‘क्रान्ति कथा’का कमान्डर
‘तपाईंहरूको नाम इतिहासका सुनौला अक्षरमा लेखिनेछ,’ काठमाडौं ओर्लिएपछि राजा त्रिभुवनले भनेका थिए। तर, राणाविरुद्धको क्रान्तिमा सहादत प्राप्त गरेका ३० जनाको नामलाई इतिहासले कहिल्यै सम्झेन।
२००७, फागुन ४ गते तीनवटा डकोटा विमान ज्ञानेश्वरको गौचरनमा झरे। राजा त्रिभुवनसहित राजपरिवारका अन्य सदस्य पहिलो विमानमा सवार थिए। दोस्रो विमानमा बीपी कोइरालासहित अन्य नेताहरू। तेस्रो विमानमा थिए– जनमुक्ति सेनाका कमान्डरहरू। ती कमान्डर कांग्रेस नेता र राजपरिवारको सुरक्षार्थ भारतको पटनाबाट आएका थिए। विमानमा सवार जनमुक्ति सेनाका १२ कमान्डरमध्ये एक थिए– १८ वर्षका श्यामकुमार तामाङ।
दोलखाको मकैबारीको तामाङ परिवार दार्जिलिङ बसाइँ सर्यो। श्यामकुमार उतै जन्मिए। म्याट्रिकसम्मको अध्ययन पनि दार्जिलिङमै गरे। म्याट्रिक सकेपछि उनलाई लाग्यो, ‘पहिले नेपालको निरंकुश शासन अन्त्य गर्नुपर्छ, त्यसपछि मात्रै पढाइ।’ अनि श्यामकुमार भर्ती भए– नेपाली इतिहासकै पहिलो जनमुक्ति सेनामा।
०००
मंसिर दोस्रो साताको एक दिन। राजपरिवार र क्रान्तिका नेतालाई स्कर्टिङ गर्दै विमान काठमाडौं झारेको करिब ७० वर्षपछि गौचरननजिकै एउटा घरको सोफामाथि शान्त बसिरहेका छन्– श्यामकुमार। कलिलो घामले उनको शरीर तताइरहेको छ।
शिरमा ढाका टोपी, गलामा मफलर र दाह्रीजुँगा चटक्क मिलेका। बोलीमा मुस्कान छ। उनलाई देख्दा लाग्छ, उनी ८८ वर्षका वृद्ध होइनन्, तन्नेरी हुन्। सुनाइरहेका छन्, रोमाञ्चक समयको कठिन क्रान्ति–कथा।
०००
सन् १९४७ साल। दार्जिलिङको चिया बगाननजिकै एउटा पुस्तकालय थियो, जहाँ श्यामकुमार गइरहन्थे। पुस्तकालयमा एकदिन देखा परे नेता गणेशमान सिंह। नेपालको राणा शासनविरुद्ध चर्को भाषण गर्दै सबै विद्यार्थीलाई उनले एक भएर लड्न सुझाए। जनमुक्ति सेनामा भर्ती हुने श्यामकुमारको पहिलो मोड बन्यो गणेशमानको भाषण।
‘१६–१७ वर्षको थिएँ, शरीरमा अर्कै जोस थियो, राणाशासनको अन्त्य गर्नु अपरिहार्य जस्तो लाग्यो। अनि भर्ती भएँ जनमुक्ति सेनामा,’ उनी भन्छन्। जनमुक्ति सेनाको केन्द्रीय कार्यालय कलकत्तामा थियो। श्याकुमारलाई कलकत्ता लगेर तालिम दिइयो। अरूभन्दा पढेलेखेका भएकाले उनलाई प्रशासनमा राखियो।
राणाविरुद्ध संघर्षको तयारी धमाधम भइरहेको थियो। जनमुक्ति सेनाले विभिन्न माध्यमबाट हतियार जुटाउँदै थियो। त्यही क्रममा हतियारसहित थुप्रै सेना पक्राउ पर्थे। पक्राउ परेकालाई छुटाएर ल्याउने जिम्मा थियो, श्यामकुमारको। उनी प्रहरीसँग गएर भन्थे, ‘यो हतियार आपराधिक कामका लागि होइन, नेपालमा स्वतन्त्रता प्राप्तिको क्रान्तिको लागि हो।’
त्यसबेला भारतमा पनि स्वतन्त्रताको आवाज गुञ्जिरहेको थियो। स्वतन्त्रताको विषय उठेपछि धेरैले सहयोग गर्थे। अन्ततः श्यामकुमार प्रहरीबाट साथीहरू छुटाएर ल्याउँथे। सुवासचन्द्र बोसको ‘आजाद हिन्द फौज’मा काम गरेका नेपाली कमान्डरहरू पनि थिए, जनमुक्ति सेनामा। त्यतिमात्र होइन, भारतभर छरिएका नेपालीहरू जनमुक्ति सेनामा भर्ती भइरहेका थिए।
जनमुक्ति सेनाको नेपाल हमला
२००७ साल भाइटीकाको दिनको सम्झना उनको मस्तिष्कमा गाढा भएर आउँछ। जहानियाँ राणा शासनको अन्त्यको क्रम त्यही दिनबाट सुरु भयो। जनमुक्ति सेनाले नेपालका तीन ठूला सहर वीरगन्ज, विराटनगर र भैरहवामा एकैपटक हमला गर्यो। तर, विराटनगर र भैरहवामा हार व्यहोर्नुपर्यो।
जनमुक्ति सेनाको पहिलो उपलब्धि वीरगन्ज जितका प्रत्यक्ष साक्षी हुन्– श्यामकुमार। ‘सरकारी सेनासँग भएजस्ता हतियार थिएनन् हामीसँग, तर मानसिक र शारीरिक रूपमा तयार थियौं,’ सेनाका प्रमुख कमान्डर पूर्णसिंह ठाकुरको नेतृत्वमा भएको त्यो हमला उनको सम्झनामा ताजा छ। ‘पटाका नै पड्काएर हामीले धेरै सरकारी सेनालाई आत्मसमर्पण गर्न लगायौं,’ त्यो दिन सम्झन्छन्।
अघिल्लो दिन राति ११ बजेबाट सुरु भएको लडाइँ अर्को दिन बिहान ३ बजे सरकारी सेनाले आत्मसमर्पण गरेपछि अन्त्य भयो। वीरगन्ज हमलामा श्यामबहादुर आफैं एक कमान्डर थिए। जनमुक्ति सेनालाई लडाइँमा स्थानीय जनताले साथ दिएको उनलाई सम्झना छ। त्यो जितसँगै जनमुक्ति सेनाका कप्तान थीरबम मल्ल र तेजबहादुर क्षेत्रीलाई गुमाउनु पर्यो।
‘त्यो लडाइँ मेरो लागि नयाँ थियो, डर पनि लागिरहन्थ्यो तर जितपछि हामी सबैमा एक किसिमको नयाँ ऊर्जा आएको थियो,’ श्यामकुमार मुस्कुराउँछन्।
जनमुक्ति सेनाका लागि वीरगन्ज एउटा अफ्ठ्यारो परिस्थितिको सानदार जित थियो। त्यस जितपछि ज्ञानबहादुर सुब्बा र श्यामकुमारको नेतृत्वमा जनमुक्ति सेनाको एउटा टुकडी लाग्यो चितवनको उपरदाङढीतिर। जनमुक्ति सेनासँग वान–टु–वान भिडन्तको लागि हतियारको अभाव थियो।
‘हामीसँग हतियारको कमी थियो तर, आत्मविश्वास भने सरकारी सेनाको भन्दा कयौं गुणा धेरै थियो,’ श्यामकुमार त्यो दिन सम्झन्छन्, ‘उपरदाङढी जितको मुख्य कारण पनि आत्मविश्वास नै होे।’
हतियार अभावले जनमुक्ति सेनाको टोली मध्यरातमा उपरदाङढी पुग्यो। गढी चकमन्न थियो। अन्य सेनालाई पछाडि छोडेर श्यामकुमार र ज्ञानबहादुर छिरे बडाहाकिमको निवासमा। उनी सुतिरहेका थिए। आफूले बोकेको रिबल्बर निकालेर श्यामकुमारले घच्घच्याएपछि हाकिम र उनकी श्रीमती एकैपटक ब्यँझिए।
बडाहाकिमले एकै स्वरमा भने, ‘हतियार र रुपैयाँ–पैसा लिएर जानुस्, जनमुक्ति सेना आउँदैछ भन्ने थाहा पाएर हामीले दिउँसै खसी काटेर तयार पारेका थियौं।’ सेनाले सोचेभन्दा सजिलै उपरदाङढी कब्जा गर्यो।
हजार–दुई हजार सेना लिएर लडाइँ सुरु गरेको जनमुक्ति सेनामा देशका युवाहरू उत्साहपूर्ण ढंगले सहभागी भइरहेका थिए। पहिलो हमलामा हार व्यहोरेपछि त्यसको केही समयमा जनमुक्ति सेनाले पुनः विराटनगर हमलाको तयारी गर्यो। यसपटक हमलाको तयारीमा श्यामबहादुर पनि सामेल थिए। हमलाको रणनीति पूरा भएपछि दुवै सेनाबीच लडाइँ भयो। अन्ततः उनीहरूले विराटनगरमा दोस्रोपटक हमला गरे र जित हासिल गरे। तर, बडाहाकिम उत्तमविक्रम राणालाई समात्न सकेनन्। उनी ठूलो कम्पाउन्ड भएको घरमा कडा सुरक्षाबलसहित बसेका थिए।
‘आत्मसमर्पण गर्दै उनी सेतो झन्डा देखाउँथे। हाम्रा साथीहरू जाँदा फेरि गोली चलाउँथे’ श्यामबहादुर सम्झन्छन्, ‘उनको यो चालबाट हाम्रा केही साथी घाइते भए, पछि हामीले दुईवटा तोप र एउटा ट्यांक बनाएर हमला गर्यो, त्यसपछि मात्र बडाहाकिम कब्जामा आए।’
दोस्रो राजधानी मानिने विराटनगरलाई कब्जामा लिएपछि जनमुक्ति सेनाले फैलिएर अघि बढ्ने रणनीति अवलम्बन गर्यो। फलस्वरूप जनमुक्ति सेनाले माझकिराँत क्षेत्र र ठूलो सहर मानिने जनकपुरलाई पनि कब्जामा लियो। त्यस्तै पश्चिमतर्फ पनि विभिन्न ठूला सहरलाई कब्जा गरेको सम्झना छ; श्यामकुमारसँग छ।
‘लडाइँ सुरु भएपछि हामीले आज कुन बार हो, कति गते हो भन्ने केही थाहा पाएनौं’ श्यामकुमार सम्झन्छन्, ‘न खानाको ठेगान हुन्थ्यो न सुत्नको, लडाइँ नसकिँदासम्म कुदेको–कुद्यै गर्यौं।’
लडाइँको सय दिनसम्म उनलाई रातैभरि सुतेको याद छैन। यस अवधिमा जनमुक्ति सेनाले सारा नेपाललाई कब्जामा लिइसकेको थियो। र, राणा शासनलाई घुँडा टेकाइछाडेको थियो। श्यामकुमारलाई याद छ– लडाइँमा महिला, केटाकेटीले पनि जनमुक्ति सेनालाई सहयोग गरेको थियो। ‘जनता एकजुट भएपछि शासकको केही लाग्दो रहेनछ भन्ने उदाहरण थियो त्यो लडाइँ,’ २००७ सालको क्रान्ति सम्झन्छन्।
सेनामाथि महेन्द्रको राजनीति
गौचरनमा ओर्लिएपछि राजपरिवारलाई नारायणहिटी दरबार पुर्याएर जनमुक्ति सेनाको टोली त्रिभुवन मल्लको घर कमलपोखरीमा बस्यो। दुईतले घर, जहाँ माथिल्लो तलामा बसे बीपीसहित नेताहरू। र, तल्लो तलामा बसे जनमुक्ति सेनाका कमान्डरहरू। त्यो रात अबेरसम्म जनमुक्ति सेनालाई अब के गर्ने भन्ने विषयमा छलफल भयो।
अंग्रेजलाई लखेट्दा भारतमा प्रयोग भएका मुक्ति सेनालाई झैं जनमुक्तिलाई पनि खारेज गर्नुपर्छ भन्ने प्रस्ताव बीपीले ल्याए। रसिया र चीनमा जस्तै स्वतन्त्रताका लागि लडेको सेनालाई नै प्रमुख बनाउनुपर्छ भन्ने प्रस्ताव कमान्डरहरूले ल्याए। नेता र कमान्डरबीच यही कुरामा विवाद भयो। र, अन्त्यमा रक्षा दल गठन गर्ने सहमति भयो। रक्षा दलमा पनि कप्तान भए श्यामकुमार।
‘क्रान्ति सकिएपछि पनि जनमुक्ति सेनाले धेरै उतारचढाव व्यहोर्यो, राजनीतिक चपेटामा पनि पर्यो,’ क्रान्तिपछि रक्षा दलमा परिणत भएको जनमुक्ति सेनामाथिको राजनीति प्रत्यक्ष रूपमा नियाल्नेमध्येका एक थिए श्यामकुमार।
‘२०११ सालमा राजा त्रिभुवनको निधन भएपछि नयाँ राजा महेन्द्रका अगाडि रक्षा दल, राष्ट्रिय सेना र नेपाली कांग्रेसगरी तीनवटा शक्ति थिए। क्रान्ति गरेर आएको प्रजातान्त्रिक शक्ति कांग्रेस राजालाई शक्ति सम्पन्न भएको रुचाउँदैनथ्यो,’ श्यामकुमार सम्झन्छन्, ‘त्यसपछि महेन्द्रले आफ्नो शक्ति बढाउन राष्ट्रिय सेनालाई पुनर्जीवन दिने कार्यमा लागे भने अर्कोतर्फ कांग्रेसलाई कमजोर पार्न रक्षा दललाई पनि कमजोर पार्ने काममा लागे।’
फलस्वरूपः महेन्द्रले रक्षा दललाई प्रहरी बनाए। प्रहरीको पहिलो आईजीपी भए जनमुक्ति सेनाकै कमान्डर जीबी याक्थुम्बा। श्यामकुमार भए डीएसपी। उनी आईजीपी याक्थुम्बा निकट रहेर काम गर्थे। त्यसैले आफूहरूमाथि आइलागेको अफ्ठ्यारा बुझ्न पाए उनले।
आफ्नो संगठनमाथि महेन्द्रबाट हुने सम्भावित प्रहारको आभास पाएर प्रहरीका प्रथम आईजीपी जीबी याक्थुम्बाले आफ्नो परिवारलाई सुरक्षित घर पुर्याउनु भनेर श्यामकुमारलाई आदेश दिए।
केही समयमै राजा महेन्द्रले याक्थुम्बालाई हटाएर गोपालशमशेर राणालाई आईजीपी बनाए। केही वर्षमै महेन्द्रले राणालाई पनि आईजीपीबाट अवकाश दिए। त्यसपछि दरबार जनमुक्ति सेनाका रचनाकार पूर्णसिंह ठाकुरलाई आईजीपी बनाइयो।
‘प्रहरीमा विभिन्न मानिसलाई आईजीपी बनाइदा संगठनमा एक किसिमको अन्योलता त्यतिबेलै उत्पन्न भइसकेको थियो’ श्यामकुमारलाई लाग्छ, ‘त्यो समय प्रहरीमा विकृति प्रवेशको सुरुआत थियो, त्यतिबेला भित्रिएको विकृति अहिलेसम्म हट्न सकेको छैन।’
०००
जनमुक्ति सेनाले देशभर कब्जा गरेपछि तत्कालीन राणा प्रधानमन्त्री मोहनशमशेरले घुँडा टेकेर एकतर्फी युद्धविरामको घोषणा गरे। भारतमा निर्वासित जीवन बिताइरहेका राजा त्रिभुवन, नेताहरूसँगै जनमुक्ति सेनाका कमान्डर काठमाडौं ओर्लिए। र, नयाँ नेपालको नक्सा कोरे।
‘तपाईंहरूको नाम इतिहासका सुनौला अक्षरमा लेखिनेछ,’ काठमाडौं ओर्लिएपछि राजा त्रिभुवनको यो भनाइ अहिले पनि श्यामकुमार सम्झिरहन्छन्। राजाको उक्त भनाइ सम्झिनेबित्तिकै उनलाई आफ्ना ३० जना सहयोद्धाको यादले साह्रै पिरोल्छ, जसले राणाविरुद्धको क्रान्तिमा सहादत प्राप्त गरेका थिए।
‘क्रान्ति सफल भएको ७० वर्ष पुग्न लागिसक्यो। तर, अहिलेसम्म सरकारले ती ३० जना साथीलाई सहिद घोषणा गरेन,’ उनको गुनासो छ, ‘सवारी दुर्घटनामा परेकाहरू पनि सहिद भए तर नेपाललाई राणाहरूका पञ्जाबाट खोस्दाखोस्दै मर्नेहरू सहिद भएनन्।’