कबड्डीको तयारी भारतमा
काठमाडौं : जापानको आइची र नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुदको तयारी गर्न नेपाली पुरुष कबड्डी टोली बिहीबार भारतको हरियाणा जाने भएको छ। विशेष प्रशिक्षणमा जाने खेलाडीमा घनश्याम रोका मगर, अंकु पुन, आदित चौधरी, प्रकाश गिरी, सुरज बोहरा, संस्कार कुमार, रवि थारु, अशोक जोशी, सागर यादव, कुमार लामा, गणेश पार्की र करुण रसाइली छन्।
घनश्याम, अंकु, रवि र करुण भारतमै प्रशिक्षण गरिरहेका छन्। घनश्याम हरियाणामै छन् भने बाँकी तीन खेलाडी हिमाचल प्रदेशमा छन्। उनीहरू त्यत्तैबाट टिमसँग समावेश हुने छन्। प्रशिक्षकमा विष्णु दत्त भट्ट, सहायक प्रशिक्षकमा कल्याण भुजेल र व्यवस्थापकमा पर्शुराम ओली छन्। खेलाडीले हरियाणास्थित सनदीप नरवाल एकेडेमीमा एक महिना प्रशिक्षण गर्ने छन्। त्यसपछि टोली प्रशिक्षणकै लागि थाइल्यान्ड जाने कार्यक्रम पनि रहेको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जानकारी दिए।
‘चाइनिज ताइपेइ थाइल्यान्ड आयो भने मात्र हाम्रो टोली थाइल्यान्ड जान्छ। त्यहाँ हामीसहित तीन राष्ट्रको अभ्यास खेल हुनेछ। ताइपेइ थाइल्यान्ड नगएको खण्डमा हामी भारतकै जयपुर र उत्तर प्रदेशमा प्रशिक्षणलाई निरन्तरता दिने छौं’, महासचिव झाले भने, ‘भारतमा विभिन्न स्थानीय टोलीसँग अभ्यास खेल पनि खेल्छौं।’
टोली प्रशिक्षणस्थलबाटै असोज ३ देखि १८ गतेसम्म हुने एसियाली खेलकुदमा सहभागी हुन जापान जाने छ। एसियाली खेलकुदमा नेपाली पुरुष कबड्डी टोलीको यो पाँचौं सहभागिता हो। यसअघि पुरुष टोलीले १९९० मा चीन, १९९४ मा जापान, १९९८ मा थाइल्यान्ड र २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा सहभागिता जनाएको थियो।
नेपाली महिला कबड्डीले पनि २०औं एसियाली खेलकुदमा सहभागिता जनाउने छ। महिला टोली दोस्रो पटक सहभागी हुन लागेको हो। चीनको हाङझावमा भएको १९औं एसियाली खेलकुदमा महिला टोलीले पहिलोपटक सहभागिता जनाएको थियो। पहिलो सहभागितामै महिला टोलीले ऐतिहासिक कांस्य पदक जितेको थियो।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ र कबड्डी संघकी अध्यक्ष तुलसी थापाले बुधबार बिदाइ गरेका थिए। उपाध्यक्ष श्रेष्ठले खेलाडीलाई राम्रो तयारी गर्न सुझाउदै एसियाली खेलकुदमा उत्कृष्ट नतिजाका लागि शुभकामना दिएका थिए।
प्रतिक्रिया दिनुहोस !