नुवाकोटका अन्नपूर्णकर्मी भट्ट पुरस्कृत
नुवाकोट : नेपाल पत्रकार महासंघ नुवाकोटको नवौं साधारणसभामा पत्रकारितामा योगदान पु¥याएका अन्नपूर्णकर्मी देवचन्द्र भट्टसहित चारजना पत्रकारलाई पुरस्कृत गरिएको छ ।
महासंघले साधारण सभाका अवसरमा पहिलो पटक नुवाकोटका चारजना पत्रकारहरुलाई नगदसहित पुरस्कृत गरेको छ । महासंघलाई सबै पत्रकारको साझा, छाता संगठन र अपनत्व हुने योजना ल्याइने प्रतिवद्धतासमेत साधारण सभाका अवसरमा गरिएको छ ।
पहिलो पटक पत्रकार महासंघ नुवाकोटले पत्रकार देवचन्द्र भट्टलाई ११ हजार एकसय ११ रुपैया राशीको स्व. पत्रकार मोहनविक्रमध्वज जोशी स्मृति पुरस्कार प्रदान गरेको छ ।
जन्मथलो नुवाकोटलाई नै कार्यक्षेत्र बनाएर क्रियाशील पत्रकार भट्टले नुवाकोटको पत्रकारिताको विकास तथा स्तरवृद्धिका साथै स्वतन्त्र पत्रकारिताको रक्षाका लागि पुर्याएको योगदानको मूल्याङ्कन गर्दै पुरस्कृत गरिएको महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले बताए ।
२० वर्षदेखि पत्रकारितामा आवद्ध भट्टलाई पत्रकार महासंघ नुवाकोटका संस्थापक संयोजक स्व. मोहनविक्रमध्वज जोशीको स्मृतिमा स्थापित पुरस्कार पहिलो पटक प्रदान गरिएको हो । उनलाई पुर्वमन्त्री तथा संघीय सांसद हितबहादुर तामाङले दोसल्ला ओढाइ ताम्रपत्र र चेकसहित पुरस्कृत गरे ।
महासंघले भोलाराज पौडेललाई स्व. पत्रकार रामकृष्ण प्रधान स्मृति पुरस्कार, शिव देवकोटालाई दीर्घसेवा पुरस्कार र भगवती लामालाई महिला क्रियाशीलता पुरस्कार प्रदान गरिएको छ । सबै पुरस्कारको राशी ११ हजार एकसय ११ रुपैयाँ रहेको छ ।