रोल्पाको माटो रातो छ
‘रोल्पाको माटो कोट्याएर हेर त्यो एकदम रातो छ,’ पत्रकार देविका घर्तीमगरको यो सांकेतिक अभिव्यक्ति पोबाङ सुनछहारी गाउँपालिकाको भवनभित्र गुञ्जिएलगत्तै हाम्रो शरीरभरि बुरुरु काँडा उम्रियो। मस्तिष्कले एक किसिमको झन्झनाहट खेप्यो। त्यो एउटै हरफ काफी थियो, लगभग इतिहास बनिसकेको दसवर्षे जनयुद्धलाई हाम्रो मस्तिष्कमा ब्युँत्याउन।
हामी त्यही पृष्ठभूमिलाई टेकेर उभिएका थियौं, सुनछहरी कला साहित्यले आयोजना गरेको साहित्यिक कार्यकमको रोल्पादेखि रोल्पासम्म विषय बहसमा। तात्तिएका थियौं वर्तमान कविताको अवस्थाबारे चलेको बहसको सेसनमा।
सेसन बाहिर
हरियो कुर्था सलवार, हरियो र कालो रङको धागोबाट बुनिएको झोला भिरेकी अन्दाजी १८ वर्षकी युवती अघिदेखि मोबाइलमा व्यस्त थिइन्। उनी कसैलाई फोन सम्पर्क गर्ने कोसिसमा थिइन्। तर पोबाङमा नेटवर्क भनेको ठाउँमा सित्तिमित्ति नलाग्दो रहेछ।
त्यसैले उनी पटकपटक मोबाइलको किप्याडमा नम्बर थिच्नमा व्यस्त थिइन्। सायद उनी आफ्नो भूगोलभन्दा बाहिर पुगेकोे आफ्नो मान्छेसँग मनका उद्वेगहरू पोखाउन आतुर थिइन्। तर फोन सम्पर्क हुन नसक्दा निराश देखिइन्।
पुँजीवादले गरेको पारिवारिक विभाजनको चंगुलमा लाखौं परिवार परेको छ भने रोल्पा पोबाङ मात्र कसरी यो मेलोबाट उछिट्टिन सक्थ्यो ? दसवर्षे जनयुद्धपछि रोल्पामा पनि परिवर्तन आएको छ। गाउँगाउँमा कच्ची सडक पुगेको छ। प्रायः सबैको हात हातमा एन्ड्रोइड मोबाइल छ। जनयुद्धको छर्राले जर्जर हृदयका युवाहरू अहिले खाडी मुलुकहरूमा आफ्नो जीवनको अर्को राजमार्ग खोजिरहेका छन्।
उनीहरूकै पसिनासँग विनिमय गरिएका ती साधनहरूले नै अहिले देश वारि र पारि विभाजित आँखाहरूलाई भिडियो कलमार्फत ओसिलो बनाइरहेको छ। भाइबर, इमो, वाट्सअपले आफन्तको भत्किएको आवाजलाई लय दिएको छ। यद्यपि पहिले कालापत्थर, मुस्ताङलगायतका जिल्लाहरूमा बाटो खन्न जानेहरू अहिले पनि दैनिक १५ सयका लागि ज्यान हत्केलामा राखिरहेकै छन्।
यसरी युवाहरू विभाजित छन् रोजगारीको नाउँमा, भविष्यको नाउँमा अनि विभाजित छन् समृद्धिको नाउँमा। पोबाङका पुरुषहरू रोजगारीको सिलसिलामा गाउँ छाडेर हिँड्नुपरेको कथा हिजो थियो, आज छ, सम्भवतः भोलि पनि रहनेछ।
फेरि पनि रोल्पाले केही परिवर्तन त भोगेको छ। हिजो जनयुद्ध अगाडि रोल्पाका ८० प्रतिशत युवाहरू कालापार जान्थे। शिक्षाको घाम उनीहरूको डडाँल्नोमा लागेकै थिएन। जेलवाङ खिवाङका असी घरमध्ये लगभग ५० घरबाट कोही न कोही भूमिगत थिए। जनयुद्धअघि जम्मा दुई जनाले एसएलसी गरेका थिए। तर अहिले त्यही ठाउँका ४५ घरभन्दा बढी घरका केटाकेटीहरू उच्च शिक्षा लिने क्रममा छन्।
उनीहरू आफ्नै माटोमा आत्मनिर्भरताको बाटो पहिल्याइरहेका छन्। हिजो आफ्नो धर्म, संस्कृति र भाषामाथि राज्यले गरेको दमनविरुद्ध आवाज उठाउन थालेका छन्। आफ्नो अस्तित्व र पहिचानको खोजीमा युवाहरू जागरुक हुन थालेका छन्। कवि विष्णु सन्न्यास भन्छन्, ‘चाहे दलित होस् या जनजाति, अल्पसंख्यक समुदायमाथिको थिचोमिचो र अन्यायपूर्ण इतिहास सच्याउन अहिलेका युवाहरू आफ्ना आवाजलाई बुलन्द पारिरहेका छन्।
यदि जनयुद्ध नभइदिएको भए यो चेतना हाम्रो मस्तिष्कमा प्रवाह हुन अझ ५० वर्ष लाग्थ्यो होला।’ यद्यपि रोल्पाले जति गुमायो, त्यसको तुलनामा कम उपलब्धि हात पारेको उनको कथन छ। कारण भ्रमको खेती गरेर सत्तामा आसीन आफन्तका जस्ता अनुहार बोकेर आउनेहरूको स्वार्थी भएका छन्।
र महिलाहरू ?
नाम ? जाईकुमारी विक।
घर ?
ठानबाङ।
अहिले के कति कामले यता आउनुभो ?
गाउँपालिकामा रकम निकासाको लागि।
अनि श्रीमान् ?
मुस्ताङमा बाटो खन्न।
जाईकुमारी विक आफ्नो गाउँमा खानेपानीको पाइप हाल्न छुट्टिएको बजेट निकासाको लागि सुनछहरी गाउँपालिकाको कार्यालयमा अघिल्लो दिनदेखि धाइराखेकी थिइन्। उनी ठानबाङ खानेपानी समितिको उपाध्यक्ष हुन्। नेपालमा रोजगारीको भुमरीले युवाहरूलाई रुवा बनाएर दूरदराजमा उडाएर लगेपछिका दिनहरूमा गाउँमा सामाजिक कार्यका लागि महिलाहरू चट्टानजस्तै छन्। बाध्यतावश भए पनि महिलाहरू अगुवाको रूपमा देखिनु यो पनि एउटा कारक तत्व हो।
देशले जनयुद्धदेखि जनआन्दोलन भोग्यो। संविधानसभाको चुनावदेखि स्थानीय सरकारको चुनाव सम्पन्न भइसक्यो। अहिले संविधान कार्यान्वयनको बाटोमा सरकार लागिरहेको छ। तर जाईकुमारीको श्रीमान् विगत २० वर्षदेखि लगातार मुस्ताङमा बाटो खन्न जान्छन्। उनको जीवनमा कुनै परिवर्तन आएको छैन।
उनको जीवनमा आएको परिवर्तन भनेकै पहिला श्रीमान्को खबर थाहा पाउन सुलिचौर पुग्नुपथ्र्यो। श्रीमान्ले मुस्ताङबाट पठाएको पत्र त्यहीं आउँथ्यो। अहिले हातमा मोबाइल छ। साँझ बिहान जतिखेर चाह्यो, श्रीमान् श्रीमती दुखम् सुखम्का बात मार्न सक्छन्। अहिलेलाई उनीहरूको लागि विकास भनेको यही फोन हो।
जाईकुमारी जसरी नै केही दिनदेखि लगातार पोबाङ धाइरहेकी अर्की युवती थिइन् सुरक्षा रानामगर। दाङमा कक्षा १२ मा अध्ययनरत मगर कृषि समूहको कोषाध्यक्ष हुन्। उनी गाउँमा तरकारी खेतीको लागि विनियोजित रकम दुई लाखको निमित्त गाउँपालिका आएकी थिइन्। गाउँघरमा सामाजिक कार्यमा लाग्न महिलालाई कठिन त छँदैछ, त्यसमाथि अध्ययन, बसाइको र गाउँको भौगोलिक दूरीका कारण समय व्यवस्थापनमा समस्या छ।
यद्यपि यतिको पढेको मान्छेले समूहको नेतृत्व नलिए कसरी गाउँमा विकास हुन्छ ? सामाजिक कार्यमा उनको रुचि अन्तस्करणदेखिको नभएको बताउँदै गर्दा उनमा नजानिँदो तवरले नेतृत्व क्षमता विकास भने भइरहेको थियो। यसरी पुरुषहरू पलायन हुनुले महिलाहरू सामाजिक अगुवाको भूमिकामा प्रष्ट देखिन थालेको छ पोबाङमा। वास्तवमा बाध्यतावश भए पनि अहिले रोल्पाका महिलाहरूको पोल्टामा सामाजिक नेतृत्वको भूमिका परेको छ। यो सकारात्मक पाटो हो।
रोल्पालीका अनुहारहरूमा असन्तुष्टिका लहरहरू देख्न सकिन्छ। आँखामा अझै व्यग्रता देख्न सकिन्छ, परिवर्तनको भोकको।
सुनछहरी गाउँपालिका पोबाङको कार्यालय नजिकै सानो बजार जस्तो बस्ती छ। दुई तीन होटल, एउटा रेडक्रसको कार्यालय, एउटा स्टेसनरी पसल र केही अर्ध सहरिया घरहरू।
स्टेसनरीको भित्तामा लेखिएको थियो, ‘यहाँ कम्प्युटर तालिम, रिचार्ज कार्ड, स्टेसनरी सामानलगायतका सम्पूर्ण सामग्री उपलब्ध छ।’ त्यसको केही परतिर अर्को भित्तामा लेखिएको थियो ‘निःशुल्क सुरक्षित गर्भपतन सेवा यहाँ उपलब्ध छ।’
२०५९ असोज १० मा भएको मुलुकी ऐनको ११ औं संशोधनले नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिएको हो। यही ऐनलाई टेकेर अहिले मुलुकभर सो सेवा पु¥याउने क्रममा पोबाङमा पनि सेवाप्रदत्त संस्था खुल्नुले समयको फड्कोलाई स्पष्ट पारेको छ। हाडनाता करणी, बलात्कार एवं अनिच्छित गर्भ त्यागलाई केन्द्रमा राखेर खुलेको संस्थाले पीडितको मञ्जुरीमा १२ हप्तादेखि १८ हप्तासम्ममा सुरक्षित गर्भपतन गराउने प्रावधान छ। उक्त साइनबोर्डले पोबाङका महिलाहरूमाथि पर्ने भवितव्य (विविध कारणवश रहन गएको अनिच्छित गर्भ) लाई केही हदसम्म भए पनि व्यवस्थापन गर्नेछ भन्ने लाग्यो।
सेसनभित्र
‘रोल्पादेखि रोल्पा सम्म’को बहसमा थिए लेखक नवीन विभास, पत्रकार खेम बुढामगर र सुनछहरी गाउँपालिकाको अध्यक्ष आशबहादुर पुन ‘रक्तिम’। कार्यक्रम सहजीकरण गर्दैथिए नवीन लोचन मगर। त्यस्तै ‘आजको नेपाली कविता’ माथिको बहसमा थिए, निबन्धकार दीपक सापकोटा, कवि स्वप्निल स्मृति, पत्रकार रमन पौडेल र यो पंक्तिकार। साहित्यमा रोल्पा बिम्बको रूपमा स्थापित भएको दुई दशक भइसक्यो।
जनयुद्धको आधारभूमि रहेको रोल्पाकै माटोमा उभिएर गरिएको सो बहसले समग्रमा साहित्यले रोल्पामाथि न्याय गर्न नसकेको ठम्याइरहेको थियो। जसले युद्ध भोगे, महसुस गरे तिनीहरूको पक्षमा साहित्य कम लेखिएको र लेखिएको भए पनि त्यसले गहिराइ छुन नसकेको कुरा उठ्यो। यी कुरा गरिहरहँदा युद्धमा एउटा आँखा गुमाएका सुनछहरी गाउँपालिकाको अध्यक्ष आशबहादुर पुन रक्तिमको गला अवरुद्ध भयो। पत्रकार डीबी टुहुरेबाट प्रस्तुत कार्यपत्रअनुसार जनयुद्धमा रोल्पामा नौ सय ६९ जनाले ज्यान गुमाएका थिए।
त्यसमा जेलबाङबाट मात्रै ७३ जना परेका थिए भने राज्यपक्षका ६३ र विद्रोही पक्षका १० जनाले सहादत प्राप्त गरेका थिए। ३३ जना बेपत्ता भएका थिए, यसले ८६ जना बालबालिका टुहुरा र तीन सय २३ जना विधवा हुनु परेको तीतो तथ्य कार्यपत्रमा आयो। प्रस्तुति सुनिरहँदा हलभित्र र बाहिर कार्यक्रमलाई निकै सुरुचिपूर्ण रूपमा ग्रहण गरिरहेका रोल्पावासीहरूको अनुहार मलिन देखियो। सम्भवतः त्यहाँ उपस्थित दर्शक प्रत्यक्ष अप्रत्यक्ष कुनै न कुनै रूपमा जनयुद्धबाट प्रभावित हृदयका थिए।
क्रान्तिको बिम्ब बनेको रोल्पाका किशोरकिशोरीहरू भने विगतका त्रासदीबाट मुक्त छन्। उनीहरूमा इतिहासको त्यो कालखण्डबारे उति रुचि देखिएन। पत्रकार खेम बुढा भन्छन्, ‘अहिले ६५ हजार किशोरकिशोरी छन् रोल्पामा तर उनीहरूको अभिभावकले नै जनयुद्धप्रति गौरवबोध गर्न सकेका छैनन्। त्यसैले उनीहरू आफ्ना छोराछोरी पुस्तालाई विगतबारे बताएर पीडा बल्झाउन चाहँदैनन्।
अहिलेका केटाकेटीहरूलाई यति थाहा छ कि त्यतिखेर मान्छेहरू मारामार गर्थे तर यो थाहा छैन कि किन त्यसो गरियो ? ’ इतिहासको बाटोमा सधैं किनाराकृत भइरहेको रोल्पामा अपेक्षाकृत ठूलो उथलपुथल त केही भएन। तर हुँदै गरेको ससाना परिवर्तन पनि पुरानै धारमा बहनुले रोल्पालीहरू दुखेका छन्। मदिरा यहाँ छ्यालब्याल छ। सुनछहरी कला साहित्यका अध्यक्ष महेश मानव मगर आफ्नो मत राखे, ‘हिजो जनयुद्धको बेलामा गरिएको वालविवाह र मद्यपान सेवन निस्तेज कार्य पुनः बल्झिनुका मुख्य कारण राजनीतिक अग्रपंक्तिका नेताहरूमा देखिएको सांस्कृतिक र वैचारिक विचलन हो।’
वास्तवमै हिजो कलम समाउने हातहरूले बन्दुक बोकेर कहाँसम्मको यात्रा तय गर्यो ? कसरी उनीहरूलाई देखाइएको सपनाहरूको हत्या भयो ? ४४ प्रतिशत सोझा मगरहरूको भावनाको विनिमय आज कसरी सत्तासँग गरिएको छ ? सब सबबाट बेखबर छन् अहिलेका युवाहरू। अभिभावकहरू बिर्सन चाहन्छन् ती त्रासदीका दिनहरू।। आज उपरान्त रोजीरोटीकै लागि संघर्ष चलिरहेको छ। जसको लागि रोल्पा त के पूरै देशमै अनुकूल वातावरण बन्न सकेको छैन। खै कहाँ छ जनयुद्धको सार्थकता ?
अबको बाटो
‘अहिले यो देशको राजा को हो ? ’
‘उम्, बिर्सिएँ।’ केहीबेर घोत्लिएर उनले यसरी बताए कि मानौं देशमा राजा छ तर अहिलेलाई नाम बिर्सिए।
प्रश्नकर्ता थिए, पत्रकार रामचन्द्र श्रेष्ठ र उत्तर दिएको थियो पोबाङका एक किशोरले। पोबाङकै एक चिया पसलमा ती किशोर सामसुङ नोड थ्रीमा इन्टरनेट चलाउँदै गरेको अवस्थामा भेटिएका थिए। कक्षा ८ मा अध्ययनरत ती किशोरलाई हाम्रो देशमा अहिले राजा नै छैन भन्ने समेत थाहा थिएन। उसले टाउको उठाएर देश गणतन्त्रमा गइसक्यो र यसमा रोल्पाको महत्वपूर्ण देन छ भन्न नसक्नुमा राजनीतिक पंक्तिका नेता कार्यकर्ताहरूको कमजोरी रहेको अनुभव गरियो।
रोल्पा र जनयुद्ध एक अर्काको पर्याय बनिसकेको छ। रोल्पा आफैंमा एक बिम्बको रूपमा स्थापित भइसकेको छ। अब यस्तो नहोस् कि त्यो बिम्ब भत्किएर जाओस्। जुन भूमिबाट जनयुद्धको पृष्ठभूमि तयार भयो, त्यही भूमिको नयाँ पुस्ता विगतमा आफ्नो अभिभावकहरूले गरेको योगदानबाट बेखबर छ भन्ने उदाहरण हो यो। अब कम्तीमा पनि त्यहाँको सरकारले आफ्ना जनतालाई देशमा भएको ठूला राजनैतिक परिवर्तनबारे चेतना प्रवाह गर्न सक्नुपर्छ।
जेनेरेसन ग्यापमा आफ्ना अभिभावकले हिजो परिवर्तनका खातिर गरेको विद्रोहप्रति गर्व गर्न सक्ने वातावरण बनाउनुपर्छ, न कि त्यसबाट अनभिज्ञ। विकास भनेको बाटो, फोन र पसल विस्तार हुनु मात्र हो भन्ने मानसिकताबाट माथि उठेर मानिसको चेतनास्तर उकास्न रोल्पा पछाडि परिरहेको सत्यलाई अब आत्मसात् गर्नुपर्छ। समग्रमा रोल्पालीका अनुहारहरूमा असन्तुष्टिका लहरहरू देख्न सकिन्छ। आँखामा अझै व्यग्रता देख्न सकिन्छ, परिवर्तनको भोकको।