अमेरिकी सैन्य आक्रमणमा भेनेजुएलाका ‘ट्रेन डे अरागुआ’ का शीर्ष नेता मारिएको ट्रम्पको घोषणा
अमेरिका : अमेरिकी राष्ट्रपति डोनालड ट्रम्पले अमेरिकी सैन्य कारबाहीमा कुख्यात आपराधिक समूह ट्रेन डे अरागुआका शीर्ष नेता हेक्टर रुस्थेनफोर्ड गुरेरो फ्लोरेस (उर्फ ‘निन्यो गुरेरो’) मारिएको बताएका छन् । गुरेरोलाई भेनेजुएलाको जेलभित्र जन्मिएको एउटा गिरोहलाई अन्तर्राष्ट्रिय आपराधिक सञ्जालमा रूपान्तरण गर्ने मुख्य योजनाकार मानिन्थ्यो । उक्त संगठनको प्रभाव ल्याटिन अमेरिका, अमेरिका र स्पेनसम्म फैलिएको थियो ।
ट्रम्पले शुक्रबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै गुरेरो ‘छिटो र घातक सैन्य आक्रमण’ मा मारिएको बताएका हुन् । उनले सार्वजनिक गरेको भिडियोमा हरियो छाना भएको एउटा भवन ठूलो विस्फोटसँगै धुवाँको मुस्लोमा हराएको देखिन्छ ।
ट्रम्पका अनुसार यो कारबाही भेनेजुएला सरकारसँगको समन्वयमा सम्पन्न गरिएको थियो । अमेरिकी रक्षा सचिव पिट हेगसेथले पनि उक्त अभियान भेनेजुएलाका सुरक्षा निकायहरूसँग मिलेर सञ्चालन गरिएको बताएका छन् । भेनेजुएलाको सञ्चार मन्त्रालयले संयुक्त अभियानमा गुप्तचर सूचना आदानप्रदान र विशेष प्राविधिक सहयोग समावेश रहेको जनाएको छ । मन्त्रालयका अनुसार अभियानका क्रममा आपराधिक समूहका सदस्यहरूसँग झडप हुँदा गुरेरो मारिएका थिए ।
को हुन् ‘निन्यो गुरेरो’ ?
ट्रेन डे अरागुआ गिरोहको स्थापना भेनेजुएलाको टोकोरोन जेलभित्र भएको थियो । सन् २०२३ सम्म उक्त गिरोहले जेलभित्र नै पौडी पोखरी, रेस्टुरेन्ट लगायतका संरचना निर्माण गरेर जेलको नियन्त्रण आफ्नो हातमा राखेको थियो । भेनेजुएला सरकारले अक्टोबर २०२३ मा जेल पुनः नियन्त्रणमा लिए पनि गुरेरो फरार भएका थिए । पछि अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन निकायले उनलाई ‘मोस्ट वान्टेड’ सूचीमा राखेको थियो ।
अमेरिकी विदेश मन्त्रालयले २०२४ मा उनको पक्राउका लागि ५० लाख डलर पुरस्कार घोषणा गरेको थियो । त्यसपछि न्यूयोर्कको दक्षिणी जिल्ला सरकारी वकिल कार्यालयले उनीमाथि अमेरिकाभित्र आतंकवादी गतिविधि सञ्चालन गराएको आरोप लगाएको थियो ।
अन्तर्राष्ट्रिय आपराधिक सञ्जाल
ट्रेन डे अरागुआले वर्षौंदेखि भेनेजुएला, बोलिभिया, कोलम्बिया, चिली र पेरुमा आतंक फैलाएको आरोप छ । साथै अमेरिकासम्म आफ्नो सञ्जाल विस्तार गरेको बताइन्छ । गिरोहमाथि मानव तस्करी, अपहरण, फिरौती असुली, धन शोधन तथा लागुऔषध तस्करीमा संलग्न रहेको आरोप छ ।
यसरी परे ट्रम्प प्रशासनको निशानामा
दोस्रो कार्यकालको सुरुआतमै ट्रम्प प्रशासनले ट्रेन डे अरागुआलाई आतंकवादी संगठन घोषणा गरेको थियो । यसअघि ट्रम्प प्रशासनले गिरोहसँग सम्बन्धित भएको आरोपमा २०० भन्दा बढी व्यक्तिलाई एल साल्भाडोरको उच्च सुरक्षा कारागारमा पठाएको थियो, यद्यपि तीमध्ये धेरैले गिरोहसँग सम्बन्ध अस्वीकार गरेका थिए ।
भेनेजुएलाको वर्तमान अवस्था
भेनेजुएलाले जारी गरेको विज्ञप्तिमा संगठित अपराधविरुद्ध लड्ने प्रतिबद्धता दोहोर्याइएको छ । विज्ञप्तिअनुसार कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशको नेतृत्व गरिरहेकी छन् । अमेरिकी समर्थनमा यस वर्षको सुरुवातमा गरिएको सैन्य कारबाहीपछि पूर्व राष्ट्रपति निकोलस मादुरो पक्राउ परेका थिए । उनी हाल अमेरिकाको हिरासतमा छन् र लागुऔषध आतंकवाद तथा हतियारसम्बन्धी विभिन्न आरोपहरूको सामना गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस !