विश्वकप फुटबल समूह ‘सी’
बहुप्रतिक्षित खेलमा ब्राजिल र मोरक्को भिड्दै, स्कटल्यान्ड र हाइटीमा विश्वकपको उत्साह
काठमाडौं : फिफा विश्वकप–२०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमने–सामने हुँदैछन् । न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने खेल नेपाली समयअनुसार बिहान ३ः४५ बजे हुनेछ ।
गत संस्करण कतार विश्वकपमा ब्राजिलको यात्रा क्वार्टर फाइनलसम्म पुगेर रोकिएको थियो । टोली क्रोएसियाविरुद्ध स्तब्ध बन्यो । त्यसको चार वर्षअघि रसियामा पनि ब्राजिल अन्तिम आठमै रोकिएको थियो । यसपालि ब्राजिल विगतका संस्करणमा गरेका गल्ती सच्याउन चाहन्छ । उता एट्लास लायन्स भनेर चिनिने मोरक्कोसँग गत संस्करण गरेको ऐतिहासिक प्रदर्शन दोहोर्याउने चुनौती छ ।
कतारमा टोलीले सेमिफाइनलसम्मको यात्रा गरेको थियो । गत वर्ष ब्राजिलियन फुटबलको इतिहास फेरिएको थियो । जतिबेला महासंघले इटालियन कार्लो एन्सिलोटीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । योसँगै एन्सिलोटी ब्राजिलियन फुटबल इतिहासमा पहिलो स्थायी विदेशी प्रशिक्षक बने । तीन दशकको आफ्नो व्यावसायिक प्रशिक्षण करिअरमा ६७ वर्षीय एन्सिलोटीले भए जति सबै उपाधि जितेका छन् ।
अहिले उनी आफ्नो प्रशिक्षण करिअरलाई पूर्णता दिन ब्राजिल आएका छन् । विश्वकपका सबै संस्करणमा सहभागिता जनाएको ब्राजिलले ११४ मध्ये ७४ खेलमा विजयी हासिल गरेको छ । यसबीच ब्राजिलले पाँच पटक प्रतिष्ठित ट्रफी चुम्यो । यद्यपि २४ वर्ष भइसक्यो, ब्राजिलले विश्वकपको उपाधि जित्न नसकेको । ब्राजिलले यसअघि पनि २४ वर्षको पखाईपछि आफ्नो चौथो विश्वकप उपाधि उचालेको थियो । सन् १९७० मा ब्राजिलले आफ्नो तेस्रो उपाधि चुमेको थियो। त्यसपछि चौथो पटक च्याम्पियन हुन ब्राजिलले १९९४ सम्म कुर्नुपर्यो । त्यो पनि अमेरिकाको माटोमा । यसपालि त्यही संयोग जुरेको छ ।
विश्वकप इतिहासमा ब्राजिलले आठमध्ये सात पटक अफ्रिकन राष्ट्रलाई हराएको छ । ब्राजिलले एक मात्र हार गत संस्करण क्यामरुनसँग बोहोरेको हो। क्यामरुनले समूह चरण्मा ब्राजिललाई १–० ले हराएको थियो । मोरक्को ब्राजिललाई हराउने दोस्रो अफ्रिकन राष्ट्र बन्न चाहन्छ ।
चार वर्षअघि मोरक्कोले विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अप्रिकी टोली बनेर इतिहास रचेको थियो । सातौं विश्वकप अनुभव लिइरहेको मोरक्कोलाई यसपाली प्रतियोगिताकै सबैभन्दा ठूलो ‘डार्क हर्स’का रुपमा हेरिएको छ ।
चाखलाग्दो विषय के छ भने मोरक्कोले आफ्नो सुरुवाती तीन सहभागिता उत्तर अमेरिकामै जनाएको थियो । मेक्सिको (१९७० र १९८६) अनि अमेरिका १९९४ मा मोरक्कोले प्रतिनिधित्व गरेको थियो । मेडन अनुभवमा समूह चरणबाटै बाहिरिएको मोरक्कोले १९८६ मा अन्तिम १६ सम्मको यात्रा गर्यो ।
अमेरिका १९९४ मोरक्कोका लागि विर्सनलायक रह्यो । टोलीले समूहका तीन वटै खेलमा एक गोलको अन्तरले पराजय बेहोर्यो ।
एट्लास लायन्सले पछिल्ला वर्षहरुमा आफूलाई शक्तिशाली फुटबल राष्ट्रका रुपमा उभ्याएको छ । सन् २०२३ यता मोरक्कोले ४५ खेलमा ३३ जित हासिल गर्दा १० बराबरी र दुईमा हार आत्मसात गरेको छ । अहिले त मोरक्को फिफा वरीयताको सातौं स्थानमा छ । नेदरल्यान्ड्स, बेल्जियम र जर्मनीभन्दा पनि अगाडि । ब्राजिलसँगको पछिल्लो तीन भेटमध्ये एकमा मोरक्कोले जित हासिल गरेको छ । २०२३ मा सम्पन्न मैत्रीपूर्ण खेलमा ब्राजिल २–१ ले स्तब्ध भएको थियो ।
ब्राजिलका उच्च गोलकर्ता नेइमार अझे पनि ‘काल्फ इन्जुरी’ को समस्यासँग जुधिरहेका छन् । उनी आइतबारको खेलमा उपस्थित नहुने सम्भावना बलियो छ । त्यस्तै राइटब्याक वेस्ली मांसपेशी समस्याका कारण टोलीबाट बाहिरिएका छन् । उनको ठाउँमा एट्लान्टाका मिडफिल्डर एडर्सनले मौका पाएका छन् । प्रिमियर लिगका खेलाडी एलिसन बेकर, गेब्रियल म्यागलहेज र ब्रुनो गीमरेज अनि ला लिगाका भिनिसियस जुनियर र राफिन्हा मोरक्कोविरुद्ध पहिलो रोजाईका बलियो दाबेदार हुन् । कप्तान अक्राफ हकिमी र भिनिसियसका सहकर्मी ब्राहिम डियाज मोरक्कोका ‘प्लेयर्सं टु वाच’ हुन् ।
स्कटल्यान्ड र हाइटीमा विश्वकपको उत्साह
उत्तर अमेरिकी राष्ट्र हाइटी ५२ वर्षपछि विश्वकपमा फर्किएको छ । यसपालि आफ्नै महादेशमा भइरहेको विश्वकपमा हाइटीको एउटै लक्ष्य हुनेछ, त्यो हो पहिलो अनुभवलाई सुधार्ने । जर्मनी १९९४ मा हाइटीले तीनवटै खेलमा हार व्यहोर्दा कूल १४ गोल खाएको थियो । कोनकाकाफ छनोटको १० मध्ये ६ खेलमा हाइटीले विजयी हासिल गरेको थियो । नोभेम्बरमा कोस्टा रिकालाई १–० र निकारागुवालाई २–० ले हराउँदै हाइटी विश्वकपमा फर्किएको हो ।
विश्वकप २०२६ का ४८ राष्ट्रमध्ये हाइटी फिफा वरीयतामा पुछारबाट दोस्रो स्थानमा छ । विश्वकपअघि हाइटीले पुछारको न्युजिल्यान्डमाथि ४–० को रवाफिलो जित हासिल गर्यो । स्कटल्यान्ड आफ्नो नवौं विश्वकप अनुभव लिँदैछ । पछिल्लो पटक स्कटल्यान्डले १९९८ फ्रान्स विश्वकप खेलेको थियो ।
युइएफए छनोटमा ६ मध्ये चार खेल जितेको स्कटल्यान्डलाई मोरक्को र नर्वेसँगै ‘डार्क हर्स’ का रुपमा हेरिएको छ । स्कट म्याकटोमिने र एन्डी रोबर्टसन जस्ता विश्व फुटबलका चर्चित खेलाडी रहेको स्कटल्यान्ड बढीमा दोस्रो स्थान हासिल गर्ने लक्ष्यमा हुनेछ ।
विश्वकपअघि स्कटल्यान्डले १० खेलाडीमा समेटिएको कोरासाओलाई ४–१ ले हराएको थियो । त्यसपछि स्कटल्यान्डले बोलिभियालाई ४–० ले हरायो ।
अहिलेसम्म समूह चरण पार गर्न नसकेको स्कटल्यान्डसँग यसपालि नकआउट पुग्ने राम्रो अवसर छ । यसका लागि स्कटल्यान्डले तुलनात्मक रुपमा कमजोर मानिएको हाइटीलाई राम्रो अन्तरले हराउन सक्नु पर्नेछ । खेल नेपाली समयअनुसार आइतबार बिहान ६ः४५ बजे हुनेछ ।
प्रतिक्रिया दिनुहोस !