‘राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर बिदा हुने इच्छा अझै छ’

‘राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर बिदा हुने इच्छा अझै छ’

काठमाडौं : शनिबारको खेलसँगै अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक गर्ने पहिलो र शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी शक्ति गौचनले करिअर टुंग्याएका छन् । 

१८ वर्ष खेलेका शक्तिलाई कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलाडीहरूले ‘गार्ड अफ अनर’सहित बिदाइ गरे । अरुले काँधमा बोकेर मैदान परिक्रमा गराउँदा उनले आँसु थाम्न सकेनन् ।

नेपाली क्रिकेटका ‘लिजेन्ड्री फिगर’ शक्तिको बिदाइ खेलमा सयौं दर्शकले साथ दिए । उनले एभरेस्ट प्रिमियर लिग (ईपीएल) आफ्नो करिअरको अन्तिम घरेलु प्रतियोगिता हुने बताएका थिए । त्यसअनुसार उनको टोली पोखरा राइनोजले शनिबार अन्तिम खेल खेल्दा शक्ति अन्तिम पटक मैदानमा थिए ।

‘दोस्रो पालिमा मेरो बलिङको पालो आएपछि मात्रै करिअरको अन्तिम खेल खेल्दैछु भन्ने भाव आयो’, शक्तिले अनुभव सुनाए, ‘आफ्नो करिअरको अन्तिम ओभर बलिङ गर्दा छक्का र चौकाबाट बच्न पाए हुन्थ्यो भन्ने सोचिरहेको थिएँ । अन्त्यमा यो माहोलले भावुक बनायो । अहिलेसम्म तपाईंहरूले दिनुभएको मायाका लागि सबैलाई धन्यवाद दिन चाहन्छु ।’

शक्तिले पहिले नै नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर राष्ट्रिय टोलीबाट बिदा लिने घोषणा गरिसकेका थिए । उनका लागि त्यो अवसर अहिलेसम्म जुरेको छैन । र, जुर्ने सम्भावना पनि कम छ । त्यसैले बिदा हुँदै गर्दा उनी केही दुःखी पनि थिए । यद्यपि आफूले सोचेजस्तै बिदाइ पाउने आशा उनले मारिहालेका छैनन् ।

‘मैले फेरि त्यही कुरा गर्दा घाउ कोट्याएजस्तो हुन्छ । मैले अपेक्षा गर्नुभन्दा पनि अरूले गर्नुपर्ने हो । तर, क्यान नभएको अवस्थामा त्यसको सम्भावना कम देखेको छु’, शक्तिले भने, ‘राष्ट्रिय टोलीबाट अन्तिम पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर बिदा हुने इच्छा र आशा अझै छ ।’

शक्ति नेपाली क्रिकेटका यस्ता खेलाडी हुन्, जसले सबैभन्दा बढी समय राष्ट्रिय टोलीबाट खेलेका छन् । सन् २००२ मा एसीसी ट्रफीअन्तर्गत ओमानविरुद्धको खेलबाट सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका शक्तिले त्यसयता निरन्तर १६ वर्ष खेले । राष्ट्रिय टोलीमा उनको छवि अलग छ । उनी फरकफरक भूमिकामा भए पनि सधैं मुख्य खेलाडी रहे । खेल जीवनको सुरुमा उनी ब्याट्सम्यान थिए । तर करिअरको अन्तिम वर्षमा आइपुग्दा उनी पहिलो नम्बरको स्पिन बलर बन्न पुगे । उनले राष्ट्रिय टोलीबाट यी दुवै भूमिकामा कीर्तिमानी प्रदर्शन गरेका छन् ।

शक्तिले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप छनोटअन्तर्गत सन् २००५ मा इटालीविरुद्धको खेलमा एक सय तीन बलमा अविजित एक सय ६ रनको शतकीय पालि खेलेका थिए । यस्तै सन् २०१२ को मार्चमा आईसीसी टीट्वेन्टी विश्वकप छनोटअन्तर्गत डेनमार्कविरुद्धको खेलमा ह्याट्रिक विकेट लिएका थिए ।

नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो बलियो उपस्थिति जनाउन सुरु गर्दादेखिका प्रमुख खेलाडी शक्तिले टोलीको पछिल्ला सबै सफलतामा महŒवपूर्ण योगदान पु¥याएका छन् । नेपालले सन् २०१२ मा पहिलोपटक एसीसी ट्रफीको उपाधि जित्दा, टीट्वेन्टी विश्वकपका लागि छनोट पक्का गर्दा र पहिलोपटक सन् २०१४ मा बंगलादेशमा भएको टीट्वेन्टी विश्वकप खेल्दाको ऐतिहासिक क्षणमा उनी टोलीका मुख्य खेलाडी थिए । साथै गत मार्चमा नेपाली टोलीले पहिलोपटक एकदिवसीय टोलीको मान्यता पक्का गर्दा पनि उनी टोलीसँगै थिए ।

त्यसैले खेलजीवनबाट बिदा लिए पनि शक्तिलाई यही कीर्तिमान र योगदानबाट नेपाली क्रिकेटले सधैं सम्झिरहने छ । सन्यासपछि आफूले धेरै कुरा ‘मिस’ गर्ने उनको भनाइ छ । ‘अहिले नै मलाई सोध्नुहुन्छ भने म बोल्नसक्ने अवस्थामा छैन’, शक्तिले भने, ‘तर, पहिलो कुरा यो मैदानलाई मिस गर्नेछु । यो क्षणलाई मिस गर्नेछु र धेरै कुरालाई मिस गर्नेछु ।’ 

उनले सन् २०१४ मा विश्वकप खेल्नु आफ्नो जीवनकै अविस्मरणीय क्षण भएको बताए । उनले आगामी दिनमा कुनै पनि हैसियतमा नेपाली क्रिकेटका लागि योगदान पुर्या‍उन प्रस्ताव आएको अवस्थामा आफू सधैं तयार रहेको पनि बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.