत्ति’ शुक्रबारबाट देशव्यापी रिलिज हुँदैछ। फिल्मको ‘हुकुम बक्सियोस्’ बोलको गीत र ट्रेलरका कारण चर्चामा रहेको यो फिल्म एकल रिलिज हुन लागेको हो। फिल्म तीन पात्र सलोन बस्नेत, सारा सिर्पाइली र विनोद न्यौपानेको वरिपरि घुम्छ। दुई बेरोजगार युवाले आफ्नो सपना परिपूर्ति गर्न अपनाउने गलत बाटो र त्यसमा आइपर्ने कठिनाइ फिल्ममा रमाइलो शैलीमा प्रस्तुत गरिएको छ।
सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा सलोन, सारा र विनोदसँगै राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारको अभिनय छ। फिल्ममा प्रियंका कार्की विशेष भूमिकामा छिन्।
रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सु श्री सम्पत्ति’को कथा निर्देशक सुव्रत आफैंले लेखेका हुन्। फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन शिलाकार छन्। अभिमन्यू निरबी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूको हो।
फिल्मलाई उपत्यकामा बीके फिल्मस्का गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्दै छन्। फिल्म भरत रेग्मीले सम्पादन गरिरहेका छन्। निर्देशक आचार्य भन्छन्, ‘फिल्मले दर्शकलाई मनोरञ्जन दिन्छ। फिल्म हेरिरहँदा दर्शकको समय र पैसाको सदुपयोग हुन्छ। हामीले सरल कथालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेका छौं। फिल्मको कथाअनुसार सलोन, सारा र विनोद फिट छन्।’
नायिका सारा भन्छिन्, ‘फिल्ममा मेरो क्यारेक्टरलाई सुन्दर र सुशील सु श्रीको रूपमा प्रस्तुत गरिएको छ। यो फिल्मसम्म आइपुग्दा आफूलाई निखार्ने मौका पाएकी छु। टिमले निकै मेहनत गरेको छ।’
नायक सलोन भन्छन्, ‘फिल्ममार्फत निकै आशावादी छु। पछिल्लो समय मलाई देखिरहनुभएको क्यारेक्टरभन्दा केही भिन्न अनि रमाइलो पनि छ। यो युवा पुस्ता र आफ्नै समाजको कथा हो। फिल्ममा केही सन्देश पनि छ।’
शुक्रबार नेपाल रिलिजपश्चात् फिल्म जापान, दक्षिण कोरिया र युरोपमा प्रदर्शन हुनेछ। जापान र कोरियाका लागि सूर्य कर्पोरेसनका वासुदेव लामिछाने र युरोपका लागि सुरज कार्कीले फिल्म प्रदर्शनको अधिकार लिएका छन्।