चुनाव चिह्‍न रुखमा पानी हालेर सुरु भयो कांग्रेसको महासमिति बैठक

चुनाव चिह्‍न रुखमा पानी हालेर सुरु भयो कांग्रेसको महासमिति बैठक

काठमाडौं : सङ्घीय संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको महासमिति बैठक सुरु भएको छ। सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा आयोजित भव्य समारोहमा पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसको चुनाव चिन्ह रुखमा जल सेचन तथा दीप प्रज्वलन गरेर बैठकको शुभारम्भ गरेका हुन्। 

सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाइएको महासमिति बैठकमा एक हजार ६०० भन्दा बढी प्रतिनिधिको सहभागिता छ। 

उद्घाटन मञ्चको अग्रभागमा स्वर्गीय नेताहरु बीपी कोइराला, सुवर्णशम्शेर जबरा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको तस्वीर राखिएको छ। 

‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो भविष्य’ नारा रहेको महासमिति बैठक आगामी पुस ३ गतेसम्म चल्नेछ। मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको काङ्ग्रेसले राष्ट्रियता, लोकतन्त्र, समाजवादलाई आदर्शका रुपमा अघि सार्दै आएको छ। काङ्ग्रेसको यो महासमिति बैठकलाई अन्य राजनीतिक दलले पनि निकै चासोका साथ हेरिरहेका छन्। 

बैठकमा सबै निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनित महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक सहभागी छन्। 

मञ्चको अग्रभागमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, कुलबहादुर गुरुङ, नरहरि आचार्य, सुजाता कोइरालालगायतका नेता रहेका छन्। 

बैठकको प्रवेशद्वार अगाडि नेपाली काङ्ग्रेसको स्थापनाकालदेखि हालसम्मका महत्वपूर्ण घटनाक्रमसँग सम्बन्धित नेताहरुको तस्वीर अवलोकनका लागि राखिएको छ। बैठक उद्घाटनस्थल वरपर काङ्ग्रेसका झण्डा र आदर्श नारा लेखिएका फ्लेक्स टाँगिएका छन्। उद्घाटनलगत्तै सुरु हुने बन्दसत्रमा विभिन्न पाँच विषयका दस्तावेज पेश हुनेछन्। 

बैठकमा उपसभापति निधिले राजनीतिक, महामन्त्री डा. कोइरालाले साङ्गठनिक, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा. प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश गर्नेछन्। 

विधान मस्यौदाबाहेक सबै प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित पारित गरिसकेको छ भने विधान मस्यौदामा पदाधिकारी सङ्ख्या र पदाधिकारीको निर्वाचनबारे बहस जारी छ। 

पुस १, २ र ३ गते बिहान ८ देखि बेलुकी ५ बजेसम्म बन्दसत्र चल्नेछ। बैठक स्थलबाट नेपाल टेलिभिजनलगायतका सञ्चार माध्यमले प्रत्यक्ष प्रशारण गरिएका छन्। २०७२ सालमा सम्पन्न पार्टीको १३ औँ महाधिवेशनपछि हुन लागेको यो पहिलो महासमिति बैठक हो। 

पार्टीको महाधिवेशनपछिको सर्वोच्च निकाय महासमिति बैठक भएकाले यसले पार्टीको नीतिगत सुधार र पार्टीलाई नयाँ ऊर्जावान् बनाउने काङ्ग्रेसजनको अपेक्षा छ। बैठकस्थल वरपर काङग्रेसका शुभेच्छुक र कार्यकर्ताको ठूलो सङ्ख्यामा उपस्थिति छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.