नेकपामा दरार : कर्णाली प्रदेशमा समानान्तर कमिटी गठनकाे तयारी

नेकपामा दरार : कर्णाली प्रदेशमा समानान्तर कमिटी गठनकाे तयारी

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देशभर आफ्ना प्रदेश कमिटी गठन गरिसक्दा नसक्दै दुर्गम क्षेत्र मानिने कर्णालीबाटै विद्रोह सुरु भएको छ ।

पूर्वमाओवादी र पूर्वएमालेका एक सयको हाराहारीमा असन्तुष्ट नेताहरु समानान्तर कमिटीको तयारीमा छन् । यसका लागि कर्णाली प्रदेशका १० वटै जिल्लाका नेताहरु पटक पटक बैठकमा केन्द्रित छन् । ‘हामी प्रदेश कमिटी गठनको अन्तिम तयारीमा छौँ,’ समानान्तर कमिटीको तयारी गरिरहेका नेता प्रकास रोकायाले बताए, ‘हाम्रो योगदान र संघर्षको कुनै कदर भएन ।’

कमिटी गठनको क्रममा केही नेताहरुले व्यक्तिगत रुपमा मनोमानी गरेको उनीहरुको आरोप छ । नेता रोकायाका अनुसार पूर्वमाओवादीभित्र कस्तालाई कमिटीमा राख्ने ? त्यसको आधार के हुने ? लगायत विषयमा छलफल र तयारी नै भएन ।

निशानामा जनार्दन शर्मा
असन्तुष्ट अधिकांश नेताहरुको निशानामा छन् नेता जनार्दन शर्मा । उनी नेकपाको कर्णाली प्रदेश ईन्चार्ज पनि हुन् । नयाँ कमिटीमा नपर्नेहरुको निशानामा उनी किन पनि छन् भने जनार्दन एक्लैले रुकुम जिल्लाबाट मात्रै २४ जनालाई प्रदेश कमिटीमा पार्न सफल भए । यसमा उनको लगभग एकलौटी निर्णय भएको नेताहरुको गुनासो छ ।

नेता राेकाया भन्छन्, 'शर्माले आफ्ना सबै सदस्यलाई नयाँ कमिटीमा अटाउन नसके पनि छलफल गरेर सम्झाउन सक्थे । उनले त त्यसो पनि गरेनन् । रुकुमबाट २४ जना नेता प्रदेश कमिटीमा पर्नुमा जनार्दनजीको हात छ । समायोजनमा जिल्ला अनुसार अनुपात मिलाउनुपर्नेमा उहाँले त कसैको कुरा सुन्नुभएन ।’

पूर्वमाओवादीहरु प्रदेश कमिटी गठन गर्नुअघि नै शर्मासँग पटक पटक छलफलका लागि भेट्न गएका थिए । तर उनले ‘पेलेरै’कमिटी बनाएको धेरै गुनासो गर्छन् । असन्तुष्टमध्ये एक नेता भन्छन्, ‘थुप्रै पुराना वामपन्थी नेतालाई उहाँले युद्ध नलडेको भन्दै बाइपास गर्नुभयो ।’

शक्तिले पनि के कम !
अर्का नेता शक्ति बस्नेत पनि यस्तो अवस्था ल्याउनुमा जिम्मेवार मानिन्छन् । संघको मन्त्री भए पनि बस्नेतले थप समस्या निम्त्याउन खोजेको असन्तुष्ट नेताहरु बताउँछन् ।

जब कि, बस्नेतको गृहजिल्ला जाजरकोटबाट मात्रै १९ जना सदस्य प्रदेश कमिटीमा अटाएका छन् । उनीहरु अधिका‌ंश बस्नेत निकट नै हुन् । उनी प्रत्यक्ष रुपमा यहाँकाे पार्टी राजनीतिमा सक्रिय नभए पनि निकटस्थहरुलाइ कमिटीमा अटाएरै छाेडेका छन् ।

मुख्यमन्त्री शाही निरीह
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाही कालिकोटका हुन् । तर उनकै जिल्लामा वर्षौँदेखि सक्रिय पूर्वमाओवादी नेताहरु पनि नयाँ कमिटीमा अटाएनन् । उनले केही पुराना नेतालाई कमिटीमा राख्न ‘लबी’ गर्नसक्थे ।

तर जनार्दन र शक्तिका निर्णयमा उनले प्रश्न नै गरेनन् । राज्य संचालनको जिम्मा लिएर मुख्यमन्त्री पदमा रहे पनि शाहीको निवासमा प्रदेश कमिटी गठन हुनुभन्दा केही साताअघि देखि नै कार्यकर्ताहरुको घुइँचो लाग्ने गरेको थियो ।

तर उनले आफ्नै सहयोद्धालाई समेत कमिटीमा राख्न कुनै पहल गरेनन् । कतिपय अवस्थामा त उनले ‘राज्यको जिम्मेवारीमा रहेकोले पार्टीभन्दा माथि रहेर राष्ट्रहितमा काम गर्नुपर्ने’ भन्दै आफ्नै जिल्लाका कार्यकर्ताको कुरा नसुनेको आरोप उनीमाथि छ ।

मापदण्ड मिलेन

'कुनै जिल्लाबाट २४ जना पर्ने कुनै जिल्लाबाट ३ जना ? यस्तो एकलौटी हामीलाई मान्य नभएरै नयाँ कमिटीको तयारीमा लागेका हौँ,’ राेकाया भन्छन् । कर्णालीका १० जिल्लामध्ये कुन जिल्लाका कति कार्यकर्तालाई कमिटीमा ल्याउने ? बाँकीलाई के जिम्मेवारी दिने भन्ने मापदण्ड नगराउँदा नै असन्तुष्टि सुरु भएको हो । यतिसम्म कि, शर्माको गृहजिल्ला रुकुमबाट मात्रै २४ जना सदस्य परेका छन् भने मुगुबाट ३ जना मात्रै ।

मुगु, हुम्ला, सुर्खेतका नेता–कार्यकर्तालाई पनि अपेक्षित रुपमा समेटिएको छैन । जाजरकोट र रुकुमबाटै ४२ जना पारिएको प्रदेश कमिटीमा कालिकोट, हुम्ला, मुगु, जुम्लाबाट जम्मा २६ जना अटाएका छन् । जवाफमा जनार्दनले समस्या सल्टाउनतिर ध्यान नदिएपछि असन्तुष्टहरु थप उत्तेजित भएका हुन् ।

पहिलो बैठकमै बबाल !
कर्णालीका केही प्रभावशाली नेताहरुको व्यक्तिगत इच्छाका कारण प्रदेश कमिटीको पहिलो बैठकमै नेताहरुबीच चर्काचर्की भयो । प्रदेश ईन्चार्ज जनार्दन शर्माले मनपरी गरेको भन्दै सहईन्चार्ज यमलाल कँडेल लगायत ५३ जना सदस्यहरुले पहिलो बैठक नै बहिस्कार गरे । ‘ईन्चार्ज शर्माले आफ्नै जिल्लाका कार्यकर्तालाई मात्रै समेटेर अरुलाई अवहेलना गरेको’ भन्दै उनीहरुले बहिस्कार गरेका थिए ।

को को छन् असन्तुष्ट समूहमा ?
असन्तुष्ट समूहको नेतृत्व गरिरहेका छन् पूर्वमाओवादीका पोलिटब्युरो सदस्य प्रकास रोकायाले । कालिकोटका उनलाई प्रदेश कमिटीमै नपारिएपछि उनी थप आक्रोशित बनेका हुन् ।

जुम्लाका डा. कलबहादुर रोकाया, सल्यानका रमेश मल्ल, सुर्खेतका गणेश भण्डारी, कालिकोटका कृष्णप्रसाद आचार्य, दैलेखका डम्बरबहादुर कार्की, मुगुका लालचन्द्र बिक, सल्यानका अर्जुन बुढाथोकी, हुम्लाका मानबहादुर थापा, सुर्खेतका कुलदीप भट्ट, महेन्द्र शर्मा र ओमदत्त भारती लगायत ९९ जनाको नयाँ समानान्तर कमिटीको तयारी भएको हो । पूर्वमाओवादी तथा पूर्वएमालेमा सक्रिय रहे पनि गुटबन्दीकै कारण आफूहरु नयाँ कमिटीमा नपरेको उनीहरुको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.