कांग्रेसमा कचिंगल
काठमाडौं : कांग्रेसमा शीर्ष नेताहरूबीच बढेको किचलोले महासमिति भेला प्रभावित भएको छ। चुनावपछि थलिएको पार्टीलाई पुनर्जीवन दिन डाकिएको भेलाको मुख्य एजेन्डा विधान मस्यौदा यसकै घानमा परेको छ।
सुरु हुने अघिल्लो शुक्रबार रातिसम्म विधानमा मतऐक्य हुन सकेन। शुक्रबार साँझ बसेको केन्द्रीय समिति बैठकले विधान मस्यौदालाई अन्तिम रूप दिन नसकेको हो। भेलामा पेश गरिने अन्य चार प्रतिवेदन भने परिमार्जनसहित केन्द्रीय समितिले पारित गरेको छ। मुख्य मानिएको विधानमै किचलो बाँकी छ।
पछिल्लो समयमा कांग्रेसभित्र गुटगत गतिविधि तीव्र छ। शशांक कोइराला, सुजाता कोइरालालगायतले घरमै पटकपटक बैठक बोलाए। सामुहिक नेतृत्वको पक्षमा आवाज उठिरहेकै बेला शनिबारदेखि काठमाडौंमा महासमिति भेला सुरु हुँदैछ। भेलाका लागि देशभरिबाट १६ सय कांग्रेस नेता–कार्यकता राजधानी आइपुगेका छन्। शनिबार ११ बजे सिंहदरबारअगाडिको पार्टी प्यालेसमा भेला उद्घाटन हुनेछ।
शुक्रबार पार्टी कार्यालयमा जम्मा भएको कार्यकर्ताको भीडको चासो समयमा महासमिति भेला हुन्छ कि हुन्न भन्नेमा थियो। सामुहिक नेतृत्वमा जाने वा सभापतिको एकल कार्यकारी नेतृत्व बलियो बनाउने भन्ने विषय पनि कांग्रेसमा टड्कारो बनेको छ।
हिन्दु धर्मको विषय पनि कांग्रेसभित्र बहसको विषय बनेको छ। महामन्त्री शशांक कोइराला नै हिन्दु धर्मको पक्षमा वकालत गरिरहेका छन्। अर्को पक्ष भने इतिहास भइसकेकाले धर्म र राजतन्त्रलाई कांग्रेसले उठाउन नहुने नहुने बताएका छन्।
महासमिति बैठकमा पेस हुने एजेन्डा केन्द्रीय समितिले पारित गर्न सकेको छैन। शुक्रबार रातिको केन्द्रीय समिति बैठकले पनि विधान मस्यौदा नटुंग्याएको हो। बैठकले परिमार्जनसहित राजनीतिक, संगठन र कोष तथा लेखासम्बन्धी प्रस्ताव भने परिमार्जनसहित पारित गरेको छ।
शनिबार बिहानसम्म सहमति नभए बहुमतले पारित गरेर एजेन्डालाई महासमितिमा लैजाने सम्भावना रहेको एक केन्द्रीय नेताले बताए। महासमितिले नेतृत्व टकरावको अन्त्य गर्न र भावी कार्यदिशा तय गर्न विधिसम्मत बहस गरी निचोडमा पुग्न सघाउने धेरैले अपेक्षा राखेका छन्।
‘हामी महासमितिमा सहभागी हुन आइसक्यौं। प्रक्रिया अघि बढिसक्यो तर यहाँ अझै नेतृत्व तहमा माथापच्ची गर्दैछन्,’ सहभागी हुन आएका अधिकांश नेता–कार्यकर्ता निराश हुँदै पार्टी कार्यालयमा भन्दै थिए, ‘नेतृत्वले के खोजेको हो? सबै आफ्नो स्वार्थमा छन्। कांग्रेस र मुलुकको चिन्ता नेतृत्वमा छैन।’
युवा नेता गगन थापाले कांग्रेसलाई बलियो बनाउन सामुहिक नेतृत्वमा जानुको विकल्प नभएको बताए। उनले आफूलाई वा आफ्नालाई सुरक्षित बनाउनेतर्फ नभएर प्रतिद्वन्द्वीसँग जुधेर जानेमा केन्द्रित हुनुपर्ने धारणा राखे।
माथिल्लो तहका नेताहरूमा देखिएको विवादले तल्लो तहका नेता–कार्यकर्तामा निराशा छाएको छ। छ वर्षपछि हुन लागेको महासमिति बैठकले खुशी ल्याए पनि नेतृत्वबीच विवाद यथावत हुँदा कति कार्यकर्ता चिन्तित देखिन्थे।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको विवाद झन् चर्कंदै गएको छ। उनीहरू संघ, प्रदेश र स्थानीय तहको चुनावमा पार्टी पराजितकै विषयमा अल्झिरहेका छन्। पौडेल समूहका नेताहरूले हारको जिम्मेवार सभापतिलाई ठह¥याउँदै सामुहिक नेतृत्व हुनुपर्नेमा जोड गरिरहेका छन्।
पार्टी नेतृत्वमा आफन्तमोह, कमजोर प्रस्तुति र कार्यशैलीले दल लथालिंग भएको निष्कर्ष पौडेल पक्षधरको छ। यसलाई चिरेर अघि नबढे महासमिति रित पु¥याउन मात्रै हुने उनीहरूले बताए।
महासमिति भेलाको मुख्य काम पार्टीको नयाँ विधान पारित गर्ने भनिएको छ। विधान मस्यौदामै तीव्र विवाद भएपछि त्यसको अन्तिम छिनोफानो महासमिति भेलामा हुने शीर्ष नेताहरूले बताएका छन्। सभापति देउवाइतर समूहका नेताहरूले पदाधिकारी संख्या बढाउन माग गरेपछि विधान मस्यौदामाथि किचलो सुरु भएको हो।
कांग्रेस नेता रामहरी खतिवडाले कांग्रेसभित्र दल र मुलुकको मायाभन्दा आफ्नो स्वार्थ हेरिन थाल्यो यो हाम्रोलागि दुर्भाग्य भएको बताउदै यसमा नेतृत्व सचेत भएर अघि बढ्न सबैलाई समेट्न आवश्यक रहेको बताए। उनले बीपी कोइराला र कृष्णप्रसाद भट्टराईको उदाहरण दिँदै विगत भुल्न नहुने सुझाव दिएको सुनाए।
सभापति पक्ष पदाधिकारीमा उपसभापति–२, महामन्त्री–२, सहमहामन्त्री–२ र कोषाध्यक्ष–१ गरी ८ सदस्यीय पदाधिकारी बनाउन सहमत छन्। जसमध्ये १ उपसभापति, १ महामन्त्री, १ सहमहामन्त्री र कोषध्यक्ष मनोनित गरिनुपर्ने व्यवस्था हुनपर्ने अडान छ। पौडेल पक्षका नेताहरू भने सभापतिसहित सबै पदाधिकारीहरू निर्वाचित भएरै आउनुपर्ने अडानमा छन्।
कांग्रेस नेता डा. रामशरण महतले केन्द्रीय समितिमा सर्वसम्मत नभएमा महासमिति भेलामा मतदानबाट टुंग्याउनु पर्ने बताए। ‘यो विधानजस्तो विषय महासमितिमा लैजाँदा रामो हुन्छ,’ उनले भने, ‘हामी सबै पक्ष जिम्मेवार भएर अघि बढ्न आवश्यक छ।’
सहमतिबिना विधान पेस नहुने र भयो भने फरक प्रतिवेदन जाने केन्द्रीय सदस्य तथा विधान मस्यौदा समितिका सदस्य प्रदीप पौडेलले बताए। उनले भने, ‘यसले पुरानो विधानलाई नै पुनः सक्रिय गराउने सम्भावना बढेको छ। यद्यपि अनौपचारिक कुराकानी भइरहेको छ।’
विधानमा आफूले राखेका विषय नसमेटिए महासमितिमा ती विषय राख्ने जानकारी केन्द्रीय समितिलाई गराएको पौडेलले बताए। यसअघि महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको विधान मस्यौदा समितिले पनि ९ मंसिरमा फरक मत सहित नै केन्द्रीय समितिमा मस्यौदा पेस गरेका थिए।
समितिले तयार पारेको मस्यौदामा पौडेल–सिटौला समूहका प्रदीप पौडेल, नवीन्द्रराज जोशी र मिनेन्द्र रिजालले १० बुँदे फरक मत राखेका थिए। अनौपचारिक संवादमा सक्रिय देखिएका नेता अर्जुननरसिंह केसीले आफुहरूको तर्फवाट सहमतिको सक्दो प्रयास भइरहेको बताए। ‘मुलुकको संविधानले गरेको राजनीतिक दलसम्बन्धीको व्यवस्था हामीले पार्टीमा लागू गर्न माग गरेका हौं,’ उनले भने, ‘संविधानअनुसार पदाधिकारीहरू निर्वाचित हुनुपर्ने भएकाले कांग्रेसले त्यसलाई अवमुल्यन गर्नै सक्दैन, हुँदैन।’
सभापति निकट नेता बालकृष्ण खाँणले पदाधिकारी संख्या बढाउनेलगायत सबै विषयमा महासमिति भेलामा पेस हुने बेलासम्म सहमति हुने दाबी गरे। ‘अनौपचारिक रूपमा कुराकानी भइरहेको छ। शनिबारे बिहानसम्म सहमति हुन्छ,’ उनले भने।
सहमति नभए सभापतिइतरका नेताहरूले भेलामा बेग्लै प्रस्ताव लैजाने बताएका छन। नेता केसीले भने, ‘हाम्रो प्रयास सहमति गर्नेमै हुन्छ, भएन भने आफ्नो कुरा महासमितिमा लैजान्छौं।’ अन्नपुर्णसंग भने। पदाधिकारी संख्या र तीनको चयन प्रक्रिया, अनुशासन समिति गठन, संसदीय बोर्ड, पार्टीको सदस्यता प्रणली, सभापतिलाई मनोनित गर्ने प्रतिशतलगायतका विषयमा शीर्षनेताहरूमै विभाजन छ।
विधान पारित हुने महासमिति भेलाको दुई तिहाई चाहिन्छ। पौडेल–सिटौलालगायत विरोधमा गए भने दुईतिहाइ पु¥याउन गाह्रो हुनेछ।
गच्छादारको मुद्दा पनि महासमितिमा
विजय गच्छदारबारे पनि कांग्रेसले महासमिति भेलामा निर्णय गराउने तयारी गरेको छ। गच्छदार कांग्रेसमा सहभागी हुँदा पनि केन्द्रीय समितिमा विवाद थियो। महासमिति भेलामा गच्छदारका तर्फबाट कति प्रतिनिधित्व गराउने भन्ने विषयमा पनि समस्या देखिएको थियो। गच्छदारले तीनसय भन्दा बढीको सहभागिताको माग गरेपछि कांग्रेस नेतृत्व अलमलमा छ।
धर्मबारे पनि किचलो
महासमितिका लागि उपसभापति विमलेन्द्र निधिले बनाएको राजनीतिक प्रस्तावमा पनि किचलो देखिएको छ। महामन्त्री सशांक कोइराला र सहमहामन्त्री डा. प्रकाशशरण महतले नै राजनीतिक प्रतिवेदनप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले धर्मनिरपेक्षताको सट्टा कांग्रेसले धार्मिक स्वतन्त्रत्ताको पक्षमा उभिनुपर्ने तर्क अघि सारेपछि किचलो आरम्भ भएको हो। निधिले धर्मनिरपेक्षतामा निकै जोड दिएर उक्त प्रतिवेदन तयार गरेका छन्।
मंसिरदेखिको केन्द्रीय समिति बैठकमा महामन्त्री कोइरालासहित केही केन्द्रीय सदस्यले खुल्ला रूपमै कांग्रेसले हिन्दू राष्ट्रको पक्षमा उभिनु पर्ने माग गरिरहेका छन्।
सहमहामन्त्री डा. महतले बिहीबारको बैठकमा उपसभापति निधिले ल्याएको राजनीतिक प्रतिवेदनको विरोध गर्दै धर्मनिरपेक्षताबारे प्रतिवेदनले स्पष्ट बोल्नु पर्ने माग गरेका थिए। उनले धर्मनिरपेक्षताभन्दा धार्मिक स्वतन्त्रताको पक्षमा उभिनुपर्ने बताए। महामन्त्री कोइरालासहित कांग्रेसको एउटा समूहले महासमिति भेलामै यो विषय उठाउने तयारी गरेको उनी निकट एक नेताले बताए।
गगन भने धर्ममा मध्यस्थ
शुक्रबार रातिको बैठकमा उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री प्रकाशशरण महतबीचमा धर्मको मुद्दालाई लिएर जुहारी चल्यो। महतले धर्मनिरपेक्षको सट्टा धर्म स्वतन्त्रताको विषयमा अडान लिए।
उपसभापति निधि भने धर्मनिरपेक्षताको पक्षमा जाँदा प्रतिगामी हुने भन्दै यसमा किचलो नगर्न कड्किए। दुवै जनाको जुहारी चर्को भएपछि बैठक भाँडिने सम्भावना टार्न केन्द्रीय सदस्य गगन थापाले नेपालको संविधानमा भएको व्यवस्था स्मरण गराउँदै सनातन धर्मको पक्षमा कांग्रेस उभिने भन्दै नेपालको संविधानमा भएको व्याख्यासहित राख्न निधिलाई राजी गराए।
‘गुट–उपगुटमा नेतृत्व नजाओस्’
महासमितिमा भाग लिन आउनेले नेतृत्वले गुट–उपगुट चलाउँदा तल्लो तहमा असहज भएको बताएका छन्। ‘नेतृत्व एक्टिभ हुन आवश्यक छ। गुट, उपगुट र लेनदेनले दलको हैसियत गिर्दो छ। यसले कांग्रेसलाई माथि लैजाँदैन,’ सप्तरी क्षेत्र नम्बर दुईका सनतकुमार मण्डलले अन्नपूर्णसँग भने, ‘यो महासमिति बैठक निर्वाचनअघि नै बस्न पर्ने थियो। अहिले बस्दैछ तर नेतृत्वमा आफू सुरक्षित हुने विषयले निकै असहजता उत्पन्न भएकोमा हामी दुःखी छौं।’
नेपाली कांग्रेस मुलुकको जिम्मेवार दल भएकोले नेतृत्वमा पनि त्यो हैसियत हुनुपर्ने गुल्मी क्षेत्र नम्बर एकका वेद मगरले बताए। ‘नेतृत्वको चरम गुटले हामी निराश छौं। कांग्रेसको नेतृत्वमा संविधान आएको हो। तर त्यसलाई नेतृत्वले क्यास नगर्दा भएको पराजय यो भुल्न हुँदैन,’ उनले भने।
प्रदेश तीनका सांसद राधा घलेले पनि दल कमजोर भएको छ भन्ने मात्र होइन यसलाई पुनर्जीवन दिन के गर्न सकिन्छ भन्नेमा नेतृत्वले ध्यान दिनुपर्ने बताइन्। धनुषा चार नम्बर क्षेत्रका प्रफुल्लाराज घिमिरेले पनि स्पष्ट राजनीतिक दृष्टिकोण कांग्रेसमा आवश्यक रहेको बताए। स्थानीय, प्रदेश र संघमा रहेको नेतृत्वको धारणा पनि स्पष्ट हुन जरुरी रहेको उनीहरूले बताए।