२६० जनाको ज्यान गएको विमान दुर्घटनाको भिडियो खिच्ने आर्यनले किन छोड्नु पर्यो सहर ?
भारत : आर्यन असारी (१७ बर्ष) अहिले गुजरातको साबरकाँठा जिल्लाको खानपुर गाउँमा बस्छन् । १२ जुन २०२५ मा उनी अहमदाबाद पुगेका थिए। त्यही दिन उनले एउटा विमान उडिरहेको देखे र त्यसको भिडियो खिचे । केही सेकेण्डमै उक्त विमान दुर्घटनाग्रस्त भयो ।
यस दुर्घटनामा विमानमा सवार २४१ जनासहित कुल २६० जनाको ज्यान गएको थियो । आर्यनले मोबाइल फोनबाट खिचेको भिडियो दुर्घटनासम्बन्धी सबैभन्दा महत्वपूर्ण दृश्य प्रमाणमध्ये एक बन्यो । १३ जुन २०२५ मा बीबीसी गुजरातीले आर्यनलाई भेटेर अन्तर्वार्ता लिएको थियो । एक वर्षपछि आर्यन आफ्नो गाउँमा बसिरहेका छन् र विमानको भिडियो खिच्न डराउन थालेका छन् ।
आर्यन आफ्ना बुबा–आमा र एक बहिनीसँग खानपुर गाउँमा बस्छन् । उनले हालै कक्षा १२ उत्तीर्ण गरेका छन् र अब कलेज अध्ययनको तयारीमा छन् । बीबीसी गुजरातीसँगको विशेष कुराकानीमा उनले पछिल्लो एक वर्षमा आफ्नो जीवनमा आएको परिवर्तनबारे बताएका छन् । अहिले उनका साथीभाइ र वरपरका मानिसहरूले उनलाई ‘भिडियो ब्वाइ’ भनेर चिन्ने गरेका छन् ।
विवाह समारोह होस् वा कलेजको कार्यक्रम, मानिसहरूले उनलाई सबैभन्दा पहिले सोध्ने प्रश्न एउटै हुन्छ-त्यो भिडियो कसरी खिचियो ? आर्यन स्वभावले निकै शान्त छन् र कम बोल्छन् । उनलाई मोबाइलबाट विभिन्न भिडियो खिच्ने रुचि छ । घर बाहिर निस्कँदा साना–ठूला घटनाहरूको भिडियो रेकर्ड गर्ने उनको बानी थियो । यही बानीका कारण उनले एयर इन्डिया फ्लाइट १७१ दुर्घटनाको भिडियो पनि खिच्न पुगे ।
विमानको भिडियो कसरी खिचियो ?
त्यस दिन उनी मेघानीनगरस्थित घरको छतमा थिए । उनले भने, ‘म र मेरी बहिनी गाउँबाट बस चढेर भर्खरै अहमदाबाद आइपुगेका थियौँ । म छतमा उभिएको थिएँ र बहिनी छतको कोठामा थिइन् । बुबा काममा जानु भएको थियो । म वरपरका भवनहरूको तस्वीर खिचिरहेको थिएँ ।’ उनको घर विमानस्थलको रनवे नजिकै छ । घरको एकातिर रनवे र अर्कोतिर एयर इन्डिया फ्लाइट १७१ दुर्घटनाग्रस्त भएको क्षेत्र रहेको छ । आर्यन भन्छन्, ‘मैले रनवेबाट एउटा विमान उडेको देखें र जिज्ञासावश भिडियो बनाउन थालें । विमान केही माथि गयो, फेरि तल झर्यो, पुनः माथि उठ्यो र त्यसपछि अगाडि बढेर दुर्घटनाग्रस्त भयो । तुरुन्तै आगो लाग्यो र धुवाँ देखिन थाल्यो । त्यो दृश्य देखेर म निकै डराएँ ।’
त्यसपछि उनले बहिनी नीलम असारीलाई घटनाबारे जानकारी दिए । नीलमले बाहिर हेर्दा चारैतिर धुवाँ मात्र देखिएको बताइन् । नीलमले भनिन्, ‘मैले तुरुन्तै बुबालाई फोन गरें । उहाँ केहीबेरमै घर आइपुग्नुभयो र हामीलाई नआत्तिन सम्झाउनु भयो ।’
‘भिडियो ब्वाइ’ बने आर्यन
भिडियो सार्वजनिक भएपछि सबैभन्दा पहिले एयरपोर्ट अथोरिटी अफ इन्डियाका अधिकारीहरू उनीसँग सम्पर्कमा आएका थिए । त्यसपछि बीबीसी गुजरातीको टोलीले पनि भेटेको थियो । आर्यन भन्छन्, ‘अधिकारीहरूले भिडियोबारे जानकारी लिए । त्यसपछि बीबीसी गुजरातीले सम्पर्क गर्यो ।’
भिडियो भाइरल भएपछि आर्यन एकाएक चर्चामा आए ।
उनका बुबा मगनभाइ असारीका अनुसार, अत्यधिक मिडिया ध्यानका कारण आर्यनलाई अहमदाबादबाट गाउँ फर्काउनु परेको थियो । उनी भन्छन्, ‘मिडियासँग लगातार कुरा गर्नुपर्दा उनी थाकिसकेका थिए । उनी धेरै बोल्न रुचाउँदैनथे, त्यसैले हामीले उनलाई गाउँ पठायौँ ।’ गाउँमा पनि उनको चर्चा कम भएन । बहिनी नीलमका अनुसार सबैले उनलाई ‘भिडियो बनाउने केटा’ भनेर चिन्न थाले ।
आर्यन अब विमानको भिडियो किन खिच्दैनन् ?
आर्यनका अनुसार धेरै मानिसहरूले उनलाई चर्चित भएको बताए । शिक्षकहरूले पनि उनको कामको प्रशंसा गर्दै अनुसन्धानमा सहयोग पुगेको बताएका थिए । तर दुर्घटनाले उनलाई भावनात्मक रूपमा असर पनि गर्यो । उनले भने, ‘मलाई लाग्छ, यदि मैले फेरि कुनै विमानको भिडियो खिचेँ भने फेरि दुर्घटना हुन सक्छ र मानिसहरूको ज्यान जान सक्छ । त्यसैले अहिले म विमानको भिडियो खिच्दिनँ ।’
यद्यपि, उनले अन्य घटनाहरूका भिडियो भने अझै खिचिरहन्छन् । उनको मोबाइलमा रहेको पछिल्लो भिडियो अहमदाबादबाट गाउँ फर्कदाको यात्राको हो, जसमा उनले राजमार्ग वरपरको हरियाली र सवारीसाधनहरू कैद गरेका छन् । आर्यन भन्छन्, ‘हालै म एउटा विवाहमा गएको थिएँ । सबैले मलाई घेरेर भिडियोबारे प्रश्न गरे । उनीहरू भन्थे, ‘तिमी धेरै चर्चित भयौ ।’ यो सुन्दा मलाई राम्रो लाग्छ, किनभने मैले यस्तो काम गरेको छु, जुन अरू कसैले गरेका थिएनन् ।’
प्रतिक्रिया दिनुहोस !