सुपा देउरालीमा नौलो प्रविधिबाट सडक विस्तार हुँदै
अर्घाखाँची : सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी नयाँ प्रविधिबाट सडक विस्तारको कार्य भइरहेको छ।
कडा चट्टान भएपछि यसको नयाँ प्रविधि प्रयोग गरेर ड्रिल गरेर बाटो विस्तारको कार्य भइरहेको शिवपुर सडक डिभिजन कार्यालयका इन्जिनियर अर्जुन पाण्डेले बताए। यस स्थानमा सडकलाई झण्डै ९ मिटरको बनाउने गरी काम भएको छ।
जिल्ला सदरमुकाम जोड्ने जिल्लाको पुरानो र महत्वपूर्ण गोरुसिङे सन्धिखर्क सडकको लाउरे बजारदेखि सुपा मन्दिरसम्म करिब २ सय मिटर कडा चट्टान र भिरालोका कारण साँघुरो भई यातायात आवागमनमा निकै कठिनाइ व्यहोर्नु परेको अवस्था रहेको छ। सडक डिभिजन शिवपुर, कपिलवस्तु बाट यसै आव मा सम्पन्न गर्ने लक्ष्यका साथ रक एन्चोर्ज सहित वाल निर्माणको काम भइरहेको छ। अर्घाखाँचीमा यो कार्य नौलो र चुनौतीपूर्ण रहेको छ।
पूर्व पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिंगे सन्धिखर्क सडक विस्तार तथा मर्मत कार्य तीव्र गतिमा अघि बढेको छ। साँघुरो सडक, खाल्टाखुल्टीका कारण र पुरानो पिच भएका कारण जीर्ण बनेको गोरुसिंगे सन्धिखर्क सडकलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्रे गर्ने गरी काम अगाडि बढेको हो।
गोरुसिंगेबाट सदरमुकाम सन्धिखर्कसम्म सडकको दूरी ६८ किलोमिटर छ। गोरुसिंगेबाट पिरापानीसम्म झण्डै १५ किलोमिटर सडक विस्तार तथा मर्मतको कार्य सम्पन्न भएको छ। बाँकी रहेको सडकमा ५ वटा निर्माण कम्पनीले मर्मत तथा सडक विस्तार र निर्माणको कार्य गरेको शिवपुर सडक डिभिजन कार्यालयका इन्जिनियर अर्जुन पाण्डेले बताए।
यस आर्थिक वर्षको अन्त्यसम्ममा झण्डै १७ किलोमिटर सडकमा नयाँ पिच भएको छ। सडक निर्माण तथा विस्तारको काम समयमै सम्पन्न गर्नका लागि सडकलाई खण्ड, खण्ड गरी निर्माण व्यवसायीसँग ठेक्का सम्झौता भएको थियो। काम अन्तिम चरणमा पुगेको छ।
प्रतिक्रिया दिनुहोस !