अधुरो संस्मरण
‘ती अधुरा संस्मरणहरू’ पुस्तक ‘द अनफिनिस्द मेमोरी’ को नेपाली अनुवाद हो। शेख मुजिवुर रहमानको यो पुस्तकको अनुवाद अर्जुनबहादुर थापा र महेश पौड्यालले गरेका छन्। रहमान बंगलादेशका ‘राष्ट्रपिताको रूपमा आज पुजित एवं सम्मानित छन्। उनले आफ्नो दैनिकी (डायरी) को रूपमा यसलाई लिपिबद्ध गरेका छन्।
प्रारम्भमा उनको कथन छ, ‘एउटा मानवको नाताले मानव जातिसँग सरोकार राख्ने कुराहरूमा म पनि सरोकार राख्छु। एउटा बंगलीका हैसियतले म बंगालीहरू त्यो सरोकार राख्ने सबै कुराहरूमा गहन रूपमा सरोकार राख्छु। प्रेम र सहनीशलताबाट निःसृत पोषित सुदृढ मान्यताबाट नै मैले राजनीति गरेको हुँ र जीवनको सही अर्थ प्राप्त गरेको छु।’
यसै अर्थ र सिद्धान्तबाट प्रेरित एवं प्रभावित भएर उनले राजनीति प्रारम्भ गरेका थिए। उनको राजनैतिक संरचनामा नैतिकताको गहिरो पुट पाइन्छ, जुन आज शून्य प्रायः भेटिन्छ। नोबेल पुरस्कार विजेता अमत्र्य सेनको पनि निष्कर्ष छ, आजको राजनीतिमा नैतिकताको सर्वथा अभाव छ।
भारतका पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरू र नेपालका पूर्वप्रधानमन्त्री बीपी कोइरालाले पनि जेल डायरी लेखेर प्रसिद्ध भएका छन्। खासमा ‘ती अधुरा संस्मरणहरू’ कृति शेख मुजिवर रहमानको जेल डायरी हो। तर, यसमा उनको बाल्यकालदेखि विद्यार्थी कालसम्मको संस्मरणको विस्तृत रूपमा वर्णन छ।
कमजोर मुटु भए पनि विद्यार्थी छँदा खेलकुदमा पनि उनको विशेष रुचि थियो। विद्यार्थीकालमै नै उनले राजनीतिमा विशेष रुचि लिन थालेका थिए (पृ. १६)। उनको बुवा पनि उनलाई समयसमयमा हौसला दिँदै भन्ने गर्थे, ‘तिमी आफ्नो उद्देश्यमा लगनशील र इमानदार छौं भने तिमीले जिन्दगीमा कहिल्यै हार्नु पर्दैन (पृ. २५)।
उनले बंगालीहरूको बारेमा र बंगाल भाषाको बारेमा विचार दिएका छन्, ‘सबै भाषाहरूमा ईष्र्या र दुर्भाव भने शब्दहरू हुन्छन् र संसारभरिका मानिसमा यस्ता गुणहरू हुन्छन् तर बंगालीहरू मात्र अर्काका प्रगतिमा आफ्ना दाजुभाइहरूले राम्रो गरेकोमा पनि खुसी हुँदैनन्। त्यसैकारण थुप्रै राम्रा गुणहरूबाट सम्पन्न हुँदाहुँदै पनि बंगालीहरू युगौंदेखि अरू जातिबाट शोषित हुन पुगेका छन् (पृ. ५९)।
उनले उर्दुलाई राज्य भाषा बनाउने विरुद्ध विरोध सञ्चालन गर्न गठिन कारबाही समितिका सक्रिय सदस्यको नाताले बंगालीलाई राज्य भाषा बनाउने आन्दोलनको अगुवाइ गरेका थिए। यो आन्दोलन ढाकामा मात्र सीमित थिएन, फरिदपुर, जेसारेका सयौं विद्यार्थी पनि जेल गएका थिए। यसको समर्थनमा राजशाही खुल्ना, दिनाजपुर र अन्य केही जिल्लाहरूमा पनि आन्दोलन भए।
पूर्वी पाकिस्तानका मुस्लिम विद्यार्थी यो आन्दोलनलाई तुहाउन धेरै प्रयास गरेका थिए। तर जनता बंगालीलाई राज्यको भाषा बनाउन दृढ थिए। सरकारी कर्मचारीहरूले पनि विशेष रूपमा यस आन्दोलनलाई दिलोज्यानले समर्थन गरेका थिए। भाषा आन्दोलनको क्रममा मौलाना मोसानीले समर्थन गरेका थिए।
थुनामा पर्दाको उनको अनुभव धेरै पीडादायक भयो। अवामी मुस्लिम लिग गठन भएको केही दिनपछि बहाउदिन र उनलाई रिहा गर्ने घोषणा गरेपछि उनलाई केही राहतको अनुभूति भयो। उनको प्रजातन्त्रमा पूर्ण विश्वास थियो।
एउटा प्रजातन्त्रिक देशमा थुप्रै पार्टीहरू हुन सक्छन्, यदि कानुन मान्ने हो भने यो स्वाभाविक पनि हो तर लियाकत अली खान पाकिस्तानमा आफ्नो राजनीति पार्टीबाहेक कुनै पनि पार्टीको अस्तित्व स्वीकारेनन्। शेख मुजिवुर रहमानले आफ्नी श्रीमती रेणुलाई स्पष्ट भनेका थिए, ‘धेरै लामो समयसम्म तिमीले कुनै किसिमको आर्थिक सहायताको अपेक्षा नगर।’
अवामी लिगका धेरै सदस्यहरूले डरको कारण धमाधम राजीनामा दिँदै थिए। ढाकाको कारागारमा उनलाई धेरै यातना दिइएको थियो। रहमानसँग भेट्न आउने शुभचिन्तकहरूको लर्को जेलका पदाधिकारीहरूलाई मन पर्दैन थियो। उनले उल्लेख गरेका छन्, लियाकत अलि खान पाकिस्तानका प्रधानमन्त्री र नुरुल अमिन पूर्वी पाकिस्तानका प्रधानमन्त्री थिए। यिनीहरूको शासनमा जस्तो राजबन्दीहरूलाई सताउने र यातना दिने कार्य देशको इतिहासको कुनै पनि समयमा भएको नजिर थिएन।
उनले जेल जीवन बिताउँदा धेरै पटक बिरामी भएको कुरा पनि उल्लेख गरेका छन्। जेलमा अनशनको कारण मुटुको अवस्था पनि नाजुक भएको थियो। यति मात्र होइन, ढाकामा भएको गोली काण्डले पनि उनलाई विचलित गराएको थियो। त्यो घटनाले विह्वल उनी आफ्नो बुबा भेट्न आउँदा कारागारको गेटसम्म पनि जान सकेनन्। पुस्तकको नाम नै ‘ती अधुरा संस्मरणहरू’ भएकाले पनि यो संस्मरण अधुरो नै रहेको छ।