कहिले बन्ला जुलाघाट पुल ?
जुलाघाट : मध्यपहाडी लोकमार्गको अन्तिम विन्दु बैतडीको जुलाघाटमा पक्की पुलको विषय अन्योलमा परेको छ। ०५५ सालदेखि पटक–पटक सर्भे हुँदै डीपीआरसमेत बनिसकेको पुल बन्ने वा नबन्ने विषयमा टुंगो लाग्न नसकेको हो।
जुलाघाट, भारतको पिथौरागढ जिल्लासँग जोडिएको छ। त्यहाँ ब्रिटिस शासनका बेला बनेको झोलुंगे पुल मात्रै छ। ‘पारि (भारततिर) भारत सरकारको डबल लेनको पक्की सडक छ, नेपालतिर पनि करिब पाँच सय मिटरबाहेक सिमानासम्म मध्यपहाडी लोकमार्ग पक्की भइसकेको छ। बीचको पाँच सय मिटर सडकको कालोपत्रे र महाकालीमा पक्की मोटरेबल पुल नहुँदा यस क्षेत्रको समृद्धि नै रोकिएको छ’, बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खिमानन्द भट्टले भने।
जुलाघाटमा पुल निर्माण हुनुपर्ने माग गर्दै बैतडी उद्योग वाणिज्य संघले तीन वर्षअघि बैतडीबासीको तर्फबाट १० हजार जनाको हस्ताक्षर गरेर प्रधानमन्त्रीलाई बुझाइसकेको छ। ‘हामीले जुलाघाटको पुलले मानै सुदूरपश्चिमको समृद्धि हुन्छ भनेर एकसूत्रीय माग गर्दै आयौं तर अहिलेसम्म सरकारले सर्भेबाहेक काम गरेको छैन’, उनले भने।
जुलाघाट नाका वर्षौंदेखि भारतको उत्तराखण्डमा रहेको कालापहाडमा मजदुरी गर्न जानेहरूको पदमार्ग पनि हो। साविकको मध्यपश्चिम र सुदूरपश्चिमका अधिकांश कालापहाडमा मजदुरीका लागि जाने नेपाली यही नाका भएर जाने–आउने गर्थे।
नेपालतर्फको बजारलाई जुलाघाट भन्छन् भने भारततर्फको बजारलाई झुलाघाट। ‘अहिले वारि र पारिसम्म दुवै देशका पक्की सडक छन् तर बीचमा पर्ने महाकालीमा पक्की पुल मात्रै नभएकाले नेपालको विकास र समृद्धि रोकिएको छ’, जुलाघाट बजार व्यवस्थापन समितिका अध्यक्ष जयसिंह भाटले भने।
उनले ०५५ सालयता धेरै पटक पुलको सर्भे भएको बताए। नेपाल सरकारले जुलाघाटमा पर्ने महाकालीमा पुलको डीपीआरसमेत बनाइसकेको छ। करिब १ सय ५० मिटर लम्बाइको पुलमा करिब ८ करोड रुपैयाँ लागत इस्टिमेट गरिएको स्थानीय बताउँछन्।
धार्मिक पर्यटनको सम्भावना
सुदूरपश्चिम प्रदेशमा सात बहिनी भगवतीको शक्तिपीठ छन्। तीमध्ये बैतडीमा मात्रै त्रिपुरासुन्दरी, निङ्लाशैली र मेलौली भगवतीका शक्तिपीठ छन्। अझ बैतडीसँग जोडिएको जिल्ला डडेलधुरामा उग्रतारा भगवती र त्यससँग पनि जोडिएको जिल्ला डोटीमा शैलेश्वरी भगवतीको शक्तिपीठ छ।
‘पक्की पुल नबनेकाले यी शक्तिपीठमा आउने भारतीय धार्मिक पर्यटक भिœयाउन सकिएको छैन, धेरै दर्शनार्थी मोटर लैजाने पुल छैन भनेपछि झुलाघाटबाटै फर्किने गर्छन्’, झुलाघाटामा व्यवसाय गरिरहेका नेपाली लवदेव भट्टले भने।
‘उनीहरू नेपाल घुम्न भनेर झुलाघाट आउँछन्, उनको आफ्नै गाडी हुन्छ, त्यसमा बालबच्चा परिवारका ज्येष्ठ नागरिक पनि आएका हुन्छन्, अनि गाडी नेपाल लैजाने पुल छैन भनेपछि उनीहरू नेपालको भूमि टेकेर फर्किन्छन्।’ सरकारले ०७५ लाई पर्यटक भ्रमण वर्ष मनाइरहेको छ, तर यस्तै गरी सीमानाकाको व्यवस्थापन भएन भने कसरी पर्यटक बढाउन सकिन्छ ? ’ बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले भने।
चन्दको ससुराली भारतको पिथौरागढ हो। उनले मकाकालीमा पक्की पुल नबनेसम्म ससुराली नै नजाने वाचा गरेका छन्। ‘ससुराली नगएको १० वर्ष भयो, पक्की पुलमा मोटर कुद्दासम्म बाँचे भने जानेछु, होइन भने जान्नँ’, उनले भने।
व्यापार पनि प्रभावित
सुदूरपश्चिम पहाडी जिल्लामा धेरैजसो दैनिक उपभोग्य सामान झुलाघाट नाका भएर आउने गर्छ। बैतडी जिल्ला सदरमुकामदेखि पाटनसम्म यही बाटो सामान आउने गर्छ। अझ डडेलधुरा र दार्चुलाको केही भागका व्यापारीले समेत यही नाका भएर सामान ल्याउने गरेका छन्।
‘पारिसम्म भरिएको गाडी अनलोड गर्नुपर्छ, त्यसपछि नेपालतिर भरिया लगाएर महँगो ज्यालामा ढुवानी गर्नुपर्छ, अनि नेपालतर्फ पनि नेपाली नम्बरको गाडीमा लोड गरेर गन्तव्य लैजानुपर्छ, यसरी दोहोरो ढुवानीले सामान महँगो पर्छ’, स्थानीय शेरबहादुर श्रेष्ठले भने।
कर्णालीयता यातायातको सुविधा नपुगेका बेला सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाका सर्वसाधारणको भारत पस्ने प्रमुख नाका झुलाघाट थियो। यो झोलुंगे पुल मात्रै नभई दुई देशको सम्बन्ध जोड्ने पुलसमेत रहेको भारतीय पत्रकार प्रमोद भट्ट बताउँछन्। उनी भन्छन्, ‘झुलाघाट पुल नेपालको मात्र नभई भारतको पनि चासोको विषय हो। करिब डेढ सय वर्षअघि बनेको पुलको ठाउँमा पक्की पुल बनाउनुपर्छ। तर, पक्की पुल त टाढाको विषय भयो पुलको जीर्णोद्धारका बिषयमा समेत चासो दिइएको छैन।’
पहाडी क्षेत्रमा सुविधायुक्त अस्पताल नहुँदा सुदूरका बैतडी, दार्चुला, डडेलधुरा, बझाङलगायतका सर्वसाधारण उपचारका लागि झुलाघाट नाकाबाट भारत जाने गर्छन्। सडक सुविधा पुगेको दुई दशक बित्दासमेत सुदूरपश्चिमको पहाडी नाका झुलाघाटमा मोटरेबल पक्की पुल नहुँदा बिरामीलाई बोकेर लैजानुपर्ने बाध्यता रहेको जुलाघाटका व्यवसायी धर्मानन्द पन्तले बताए।
तत्काल नबन्ने संकेत
सडक विभागअन्तर्गत पुल महाशाखाले जुलाघाटमा पुल तत्काल नबन्ने बताएको छ। प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच दार्चुलाको जिल्ला सदरमुकाम, डडेलधुराको जोगबुडा, बैतडीको जुलाघाट र कञ्चनपुरमा पर्ने महाकालीमा चार वटा पक्की पुलका लागि सहमति भएको पुल महाशाखाका प्रमुख अर्जुन जंगबहादुर थापाले बताए।
‘दार्चुला सदरमुकाममा भारत सरकारले पुल निर्माण प्रक्रिया अगाडि बढाइसकेको छ, उसको उत्तराखण्ड सरकारले पुल निर्माणको सर्भे र अरू प्रक्रिया सुरु गरिसकेको छ, डडेलधुराको जोडबुडा भारतको प्राथमिकतामै परेन, जुलाघाटमा पञ्चेश्वरका कारण रोकिएको हो’, उनले भने।
उनले जुलाघाट क्षेत्र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डुबानमा पर्ने देखिएपछि त्यहाँ पहिले सर्भे गरेको १५० मिटरको पुल बन्न नसक्ने बताए। ‘पहिला १५० मिटरको पुलको सर्भे भएको हो, ड्याम क्षेत्र भएपछि अब त्यसमा पाँच सय मिटरभन्दा बढी लम्बाइको पुल आवश्यक पर्छ, त्यसका लागि डीपीआर पनि अर्को बन्नुपर्छ, डिजाइन इस्टिमेट पनि’ महाशाखा प्रमुख थापाले भने।
उनले जुलाघाटमा बिनापिलरको सस्पेन्सन ब्रिज वा कर्णाली चिसापानीको जस्तै केबुल स्टेट पुलको सर्भे गर्नुपर्ने बताए। पञ्चेश्वर परियोजनाको डुबान क्षेत्र पर्ने भएपछि जुलाघाटको पुलमा ठूलो रकम लाग्ने र त्यो पुल भारतले बनाइदिन परराष्ट्र मन्त्रायलले भारतलाई आग्रह गरिसकेको छ।