जसलाई सगरमाथाले कवि बनायो
म एक टाढाको अजनवी हुँ
तिमी मलाई चिन्दैनौ
मसँग तिमीलाई दिन कुनै उपहार पनि छैन
मौसम चिसो र सफा छ
हावा तुफानजस्तै उडिरहेको छ
सबैतिर हिउँ नै हिउँ छ
यो हिउँको महलमा म प्रवेश गरेँ
अन्ततः म हाम्रो पृथ्वीको
उच्चतम बिन्दु नजिकै खडा छु
धेरै धन्यवाद
तिम्रो सुन्दर ताज देख्न पाएँ
जर्मन नागरिक डोरिस नाउको ‘सगरमाथा’ शीर्षकको कवितांश हो यो। सन् २०१३ मा जब उनी एभरेस्ट बेस क्याम्प पुगिन्, त्यहाँको सुन्दरता देखेर हेरेको हे¥यै भइन्। पाँच हजार तीन सय ८० मिटरको उचाइमा पुगेपछि भुलिदिइन् युरोप अनि जर्मनीको फ्रांकफर्ट सहर। आँखामा सजाउन थालिन् मात्र सगरमाथा। जीवनमा पहिलोपटक जर्मनी छाडेकी उनले प्रकृतिको त्यो सुन्दर रूप पनि जीवनकै पहिलोपटक देखेकी थिइन्। र, भावुक हुँदै लेखिन् कविता।
सगरमाथाको सुन्दरताले उनलाई पगाल्यो। भावविह्ल भइन्। रमाइन्। रुन मन लाग्यो तर सकिनन्। हाँस्न मन लाग्यो तर सकिनन्। अंकमाल गर्न खोजिन्, त्यो पनि सकिनन्। छटपटी पैदा भयो। त्यो छटपटीले जर्मनी पुग्दासम्म लखेट्न छाडेन। जर्मनी पुगेर आफन्त साथीभाइलाई फोटो, भिडियो देखाइन्। तर, उनलाई लाग्यो सबैै अपर्याप्त, सबै अधुरा, सबै फिका फिका।
त्यो हिमाल, त्यो हिउँको दरबार, त्यो घामको पहिलो स्पर्श अनि त्यो बिछट्टको सुन्दरता। उनको आँखा वरिपरि घुमिरह्यो। उनलाई चैनसँग बस्न दिएन। हरपल हरदम त्यही बेसक्याम्प वरिपरि घुमिरह्यो उनको मन। मनले चैन नदिएपछि त्यो सुन्दरता व्यक्त गर्ने माध्यम बनाइन् कविता। कहिल्यै कविता नलेख्ने ५३ वर्षीया एक गृहिणी कविता लेख्न थालिन्। हिमालको बयान गर्दै, हिउँको बयान गर्दै अनि सगरमाथाको बयान गर्दै।
उनको कविताले परिवारको मात्रै होइन, छिमेकीको पनि मन जित्यो। त्यसपछि उनको कविता एक कान दुई कान मैदान हुँदै चर्चा हुन थाल्यो। उनको कविता ‘फ्रांकफर्ट लाइब्रेरी अफ कन्टेम्प्रोरी पोइम’ सन् २०१७ मा प्रकाशित भयो।
त्यसपछि उनको चर्चा झन् चुलियो। संग्रहमा पढ्नेहरूले ‘कस्तो रहेछ नेपाल रु ’ भन्दै सोध्न थाले। उनी हर्षित हुँदै नेपालको वर्णन गर्न थालिन्। साहित्यप्रेमी र प्रकृतिप्रेमीले उनको कविता खोजीखोजी पढ्न थाले। चासोको विषय बन्न थाल्यो उनको कविता। हाँस्दै भन्छिन्, ‘म कवि होइन। तर, मेरो कविताको चर्चा बढ्दै गयो।’
अन्ततः उनलाई कविताले नै जर्मनीको राष्ट्रिय दैनिक पत्रिकासम्म पुर्यायो। ‘फ्रांकफर्टर राष्ट्रिय दैनिक’का रिपोर्टर आलेक्जान्द्रा फ्लिट उनको घर पुगे। उनको कविता एक छेउमा राखेर मध्यपृष्ठमा फिचर लेखे। त्यसपछि उनको चर्चा ह्वात्तै बढ्यो। नेपालको बारेमा, सगरमाथाको बारेमा वर्णन गर्न उनलाई मञ्चहरूमा बोलाइयो। केही मञ्चमा उक्लिएर नेपालबारे बोलिन्। नेपालको प्रकृति अनि मानिसबारे बोलिन्।
०००
मंसिरको सप्ताहान्त। ठमेलको एक होटलमा भेटिइन् डोरिस। जर्मनीको फ्रांकफर्ट सहर छाडेर उनी तेस्रोपटक नेपाल घुम्न निस्किएकी थिइन्। गफिँदा गफिँदै उनले झोलाबाट पत्रिका निकालिन्। मध्यपृष्ठमा आफ्नो बारेमा छापिएको फिचर देखाइन्। छेउमा प्रकाशित थियो उनको कविता। भन्दै थिइन्, ‘मलाई नेपालको प्रकृतिले कवि बनायो।’
डोरिसको पहिलो विदेश भ्रमण नेपाल नै हो। नेपाल चिनाउन उनलाई गुगलले सहयोग ग¥यो। गुगलमा सगरमाथाको सुन्दर तस्बिर देखेदेखि उनलाई त्यहीँ जान मन लाग्यो। त्यसपछि श्रीमान्लाई जाऊँ भनिन्। तर, श्रीमान्ले मानेनन्। हाँस्दै सुनाउँछिन्, ‘मेरा श्रीमान् प्लेन चढ्नै मान्दैनन्। पूरै युरोप कारमै घुम्छन्।’ त्यसपछि हिमालयको देश नेपाल घुम्न उनी एक्लै निस्किइन्।
तेस्रोपटक नेपाल घुम्दा पनि उनको धीत मरेको छैन। भन्छिन्, ‘म फेरि आउनेछु।’
पहिलोपटक नेपाल आएपछि उनलाई नेपालको प्रकृतिले मोहनी लगायो। तानिरह्यो हजारौं माइल टाढाबाट। त्यसपछि फेरि सन् २०१७ मा आइन्। अनि सन् २०१८ मा। उनले काठमाडौं, पोखरा, लुम्बिनी, चितवन, पाल्पा लगायतका स्थान घुमिसकिन्। तेस्रोपटक नेपाल घुम्दा पनि उनको धीत मरेको छैन। भन्छिन्, ‘म फेरि आउनेछु।’
०००
जर्मनीकै सबैभन्दा ठूलो सहर फ्रांकफर्टबारे पश्चिमा इतिहासले भन्छ, तानाशाह नेपोलियन बोनापार्ट आफ्ना सैनिक दस्तासहित सन् १८१० मा फ्रांकफर्ट सहर पुगे। भनिन्छ, उनैले सहर सिँगारे। उनी जन्मिएको सहरले दोस्रो विश्वयुद्धमा ब्रिटिस हमलाको सामना गर्नुप¥यो। शीतयुद्धताका अमेरिकी सेनाले अड्डा पनि जमायो। युरोपकै प्रमुख आर्थिक केन्द्रमध्ये एक मानिने उनको सहरमा बैंक नै बैंकको जंगल छ। वास्तुकलाका नमुनादेखि युरोपियन सेन्ट्रल बैंकसम्म त्यही छ। व्यापारिक हब बनेको फ्रांकफर्ट सहरको उपनाम नै बनेको छ ‘बैंकफर्ट’।
उनकै देशमा १९औं शताब्दीको मध्यमा कार्ल माक्र्स जन्मिए। उनकै देशले हिटलरको नाजी सत्ता पनि बेहोर्यो। माक्र्सको बूढोदेखि हिटलरले पुरेको लाखौं यहुदीको चिहान पनि उनकै देशमा छ। यी सबै पर्यावरणबीच जर्मनी आर्थिक विकासको उच्च तहमा पुग्यो। ९९ प्रतिशत मानिस शिक्षित छन्। मानव विकासको सूचकांकमा जर्मनी विश्वका सम्पन्न देशमध्ये पाँचौं स्थानमा छ। तर, एउटी जर्मन गृहिणीको मनलाई यी सबै विकासका सूचकले छोएन। चित्त प्रसन्न भएन। उनलाई नेपालको हिमालले, यहाँको हावापानी र मुस्कानले लोभ्यायो।
उनी दुई कारणले नेपाल घुम्न आउने गरेको बताउँछिन्। भन्छिन्, ‘पहिलो यहाँको प्रकृति हेर्न। दोस्रो यहाँका मान्छेको जीवन हेर्न।’ यहाँका मानिस र प्रकृति बीचको सम्बन्ध उदाहरणीय रहेको उनको कथन छ। नेपालीको प्रकृतिप्रतिको निर्भरता असाध्यै लोभलाग्दो लागेको उनी बताउँछिन्। युरोपप्रति वितृष्णा व्यक्त गर्दै उनी भन्छिन्, ‘हाम्रा मान्छेहरू पैसा पैसा भन्दै हिँड्छन्। पैसाको पछि कुद्दाकुद्दै फिलिङ्स गुमाइसके। सिर्जनशीलता गुमाइसके।’
नेपालीको साधारण जीवन, सहयोगी भावना, सिर्जनशील जीवनशैली दुनियाँले सिक्नलायक रहेको उनको भनाइ छ। युरोप उच्च विकासले सिर्जनाविहीन मान्छेको झुण्ड बनेको उनको बुझाइ छ। बैंकमा रबरले बेरेको डटपेन देख्दा उनी अचम्मित भइन्। फोटो खिचेर बोकेकी छन्। भन्छिन्, ‘हाम्रोतिर यस्तो सिर्जनशीलता कहीँ पाइँदैन। पैसा ति¥यो किन्यो। पैसाले क्रिएटिभिटी नष्ट गरिसक्यो।’
डोरेस भन्छिन्, ‘नेपाल पैसामा गरिब होला तर सिर्जनशीलतामा धनी छ।’ उनी नेपालप्रति चिन्ता व्यक्त गर्छिन्। नेपालले आफ्नो भाषा, संस्कृति र प्राकृतिक सुन्दरतालाई बचाउन सक्नुपर्ने उनको धारणा छ। ‘युरोपको नक्कल गर्नु गल्ती हो’, उनी भन्छिन्, ‘बाहिरको विचार ल्याउनु हुन्न। यहीँको विचारले नेपाल बनाउनु पर्छ।’
०००
डोरिस कविता लेख्नैका लागि नेपाल घुम्न आएकी होइनन्। तर, त्यो कविता लेखेपछि उनलाई अरू पनि कविता लेख्न मन लाग्यो। साथमा बोकेकी छन् डायरी। केही कविता लेखेकी छन्। प्रकाशन गर्न भने होइन। मनका भावनाहरू पोख्न कविता लेख्ने गरेको उनी बताउँछिन्। हाँस्दै भन्छिन्, ‘म कवि होइन तर नेपालको प्रकृतिले मलाई कवि बनाएरै छाड्ने भयो।’