२४ औं महानगर दिवस : मेलम्ची आयोजनाप्रति मेयरको आक्रोश
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मेलम्ची खानेपानी आयोजनाको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका छन्।
उनले २४ औं महानगर दिवसलाई सम्बोधन गर्दै मेलम्चीले महानगरसँग समन्वय नगर्दा समस्या उत्पन्न भएको बताएका हुन्।
सडक विभागले महानगरपालिकाको समन्वयमा काम थाले पनि मेलम्चीले जथाभावी सडक भत्काउँदा धुलो नियन्त्रण गर्न कठिन भएको उनले बताए।
उनले भने, ‘हामी बाटो बनाउँर्दै जाने, मेलम्ची भत्काउँदै जाने। यो क्रम रोकिनु पर्यो। हामीसँग समन्वय हुनुप¥यो।’ उनले यो वर्षलाई पूर्वाधारको वर्षका रूपमा लिएको भन्दै विकासमा फड्को मार्ने दाबी गरे।
उनले संघीय सरकारसँग अनुरोध गरेर सिसडोलदेखि बन्चरेडाँडासम्म फोहोर फाल्न ल्यान्डफिल साइट बनाउने निर्णय भएको बताए। उनले भने, ‘सिसडोलसम्म दुई लेन बाटो कालोपत्रे गर्न टेन्डर भइसकेको छ। अब काम तीव्र गतिमा अघि बढ्छ। उनले बालाजुदेखि तीनपिप्लेसम्म बाटो बनाउने बताए।
महानगरपालिकाले समाचारबाट महानगरमा सुशासन कायम राखेको भन्दै अन्नपूर्णकर्मी छेटु शेर्पासहित विभिन्न सञ्चारमाध्यमका १० जना पत्रकारलाई पुरस्कृत गरेको थियो।
महानगरमै २५ वर्ष बिताएका ३ उत्कृष्ट कर्मचारी, ३ जना उत्कृष्ट करदाता, १ सय २० जना बाजा गुरु, पहिलो मेयर जगतमान श्रेष्ठ र उत्कृष्ट विद्यालयलाई सम्मानसँगै पुरस्कृत गरेको थियो।
महानगरपालिकाले आधुनिक विद्युतीय सवारीसाधन सञ्चालनको तयारी गरिरहेको जानकारी शाक्यले दिए। प्रमुख अतिथि प्रधानमन्त्री केपी ओलीलाई आमन्त्रण गरे पनि उनी गएनन्।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायत मन्त्री एवं सांसद उपस्थित थिए।