हिमाली भेगकी लालबन्ना

हिमाली भेगकी लालबन्ना

‘डाँफे र मुरली’को आख्यान

हिमाली भेगकी लालबन्ना (लालवर्णे) चरीले ठूलो प्रसव वेदना सहेर पूmल पार्छे। बच्चा कोरल्छे। नाम राख्छे— डाँफे।

आमाको मायामा हुर्किएको डाँफे कालक्रमसँगै बाइस वर्षको तन्नेरी हुन्छ। डाँफेले एक रात सपना देख्छ। सपनामा तराई क्षेत्रकी मुरली चरीलाई भेट्छ। मुरलीको रूपसौन्दर्यले मोहित डाँफेले विपनामा उसैसँग विवाह गर्ने अठोट लिन्छ।

लालबन्ना छोरालाई सपनामा देखेको कुरा पाइँदैन भन्छे र आफू छोराका लागि केटी खोजिदिन तयार भएको बताउँछे। डाँफे आमाले खोजेको केटी आपूmलाई मन नपरेको भन्दै मुरलीसँग मात्र बिहे गर्ने र त्यसका लागि जुनसुकै काम गर्न परे पनि पछि नहट्ने अड्डी कस्छ।

छोराको जिद्दीमाथि लालबन्ना नतमस्तक बन्छे। अन्ततः ज्योतिषले साइत हेराएर आइतबारलाई सुदिन ठहर्‍याउँछ। पञ्चकन्याको पूजा र प्रसाद ग्रहण गर्दै डाँफे मुरलीको खोजीमा निस्कन्छ। ऊ सर्वप्रथम सामरी भन्ने गाउँमा पुगी त्यहाँकी नेवार्नीलाई हँसाई–रुवाई मोहनी लगाउँछ। त्यसपछि एकै झमटमा नुवाकोट पुग्छ। नुवाकोटमा भैरवीदेवीको दर्शन गरी ‘चिताएको पुर्‍याइदिए तिमीलाई पाठी चढाऊँला’ भन्दै त्यहाँबाट उडेर थाकखोला पुग्छ।

थाकखोलामा थकाल्नीहरूलाई मोहनी लगाउँदै सनिसरे डाँडामा पुगेर ऐनामा आफ्नो रूप हेर्छ। झुस्स बढेको दाह्री सफाचट पारी डाँफे बटौली पुग्छ। बटौलीमाझ दोभानका पुन्नारान साहूकहाँ पुगेर डाँफेले मुरलीका निम्ति छपन्न हातको सारी, तीन खापे पछ्यौरी, चुनरी रङको पटुकी, बत्तु लगाएको धागो, ऐना टाँसेको चुरा, सुपारी रङका टीका र सिन्दूर किन्छ।

बिहेमा चाहिने सामग्री बोकेर ऊ मदेसका दाउरेनी र र पँधेर्नीसँग तराई जाने बाटो सोध्छ। उनीहरूले दिएको निर्देशनअनुसार डाँफे दक्षिण दिशा हुँदै आफ्नी सपनाकी राजकुमारी अर्थात् मुरलीको देश लाग्छ।

मुरलीको घरमा पुगेको डाँफे उसको रूपाकृतिमा मोहित हुन्छ। दाउरा–पानी ल्याउने बहानामा मुरली पनि डाँफेलाई लुकी–लुकी हेर्छे। साँझमा आएको पाहुनालाई लिपेको पिँढीमा गँदको गुन्द्रीमाथि पाटे काम्लो ओछ्याई नागबेली नली भएको गुडगुडे हुक्काको चाकटे चिलिममा डमरसाई तमाखु भरेर दिन्छे।

डाँफे र मुरलीका बीचमा हँसिमजाक हुन्छ। दुवैजना आ–आफ्नो भूगोलमा पाइने फलपूmल तथा हावापानीबारे वर्णन गर्छन्। दुई प्राणीबीच प्रेम अंकुराउँछ। मुरली सपनामा आफ्नो सिँउदोबाट सिन्दूर बगेको, चुरा फुटेको घटना देखेको वर्णन गर्दै केही अनिष्ट हुने पो हो कि भन्ने संकेत दिन्छे। डाँफे बिहानीपखको सपनाको भर नहुने र आपूm जस्तोसुकै विपत्तिलाई पनि टार्न सक्ने विश्वास दिलाउँछ।

डाँफे र मुरलीको पिरती झ्याँगिन नपाउँदै झिँझे बूढाको आँखा लाग्छ। ऊ आफ्नो देशकी चेलीलाई लैजाने तयारीमा रहेको डाँफेलाई नमारी नछोड्ने प्रण गर्छ। ऊ खोरिया फाँडेर कोदो रोप्छ। कोदोको लटरम्म पाकेको बालामा पासो थाप्छ। अन्ततः झिँझेको पासोमा डाँफेको देहलीला समाप्त हुन्छ। मुरलीको र डाँफेको रंगीन पिरती कारुणिक वियोगमा पुगेर अन्त्य हुन्छ।

झलकमान र ‘डाँफे चरी’ लोकगाथा

लाहुरे संस्कृतिको कारुणिक कथा बोकेको ‘आमाले सोध्लिन् नि’ बोलको गीतमार्पmत झलकमान गन्धर्व (विसं १९९२–२०६०) नेपाली जनजिब्रोमा स्थापित भए। एक समय कास्कीको बाटुलेचौर आसपास कालीखोलामा दुहाली थुनेर माछा मार्नु उनको दिनचर्या थियो।

झलकमानको मान त्यति बेला उचाइमा पुग्यो जति बेला रेडियो नेपालको ‘लोकलहरी’ कार्यक्रममार्फत् लोकसाहित्यका धरोहर धर्मराज थापाले उनलाई सार्वजनिक गराए। २०२२ सालमा रेडियो नेपालद्वारा आयोजित ‘लोकसंगीत प्रतियोगिता’मा ‘आमाले सोध्लिन् नि’ बोलको गीत गाए। गीतले उनलाई प्रथम स्थान मात्र दिलाएन, राष्ट्रिय गायकको रूपमै स्थापित गरायो। २०२४ देखि रेडियो नेपालमा वाद्यवाधकका रूपमा जागिरे भए।

झलकमानले रेडियो नेपालबाट दिने स्वर र तालसँगै गन्धर्व जातिलाई हेर्ने दृष्टिकोण पनि परिवर्तन हुन थाल्यो। गण्डक क्षेत्रका लोकविश्वास, लोकजीवनका आरोह–अवरोह, सांस्कृतिक–सामाजिक पक्षलाई टिपेर कर्खा एवं गाथाका माध्यमबाट प्रस्तुत गर्नु झलकमानको खास विशेषता थियो। उनले उपर्युक्त गीतका अलवा ‘बाला जोवन’, ‘बसे माया आजको रात’, ‘तानसेन घमाइलो’, ‘तिम्ले माया नगरे’, ‘अल्लारे नानी’, ‘खाऊँ त भने सुन्तला पानी’ जस्ता कालजयी गीत गाएका छन्।

झलकमानको स्वरमा रेकर्ड गराइएका उपर्युक्त गीतका साथै ‘डाँफे चरी’, लोकगाथा म्युजिक नेपालको आर्काइभमा सुरक्षित छ। यस्ता कर्खा÷गाथा÷गीतलाई सारंगीका माध्यमबाट रेट्दै–सुनाउँदै हिँड्ने झलकमानले नेपाली जनजीवनलाई जति सम्बोधन गरे हामीले उनलाई त्यत्ति सम्बोधन गर्न सकेनौं।

लोकसाहित्य

मानव सभ्यताको प्रारम्भिक चरणबाटै मानिसले आफ्ना अनुभूति एवं काल्पनिक भावलाई विभिन्न माध्यमबाट प्रकट गर्दै आए। भाषा, मुद्रा, चिह्न वा संकेत आदिका माध्यमबाट विभिन्न भाव व्यक्त गर्दै समाज निरन्तर अगाडि बढ्दै गयो। मानव जातिका असंख्य घटनाक्रम श्रुतिस्मृति परम्परामा विकसित हुँदै आजको अवस्थासम्म आइपुगेको हो।

सामूहिक सिर्जना, अज्ञात रचनाकार र समय, लोकसंस्कृतिको प्रभाव, परिवर्तनशीलता, लोकज्ञान र भावनामा आधारित, मौलिक भाषिक संरचनाजस्ता खासखास विशेषतायुक्त लोकसाहित्य मानव सभ्यताको धुकधुकी हो।

मनोरञ्जन, उपदेश, लोकमंगल, यथार्थको प्रकटीकरण आदि प्रयोजन पाइने लोकसाहित्यको सामाजिक–सांस्कृतिक, धार्मिक, ऐतिहासिक, आर्थिक, भौगोलिक, भाषावैज्ञानिक आदि महत्व छ। लोकगीत, लोककविता, लोकगाथा/लोककाव्य, लोकनाटक, उखान, टुक्का, लोकअनुष्ठान, लोकविश्वास, लोकप्रथाजस्ता विभिन्न विधा रहने लोकसाहित्यमा लोकगाथाको आफ्नो विशिष्ट स्थान छ।

लेखको मूल प्रयोजन पश्चिम गण्डक क्षेत्रमा प्रचलित ‘डाँफे र मुरली’को लोकगाथामा पाइने नारी चिन्तन, सामाजिक–सांस्कृतिक, पर्यावरण एवं भौगोलिक सन्दर्भका साथै लोकविश्वासका चिनाउनु हो। यसका लागि पहिले सामान्य रूपमा लोकगाथालाई चिनौं।

 लोकगाथा

ल्याटिन शब्द ‘ब्यालोर’ हुँदै अंग्रेजीको ‘ब्यालेड’बाट नेपालीमा लोकगाथाको रूपमा भित्रिएको प्रस्तुत शब्दमा आउने ‘लोक’ र ‘गाथा’ दुई शब्दले क्रमशः जनता, संसार, प्राणी आदि र गायन अर्थ प्रदान गर्छ। ‘गाथा’ शब्दको प्रयोग वेद, ब्राह्मण ग्रन्थ, पुराण आदिमा हुँदै आएको छ। ऋग्वेदको ऋचा १/७/१ र ८/३२/१ मा ‘गाथा’ शब्दको प्रयोग (मोतीलाल पराजुली र जीवेन्द्रदेव गिरी, ‘नेपाली लोकसाहित्यको रूपरेखा’, विसं २०६८, पृ. १२२–१२३) भएबाट गाथाको सम्बन्ध वैदिक कालसम्म रहेको स्पष्ट हुन्छ।

विभिन्न जाति, धर्म, भाषा र संस्कृतिको सम्मि श्रण नेपाली समाजको खास विशेषता हो। लोकगाथाभित्र आदिम मानवका धुकधुकी मात्र नभई विभिन्न युगका अनुभव पनि छन्। विभिन्न जातिका सृष्टि–प्रलयसम्बन्धी, संस्कार एवं रीतिस्थितिसम्बन्धी, प्राकृतिक एवं ऐतिहासिक सन्दर्भ आदि गाथाका रूपमा गाइएका छन्। प्राचिन वेद, भागवत, रामायण, महाभारत मात्र होइनन् जंगबहादुर, भीमसेन थापा, पृथ्वीनारायण, भक्ति थापाका उत्थान एवं पतनका कथाहरू गाथाभित्र सजिएका छन्।

गन्धर्व जातिका गला र कलाभित्र सारंगीको धुनसँगै रेटिने यी गाथाहरू ठाउँअनुसार लोकगाथा, कर्खा, भारत, चैत, चाँचरी, धमारी, संगिनी र सवाइ आदि नामले चिनिन्छन्। समग्रमा प्राचीन वा समसामयिक विषय/घटनालाई लिएर कथिएका, अज्ञात रचनाकाल र रचनाकार, लोकतत्व आदि विशेषताले युक्त जीवन, प्रेम, युद्ध, करुणा, संघर्ष, साहस आदि हृदयविदारक तथा प्रभावकारी घटनाको वर्णन लोकगाथाभित्र गरिन्छ। लोकद्वारा आख्यानबद्ध गरी गाइने गीत नै गाथा हो। कथावस्तु, पात्र/सहभागी, लय÷छन्द, परिवेश, उद्देश्य, भाषाशैली यसका अनिवार्य तत्व हुन् भने संगीत र नृत्य ऐच्छिक।

झलकमान गन्धर्व तथा गण्डक क्षेत्रका गन्धर्व जातिहरूले गाउने गाथालाई धर्मराज थापा तथा हंशपुरे सुवेदी हुँदै तत्सम्बन्धी अध्ययन–अनुसन्धान गर्ने लोकसाहित्यका पारखीद्वारा लय एवं लिपिबद्ध गरिएको ‘डाँफे र मुरली’ लोकगाथा प्रतिनिधि गाथा हो। यस्ता थुप्रै लोकगाथा हामीमाझ विद्यमान छन्।

‘डाँफे र मुरली’ डाँफे चराको जन्मदेखि मृत्युसम्मका घटनाक्रम समेटिएको वियोगान्त कारुणिक लोकगाथा हो। डाँफे र मुरलीजस्ता पक्षीलाई मानवीय पात्रमा आरोपित गराइ उनीहरूलाई मानवीय क्रियाकलापसँग बद्ध गराउनु यसको विशिष्ट पक्ष हो। अतिप्राकृति, स्वैरकाल्पनिक देखिए पनि यसको कथ्यले समाज बोलेको छ। मानवीय समाज, संस्कृति, व्यवहार र विश्वासको प्रतिनिधित्व गरेको छ। गद्य कविताको स्वरूपमा रहेको प्रस्तुत गाथाको कथालाई निम्नानुसार देखाउन सकिन्छ।

नारी स्वतन्त्रताका सन्दर्भ

‘डाँफे र मुरली’ गाथामा हिन्दू समाज र संस्कृतिको सुन्दर चित्रण गरिएको छ। जवान उमेरकी लालबन्नाले डाँफे चरी (छोरा) जन्माउने एकल निर्णय गर्नु, घर निर्माण गरी भालेलाई आमन्त्रण गर्नु, कडा प्रसव वेदना सहेर डाँफेलाई जन्माउनु आदि सन्दर्भले तत्कालीन समाजमा नारी आफ्नो निर्णयका लागि स्वतन्त्र थिई भन्ने देखाउँछ। लालबन्ना मात्र होइन, आफ्नो जीवन चलाउने सन्दर्भमा मुरली पनि उत्तिकै स्वतन्त्र छे।

मुरलीले डाँफेसँग प्रेमविवाह गर्ने निर्णय गर्नु, डाँफेको मृत्युपछि सामाजिक रूढिअनुसार सती नगई लाटेकोसेरोसँग पुनर्विवाह गर्ने सोचमा पुग्नुले ऊ स्वतन्त्र रहेको पुष्टि मिल्छ। तत्कालीन सामाजिक परिवेशमा मुरलीको प्रस्तुत सोचाइ नारी विद्रोहको संकेत मात्र होइन, नेपाली नारीमुक्तिको सवालमा नारीवादी आन्दोलनको प्रारम्भसमेत हो।

सामाजिक–सांस्कृतिक पक्ष

गाथामा हिन्दू समाजको सामाजिक तथा सांस्कृतिक पक्षको चित्रण छ। २२ वर्ष पुगेपछि डाँफे विवाह गर्न सपनामा देखेको मुरलीसँगको प्रस्ताव लिएर आमासमक्ष पुग्छ। आमा आपैंm केटी खोजिदिने, आफ्नै जात, ठाउँको कन्या बिहे गर्नुपर्ने धारणा राख्छे। तर, डाँफे भन्छ, ‘बिहे त मेरो गर्देउली आमै !

अँधेरो कुनामा कोदाको ढिँडो मिल्काएजस्ती÷गल्लीमा थोत्रो प्याङ मिल्काएजस्ती, कालीमाटीमा लात्ताले हिर्काएजस्ती÷कुच्चिएको डाडुमा जस्ती, बिहेमा गर्देउली भो म त मान्दिनँ नि...’ (धर्मराज थापा र हंसपुरे सुवेदी, ‘नेपाली लोकसाहित्यको विवेचना’, २०४१)। डाँफेको जिद्दीलाई आमा टार्न सक्दिनँ।

ऊ हिन्दू संस्कारअनुरूप छोरालाई मुरली लिएर आउनका लागि साइत हेराउन जान्छे। आइतबारको साइत जुरेपछि पञ्चकन्यालाई टीका लगाएर प्रसाद ग्रहण गरी डाँफे मुरलीको खोजीमा निस्कन्छ। साइत हेराउनु, पञ्चकन्याबाट प्रसाद ग्रहण गर्नु, टीका लगाउनु हिन्दू समाजको संस्कार हो।

हिन्दू संस्कारबारे वासु बराल आफ्नो पुस्तक ‘हिन्दू सामाजिक संगठनको प्रारूप’मा भन्छन्, ‘जन्मदेखि मृत्युपर्यन्तको जीवनसित सम्बन्धित विभिन्न पक्ष नै मानवका जटिल प्रक्रिया हुन्।’

बराल डा. राजबली पाण्डेको मतलाई समेट्दै लेख्छन्, ‘हिन्दू संस्कारहरूमा आरम्भिक विचार, धार्मिक विधि–विधान, सहवर्ती नियम तथा अनुष्ठानहरू छन्, तिनको उद्देश्य दैहिक संस्कार मात्र नभएर व्यक्तिको सम्पूर्ण व्यक्तित्वको परिष्कार, शुद्धि एवं पूर्णता पनि हो (पृ.३९–४०)।’

यसरी हेर्दा प्रस्तुत लोकगाथामा डाँफेले आफ्नो व्यक्तित्व परिष्कार, शुद्धि एवं पूर्णता र दैहिक संस्कारका निम्ति ब्राह्मण तथा ज्योतिषबाट साइत जुराउने, पञ्चकन्यालाई टीका लगाउने, प्रसाद ग्रहण गर्ने, नुवाकोटको भैरवीदेवीको दर्शन एवं भाकल गर्ने जस्ता धार्मिक अनुष्ठानहरू गरेको छ। यो हाम्रो मौलिक एवं सांस्कृतिक पहिचान हो।

पर्यावरण एवं भौगोलिक सन्दर्भ

गाथाको बीचमा आउने सामरी (नुवाकोट जिल्लामा पर्ने गाउँ)को नेवार समुदाय, थाकखोला (मुस्ताङ जिल्लाको एउटा ठाउँ)को थकाली समाज, बटौली (बुटवलको व्यापारिक केन्द्र) जस्ता भूगोलले त्यति बेलाको व्यापारिक केन्द्रलाई संकेत गरेको छ।

डाँफे र मुरली लोकगाथाको अर्को महŒवपूर्ण पाटो नेपालका दुई भूगोल एवं संस्कृति उच्च पहाडी क्षेत्र र तराईको मधेसबीच वैवाहिक सम्बन्ध स्थापित गरी एकता कायम गर्न खोज्नु हो। यसले दुई क्षेत्रबीच उत्पादन हुने वस्तु र जनशक्तिको विनिमय एवं वितरण प्रक्रियालाई गतिशील तुल्याउन खोजेको छ। साथै फरक संस्कृति र समाजका बीचमा विजातीय सम्बन्ध स्थापित गराएर नयाँ संस्कृति र समाजको निर्माण गर्ने चेष्टा गरिएको छ।

फरक पर्यावरणमा स्थापित हुन समय लाग्ने र सुरुमा फरक भूगोलमा बाँच्न कठिन पर्ने सन्दर्भ डाँफेद्वारा वर्णित ‘हाम्रा देशको खानु र पिउनु मुरलीचरी ! काफल खाउँला गुहेंली खाउँला, चुत्रोमा खाउँला, ऐँसेलु खाउँला, पहराभित्रको त्यो चिसो पानी... हिमालका आँठा र काँठा, हुरुरुरु वेगै र हान्दा देही हुन्छ शीतल नि’ (सुवेदी र थापा, २०४१) भन्ने सन्दर्भबाट प्रस्ट हुन्छ।

डाँफे तराईको हावापानीमा बाँच्न आपूmलाई मुस्किल भएको भाव प्रकट गर्दै मुरलीलाई तिम्रो माइती देश छिट्टै छोड भन्छ। उसैगरी मुरली पनि आफ्नो देशमा पाइने विभिन्न जातका धानको वर्णन गर्दै यहाँको हावापानी आपूm अनुकूल रहेको बताउँछे। पर्यावरणको विशेष महत्व रहने सन्दर्भमा जनकलाल शर्मा आफ्नो पुस्तक ‘हाम्रो समाज ः एक अध्ययन’मा डार्विनको मत प्रस्तुत गर्छन्, ‘प्रकृतिमा प्राकृतिक चुनावको काम भई नै रहेको छ।

विषम परिस्थितिमा केही प्राणी परिस्थितिको सामना गर्न सक्षम हुन्छन् र केही हुँदैनन्। जो जस्तो विषम परिस्थितिमा प्रकृतिको सामना गर्न सक्तैनन् ती स्वतः नष्ट भएर जान्छन् र सामना गर्न सक्ने बाँच्दछन्’ (पृ.८५–८६)। फलतः आफ्नो भूगोलमा पाइने कोदो खाने लोभमा झिँझेको पासोमा परेर डाँफे आफ्नो देहलीला समाप्त गर्न पुग्छ। समग्रमा दुई भूगोल र संस्कृतिको समन्वय गर्न खोजिए पनि विजातीय सम्बन्ध प्रतिकूल सन्दर्भका कारण सम्भव हुँदैन र बीचैमा दुर्घटित हुन पुग्छ। यसको निष्कर्ष हो— आपूmलाई प्रकृति अनुकूल बनाउन सक्नु आफ्नो अस्तित्वलाई जोगाउन सक्नु हो।

गाथाभित्रको लोकविश्वास

लोकसाहित्यको अर्को महत्वपूर्ण पाटो समाजमा स्थापित लोकविश्वास हो। लोकविश्वासका सन्दर्भमा हंसपुरे सुवेदी ‘नेपाली लोकजीवन : लोकविश्वास’ पुस्तकमा भन्छन्, ‘विश्वास मानिसको ठूलो शक्ति हो। विश्वासबाट नै कार्यमा सफलता मिल्छ। लोकविश्वासले आफ्नो परम्परित पद्धति–प्रथा वा रीतिथिति, चालचलन र लोकसंस्कृतिविशेष आदिप्रति गरिने पत्यारलाई संकेत गर्न पुग्छ।

लोकविश्वास लोकको मानसिक भावनाको प्रतीक हो। ईश्वर, आजापूजा, गंगास्नान, भाग्य–अभाग्य, स्वर्ग–नरक, पुनर्जन्म, नदी–वृक्ष–पशुपक्षी, भूतप्रेत, डाइनी–बोक्सी, धामीझाँक्री, टुनामुना, अभिशाप–वरदान, शकुन–अपशकुन’ आदि लोकविश्वासका खास आधारहरू हुन् (पृ.१९–२५)। यस आधारमा प्रस्तुत लोकगाथामा आएका सपना, भाकल, पञ्चकन्याको पूजा, प्रसाद ग्रहण, शकुन–अपशकुन सबै लोकविश्वास हुन्।

डाँफेको उद्गार– ‘...नुवाकोटकी भैरवीदेवीको दर्शन गरेछ नि÷मनले दाएको पुर्‍याइदेऊ ईश्वरलाई पाठीले पुजुँला नि...’ (थापा र सुवेदी, २०४१)। मुरलीको उद्गार– ‘आज रातीको यो सपनीमा सिँधुरै बहेको नि !, आज रातीका सपनीमा कान्छा है भिना, चुरा है फुटेको !’ (थापा र सुवेदी, २०४१) ले ईश्वर, आजापूजा, शकुन–अपशकुनसम्बन्धी लोकविश्वासलाई प्रस्तुत गरेको छ।

यस्ता धार्मिक, सांस्कृतिक, आभिचारिक (लागोभागो, भूतप्रेतसम्बन्धी), अन्धविश्वास वा रूढिगत लोकविश्वास हाम्रा आदिम मानवसभ्यताका सामूहिक अवचेतना हुन्। वास्तवमा यस्ता विश्वासहरू केवल विश्वास मात्र नभएर मानवजीवनको विज्ञानसम्मत सचेतताअन्तर्गत रहेको जीवनयात्रा क्रमको निकटतम र मानवभावनाको महान् आधार पनि हो।

०००

झलकमान गन्धर्व तथा गण्डक क्षेत्रका गन्धर्व जातिहरूले गाउने गाथालाई धर्मराज थापा तथा हंसपुरे सुवेदी हुँदै तत्सम्बन्धी अध्ययन–अनुसन्धान गर्ने लोकसाहित्यका पारखीद्वारा लय एवं लिपिबद्ध गरिएको ‘डाँफे र मुरली’ लोकगाथा प्रतिनिधि गाथा हो। यस्ता थुप्रै लोकगाथा हामीमाझ विद्यमान छन्। तीबारे अनेकौं पक्षबाट अनुसन्धान हुन सम्भव छ।

गाथा मात्र होइन, सिंगो लोकसाहित्यका सामग्रीलाई अध्ययन–अनुसन्धान एवं खोजी गर्दै सही ढंगबाट पर्गेल्न सक्ने हो भने हाम्रो भाषासाहित्य समृद्ध बन्नेछ। हामी हाम्रो समाजको वास्तविक चित्र पढ्न पाउनेछौं। आदिम समाजको सामूहिक निधिलाई विभिन्न कोणबाट हेर्ने परिपाटीको विकास आजको आवश्यकता र चुनौती दुवै हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.