नौ सय खोला तरेपछि यादव खरेल
धुलिखेल ओरालो सिध्दिएपछिको तीनपिप्ले बसबिसौनीमा उत्रिएर बालुवा रानीपौवा कटेपछि झिउखोलाका एकपछि अर्को जँघार तर्नुपथ्र्याे। मध्य हिउँद भएकाले जँघारमा पानीको सतह त घटेको हुन्थ्यो। तर, चिसोयाममा पानीमा गोडा चोपल्नुपर्दा निकै ठिहिर्याउँथ्यो।
खोलामा पुल नभएकाले जुत्ता–चप्पल हातमा लिई कुर्कुच्चा डुबाउनुको विकल्प थिएन। हिउँदे खोलाले बगाई नै हाल्ने दुस्साहस त गरिहाल्दैनथ्यो। तर पनि, आङभरि लेउ घसेका खोलाका चिप्ला ढुंगाहरूले उसै परे चिप्ल्याउँदै च्यापु खुस्काउन बेर लगाउँदैनथे।
‘आमा अझै कति छ खोला तर्न’, आमाको औंलालाई बेस्सरी कस्दै सोध्थेँ म।
‘अब धेरै छैन, ऊ त्यै पर त हो नि बेसी’, आमा खोलापारिको बस्ती देखाउँदै रेडियोमा बारम्बार गुञ्जिरहने एउटा नामको प्रसंग खोलासँग जोड्नुहुन्थ्यो, ‘यति खोला तर्नु त के तर्नु तेरो काकाले त झन् नौ सय खोला तरेका छन्।’
हिउँदको जाबो झिउखोला तर्दा त खुट्टा ठिहि¥याएर र चुच्चे ढुंगाहरूको घोचघाचमा परेर हत्तु भएको बालकका निम्ति नौ सय खोला तर्ने मान्छे कथाहरूमा सुनिने हनुमान वा अहिलेको सिनेमाको भाषामा ‘सुपर हिरो’ भन्दा के कम हुन्थ्यो र !
‘हैन को काका आमा, कसरी तरे नौ सय खोला उनले ? ’ मेरो उत्सुकता र श्वास सँगसँगै बढ्थे।
‘यादव (खरेल) काका नि, त्यो ‘नौ सय खोला तरेर जाने, बिर्सने पो हौ कि मलाई, बिर्सने पो हौ कि’ गीत छ नि, त्यो तेरो काकाले बेलायत जानुपर्दा लेखेका हुन्’ आमाले नौ सय खोलाको अर्थ खुलाउनुभयो, ‘बेलायतसम्म पुग्न नौ सय खोला तर्नुपर्छ रे !’
यादव खरेलको नाम त्यसअघि नसुनेको होइन। रेडियोले बारम्बार उहाँको नाम उच्चारण गरिरहन्थ्यो। तर, मेरो बाल्यकाल टेलिभिजनको युग नभएकाले उहाँको अनुहार भने देखिसकेको थिइनँ। केवल नाम मात्रै सुनेको थिएँ उहाँको। त्यो नाम धेरैजसो गीतसँग जोडिएर आउँथ्यो। रेडियो नेपालका ती दिनमा गीतहरूका लागि प्रसिद्ध कार्यक्रम हुन्थ्यो, ‘फर्माइसी गीतको कार्यक्रम।’
आधुनिक भनिने नेपाली सुगम संगीतका गीतहरू बज्ने फर्माइसी गीत वास्तवमा अत्यन्तै रुचाइएको कार्यक्रम थियो, जहाँ सरदर तीन मिनेट बज्ने गीत बजाइमाग्ने अर्थात् फर्माइस् गर्नेहरूको नाम र ठेगाना पढ्न मात्र पनि पाँच मिनेट लाग्थ्यो। फर्माइसी गीतमा यादव खरेलका अनेक गीतहरू फर्माइस गरिन्थे, तीमध्ये स्वरकिन्नरी तारादेवीको मखमली स्वर र शिवशंकरको संगीतको ‘नौ सय खोला’ पनि एक थियो, जसलाई मैले झिउखोला तर्दाको बखतसम्म सायद नौ सय पल्ट नै सुनिसकेको थिएँ।
यादव खरेल भन्ने नाम मेरानिम्ति नातेदारभन्दा पनि सेलिब्रिटी थियो। किनकि, बुवाभन्दा उमेरले केही कम भए पनि नातामा बुवाका पनि काका उहाँका घरमा बुवा धेरैपटक पुग्नुभएको सुने पनि उहाँ हाम्रो घर त्यस बेलासम्म आउनुभएको मेरो सम्झना थिएन।
यता काठमाडौंमा मीनपचासको छुट्टी के सुरु हुन थाल्थ्यो, जीउमा प्वाँख पलाएजसै अनुभूति गर्थें। पुख्र्याैली थलो काभ्रेमा हाम्रो केही पैतृक जायजेथा बाँकी थियो। बुवाका तीन दाजुभाइबीचको अंशबन्डापछि खरेलथोकको लिचीको बगैंचासहितको सानो पुख्र्याैली घर र तल बेंसी (बाह्रबेंसी)मा हाम्रो भागमा केही रोपनी जमिन परेका थिए।
वुबा सरकारी जागिरमा व्यस्त रहने हुँदा मोहीहरूबाट कुत उठाउने काम आमा नै गर्नुहुन्थ्यो। मंसिरको धान काटेपछिको हिउँद कुत राफसाफका लागि उपयुक्त समय हुन्थ्यो। त्यसैले मीनपचास पछिको बिदाका केही दिन मेरानिम्ति पलाञ्चोकमा बिताउने मौका जुर्दै आएको थियो।
पाँचखाल मैदानको पल्लोछेउ बाह्रबेंसीमा हाम्रो आफ्नै घर नभए पनि ठूलो वुबा सेवकराम खरेलको परिवार खेतीपातीको जिजीविषामा रहेकाले उहाँहरूकै आतिथ्यमा हामी बेंसीमा आरामदायी समय बिताउँदै कुत नामको पोका पन्तोरा भरियालाई बोकाउँदै अनि तिनलाई लोकल बसमा कोचकाच गर्दै काठमाडौं फर्किन्थ्यौं।
झिउखोला तर्दै गर्दा सुरु हुने यादव काकाको चर्चा बेंसी पुगेपछि पनि सेलाउँदैनथ्यो। बरु त्यहाँ उहाँबारे भिन्दै कोण र आयामबाट चर्चा हुन्थे। ३० को दशकको अन्त्य र ४० को दशक सुरु हुँदै गर्दाको यो कालखण्डमा उहाँ नेपाल परिवार नियोजन संघको महासचिव हुनुहुन्थ्यो। संघले आफ्ना कार्यक्रम वा परियोजनाको पाइलोटिङ गरेका क्षेत्रमा त्यस बखत काभ्रेपलाञ्चोक जिल्ला पनि थियो।
पाँचखाल बजारमा संघको एउटा कार्यालय राखिएको थियो, जसमा मेरा ठूलोबुवा सेवकरामले पनि रोजगारी पाउनुभएको थियो। हिजोआज एनजीओको भाषाको ‘लोकल मोबिलाइजर’ जस्तो भनिने पदमा रहेर उहाँले आफूलाई स्थानीय जीवनमा सक्रिय बनाउनुभएको थियो नै, त्यस सक्रियताबापत प्राप्त हुने पारि श्रमिकले उहाँको बृहत् परिवारलाई राम्रो भरथेग पनि गरेको थियो। खासमा त्यो रोजगारी यादव काकाकै उदारमनाबाट प्राप्त भएको थियो। त्यसैले ठूलोबुवाको घरदेखि सम्पूर्ण बाह्रबेंसीमा ‘परिवार नियोजन’को चर्चा सुनिन्थ्यो। भनिरहनु परेन, परिवार नियोजनको पर्यायवाची यादव काका हुनुहुन्थ्यो, त्यो बखत।
परिवार नियोजनमा निकै जम्नुभएका यादव काका पञ्चायतकालको उत्तराद्र्धतिर एकाएक राजनीतिमा होमिन खोज्नुभयो। पलाञ्चोके खरेलमध्येका रत्नप्रसाद खरेल पञ्चायतभित्रै रहेर पनि राजनीतिक विकृति र विसंगतिउपर चर्को प्रहार गर्न सक्ने एक जुझारु राजनीतिकर्मी हुनुहुन्थ्यो। यादव काकामा रत्नप्रसाद खरेलको प्रभाव र प्रेरणा थियो।
आज पनि लाग्छ, यादव काका त्यसैगरी नौ सय खोला तरिरहनुभएको छ, जसरी उहाँ पाँच दशक अघि तर्नुहुन्थ्यो। फरक यत्ति हो, त्यस बखत उहाँ कल्पना र भावनाका खोलाहरू तर्नुहुन्थ्यो। आज उहाँले नदीजस्तै जीवन तरिरहनुभएको छ।
राजनीतिको ग्राफ चढिरहेकै बखत चितवनमा आँधीहुरीका बेला टौवाद्वारा थिचिएर रत्नप्रसाद खरेल दिवंगत हुनुभएपछि खरेल परिवारभित्र राष्ट्रिय जनजीवनलाई प्रभावित पार्न सक्ने राजनीतिकर्मीको प्रस्ट अभाव खड्किएको थियो। हुन त राजेन्द्र खरेलले पनि राजनीतिको बाटो रोज्नुभएको थियो। तर, उहाँको आबद्धता त्यस बखत प्रतिबन्धित नेपाली कांग्रेससँग भएकाले उहाँको राजनीति सदन (राष्ट्रिय पञ्चायत) र सत्ताको भन्दा पनि संघर्षको थियो।
यसै बेला यादव काकाले परिवार नियोजनको सुविधासम्पन्न जागिरलाई तिलाञ्जलि दिँदै राष्ट्रिय पञ्चायतको चुनावमा भाग लिने कठोर निर्णय गर्नुभयो। काकाको राजनीतिक जीवन कसरी अघि बढ्ला भन्ने चासो र चर्चा सर्वत्र थियो। हुन त दरबारको ‘गुडबुक’का उहाँले चाहेको भए दरबारलाई रिझाएरै बिनानिर्वाचन नै राष्ट्रिय पञ्चायतको सदस्य बन्न सक्नुहुन्थ्यो। काकाले चुनावकै बाटो रोज्नु त भयो तर परिणाम उहाँको पक्षमा आएन। चुनाव सकिएको मीनपचासमा बेँसी पुग्दा कतिसम्म सुनिन्थ्यो भने, मानिसहरूले उहाँबाट पैसादेखि धानचामलसम्म असुले तर भोट भने उहाँका विपक्षीलाई गरे रे !
सर्वत्र सफल यादव काकालाई राजनीतिचाहिँ फापेन। तर, त्यो असफलता उहाँ र मुलुक दुवैका निम्ति ‘ब्लेसिङ इन डिस्गाइज’ रह्यो। किनकि, व्यक्तिगत जीवनमा सदाचार र सार्वजनिक स्वच्छता खोज्ने उहाँ राजनीतिको फोहोरी आहालमा हेलिनु परेन। बरु ‘राजनीतिक असफलता’ यताका दिनमा उहाँले उन्नयनको बाटो नै रोज्नुभयो।
सन् ७० को दशकमा लन्डनको फिल्म स्कुलमा पढेको फिल्मसम्बन्धी ज्ञानलाई उहाँले चलचित्र निर्माणमा उपयोग गर्नुभयो। लन्डनबाट नेपाल फर्केपछि स्थापित तत्कालीन शाही नेपाल चलचित्र संस्थानको नेतृत्वमा रहँदा यादव काकाले स्वदेशभित्रै छायांकनका लागि स्टुडियो निर्माण, पोस्ट प्रोडक्सन, लाइब्रेरी र अर्काइभ आदिमा महŒवपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
स्वदेशमा चलचित्रसम्बन्धी दक्ष जनशक्ति र प्रविधि अभाव रहेका बेला पनि संस्थानमा उहाँको नेतृत्वमा थोरै नै सही, चलचित्र निर्माण हुन थालेका थिए। त्यसैले चुनावमा पराजय भोगेपछि उहाँ सबैभन्दा बढी चलचित्र निर्माणमा नै होमिनुभयो। यस दौरान समाजिक कथावस्तु, कालजयी कृति र ऐतिहासिक व्यक्तित्व माथिका चलचित्रहरू निर्माण भए।
नाट्यसम्राट् बालकृष्ण समको अमर कृति ‘प्रेमपिण्ड’ माथिको चलचित्र, आदिकवि भानुभक्तको जीवनी (बायोपिक) र महाकवि लक्ष्मीप्रसाद देवकोटा माथिको वृत्तचित्र उहाँद्वारा निर्देशित तथा निर्मित उल्लेखनीय सिनेम्याटिक सिर्जना हुन्। त्यसले उहाँलाई उद्घोषक, कवि तथा गीतकारसँगसँगै चलचित्र निर्माता र निर्देशकको चिनारी पनि दिएको छ।
बाल्यकालतिर यादव खरेलको नाम सायद ‘सुपर हिरो’ हरूका दुनियाँमा थियो। तर, प्रारब्धले चाहिँ मलाई बेलाबखत उहाँले तरेका जँघारहरूतिर लगेको छ। यादव काकाको प्रारम्भिक कर्म अर्थात् रेडियो नेपालको उद्घोषण सुन्न मलाई जुराएन, किनकि त्यतिखेर म जन्मिएकै थिइनँ। तर, उहाँ लन्डन पुगेर बीबीसी नेपाली सेवामा काम गर्नुभएको बारे म धेरै पहिलेदेखि जानकार थिएँ।
उहाँले बेलायतमा तत्कालीन राजा महेन्द्रसँग लिनुभएको अन्तर्वार्ता बीबीसीले पुनः प्रसारण गरेको मैले सुनेको थिएँ। राजा महेन्द्रसँग अन्तर्वार्ता लिनुमात्र पनि एउटा ठूलो उपलब्धि मानिएको थियो त्यस बेला। सानो छँदा मानिसहरूले यादव खरेललाई राजा महेन्द्रसँग अन्तर्वार्ता लिने दुर्लभ व्यक्तिका रूपमा पनि चर्चा र ईष्र्या गरेको सुनेको थिएँ। संयोगवश लन्डनमा उच्चशिक्षा अध्ययन गर्दा मलाई पनि बीबीसी नेपाली सेवामा काम गर्ने मौका जुरेको थियो।
मध्य लन्डनको स्ट्रान्डस्थित बुस हाउसमा रहेको बीबीसी नेपाली सेवा भित्र छिर्दै गर्दा मैले यादव काकालाई सम्झिन पुगेको थिएँ। अझ लन्डन पुग्नुअघि जहाजको झ्यालबाट तल समुद्र र खोलाहरू दृष्टिगोचर भएका बेला मेरो मस्तिष्कमा झिउखोलाको सम्झना ताजा भएको थियो भने ओठहरूमा ‘नौ सय खोला’ शुष्क बगिरहेको थियो।
मैले किशोरवय पुगेपछि सामाजिक जमघटहरूमा यादव काकालाई देख्न र भेट्न थालेँ। र, वयस्क उमेरमा प्रवेश गरेपछि उहाँसँग बसिबियाँलो र छलफल गर्ने मौका जुर्न थाल्यो। यसबीच उहाँका अनेक सिर्जनशील कामहरू— चाहे ती साहित्यिक, फिल्मी हुन् वा विशुद्ध प्रशासनिक— तीबारे परिचित हुने मौका मिल्न थाल्यो। शाही नेपाल चलचित्र संस्थानको जग हाल्नुभएका यादव काकाले चलचित्र विकास बोर्डको नेतृत्व दिँदै गर्दा बोर्डको भव्य भवन निर्माण गर्नुभएको थियो।
झन् पछिल्ला समय त उहाँसँगको सान्निध्य झनै घनिभूत भएको छ। खासगरी २०७२ सालको महाभूकम्पपछि उहाँकै प्रेरणाले आफ्नो पुख्र्याैली थलो खरेलथोक र त्यस आसपासका क्षेत्रमा भूकम्पपीडितलाई राहत बाँड्ने मौका जुर्यो।
भूकम्पले काभ्रे जिल्ला र खरेलथोक वरपरका क्षेत्र तहसनहस पारेकोे थियो। यादव काका र उहाँका छोराछोरी सम्राट् र समृद्धिसहित हामी प्रकोपको पहिलो ‘रेस्पोन्डेन्ड’ बनेर कोसीदेखा गाउँपालिकाका रोटेपिङ, ज्याम्दी, कालिन्जोर अनि खरेलथोकका खरेलथोक, बरबन्दी, साठीघरे आदि गाउँ (अहिले नगरपालिका) पुगेका थियौं। ती क्षेत्रमा इतिहासदेखि प्रताडित र सबैभन्दा सीमान्तकृत दलितहरूलाई विपत्का बेला राहत पुर्याउने काकाको जुन अठोट थिए, त्यो हामी सबैको सामूहिक प्रयासका कारण एक हदसम्म सफल भएको थियो।
आज पनि यादव काकामा उत्तिकै ऊर्जा र स्फूर्ति देख्छु, जुन दशकौंअघि देख्थेँ। सिर्जनशील उहाँ उन्नयनको सोपान गरिरहनुभएको छ। समयनिष्ठ र व्यवस्थित उहाँ अरूबाट पनि त्यस्तै आचरणको अपेक्षा गर्नुहुन्छ। उदारमना यादव काकामा संकुचन र संकीर्णता लेसमात्र पनि देखिँदैन।
आज पनि लाग्छ, यादव काका त्यसैगरी नौ सय खोला तरिरहनुभएको छ, जसरी उहाँ पाँच दशक अघि तर्नुहुन्थ्यो। फरक यत्ति हो, त्यस बखत उहाँ कल्पना र भावनाका खोलाहरू तर्नुहुन्थ्यो। आज उहाँले नदीजस्तै जीवन तरिरहनुभएको छ। र, नौ सय खोला तरिसकेका यादव काका आज भने पछिल्ला पुस्ताहरूलाई खोला तर्न सघाउँदै हुनुहुन्छ, आफ्ना हातहरू बढाउँदै र हृदय फैलाउँदै।