शोकमा सिंगै गाउँ

शोकमा सिंगै गाउँ

नुवाकोट : नुवाकोटको दुर्गम सिसिपु गाउँ शोकमा डबेको छ। मंसिर २८ गते घेवा (मृत्यु संस्कार) सकेर फर्किएको मिनीट्रक दुर्घटनामा पर्यो। जसमा सवार जिल्लाको उत्तरपूर्व घ्याङफेदी गाउँपालिका सिसिपुकै २० जनाले ज्यान गुमाए। सिसिपुकै १५ जना अंगभंग भए।

एकै गाउँका २० जनाले ज्यान गुमाउनु र कैयौं घाइते हुनु नुवाकोटकै ठूलो सडक दुर्घटना भएको स्थानीय बताउँछन्। शोकमा डुबेको सिसिपु गाउँका अधिकांशको घरमा यतिबेला चुलो बलेको छैन। उपचारका क्रममा शनिबार बिहान थप दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या २० पुगेको गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए।

यातायातको भरपर्दो साधन नभएको सिसिपुवासी सहज र बाध्यता दुवै कारण मिनिट्रक प्रयोग गर्छन्। त्यहाँको अधिकांश भेगमा यही यात्रु तथा सामानवाहकमा यही प्रयोग हुन्छ। कच्ची र साँघुरो सडकमा सहजै गुड्ने हुँदा स्थानीयको रोजाइमा मिनिट्रक पर्ने गरेको छ।

तामाङ जातिको बाहुल्य उक्त घ्याङफेदी सिन्धुपाल्चोक जिल्लासँग सीमा जोडिएको छ। सिसिपु नजिकै घ्याङफेदीको घोप्टेभीरमा २६ वर्षअघि थाई एयरलाइन्सको विमान दुर्घटना भएको थियो। गत २०७१ साल कार्तिकमा पासाङल्हामु मार्गको त्रिशूली–काठमाडौ सडकखण्डको बीचमा रहेको बेलकोटको आरुबोटे भीरमा यात्रुबस दुर्घटनामा तीन विदेशीसहित १४ यात्रुको घटनास्थलमै ज्यान गएको थियो। २०७४ साल भदौमा विदुर आउँदै गरेको यात्रुबस शिवपुरी गाउँपालिका गुरुङगाउँ नजिकै दुर्घटना हुँदा सात जनाको ज्यान गएको थियो। यो दुर्घटनाको स्वरूप पनि पहिलेजस्तै छ।

कच्ची र साँघुरो, घुमाउरो सडकका कारण ट्रकको पांग्रा लिगबाहिर उछिट्टिएको अनुमान गरिएको छ। दुप्चेश्वर गाउँपालिका ७ सिम्टाङस्थित महिलाको दाहसंस्कारबाट फर्किंदा ट्रक पल्टेको थियो। उक्त मिनिट्रक सडकबाट ३ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन्। शुक्रबार साँझ करिब ५ बजे मिनिट्रक खोलामा झरेको थियो। सिसिपुका २० जनाको घर पुग्ने र परिवारका सदस्यसँग भेटिने सपना त्यहीँ सकियो। दुर्घटनामा एकै परिवारका तीन जनासम्मले ज्यान गुमाए। सुन श्री तामाङ र उनका देवरहरू सुने र लक्ष्मणले त्यहीँ ज्यान गुमाए। टोकले तामाङ र उनकी बुहारी विभिमायाले पनि एकै ठाउँमा मृत्युवरण गर्नुपर्यो।

सिसिपु गाउँमा रुवाबासी चलेको छ। मृतक सबैको शव संकलन गरी घ्याङडाँडामै राखिएको छ। सबैको शव शनिबार अपराह्न जिल्ला अस्पताल त्रिशूलीबाट गएका टोलीले पोस्टमार्टम गरी गाउँपालिका अध्यक्ष तामाङको रोहवरमा आफन्तलाई जिम्मा लगाएको छ। मृतक सबै सिसिपुका रहेका कारण घ्याङडाँडामा सामूहिक दाहसंस्कार गरिने भएको छ। मानवीय संवेदनशीलतालाई ध्यानमा राखी घटनास्थलमै शव पोस्टमार्टम गरिएको नुवाकोटका सीडीओ उद्धवबहादुर थापाले बताए।

कच्ची र साँघुरो बाटोका कारण दुर्घटना भएको भन्दै स्थानीयले रामतीदेखि घ्याङफेदीसम्मको बाटो फराकिलो भएको भए दुर्घटना नहुने बताएका छन्। सदरमुकाम विदुरबाट चार घण्टाको यात्रमा घ्याङफेदी पुगिन्छ। दुर्घटनामा हराइरहेकाहरूको उद्धारमा गएको हेलिकोप्टर प्रतिकूल मौसमका कारण अवतरण नभएपछि सांसदसहितको टोली हेलिकोप्टर बिसाउन नपाउँदै झरेको थियो।

ज्यान गुमाउनेहरू

ज्यान गुमाउनेमध्ये तीन जना महिला छन्। घ्याङफेदीको सिसिपुकी २७ वर्षीया विभिमाया, १४ वर्षीया सीता र ३६ वर्षीया सुन श्री तामाङ छन्। यस्तै सिसिपुकै २४ बर्से शुकराम तामाङ, ३९ बर्से सेनम लामा, ५५ बर्से टोकले तामाङ, २२ बर्से मंगले तामाङ, ४४ बर्से आइत तामाङ, ४० बर्से सेल्वोन तामाङ, ६० बर्से खाम्सुङ तामाङ, ३२ बर्से रिवल तामाङ, २० बर्से भीमबहादुर तामाङ, ४३ बर्से मिङमार तामाङ, ३७ बर्से छोवाङसोनाम तामाङ, ३४ बर्से लक्ष्मण तामाङ, ४६ बर्से वीरबहादुर तामाङ, २० बर्से कृष्ण तामाङ, ५० बर्से मीनबहादुर तामाङ, ४५ बर्से सुने लामा र शिखरबेंसीका १५ बर्से रितेश पण्डित छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.