कप्तान स्कटको अर्धशतकीय पारीमा नेदरल्यान्ड्सले नेपाललाई हरायो
काठमाडौं : आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ।उट्रेचमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४४.४ ओभरमा १५७ रन बनाउँदै अलआउट भएको थियो।
नेपालले दिएको १५८ रनको विजय लक्ष्य पछाएको घरेलु टोली नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।नेदरल्यान्ड्सका लागि कप्तान स्कट एड्वार्डले सर्वाधिक ६१ रन बनाउँदै अविजित रहे। उनले ८९ बलमा २ चौका र १ छक्का प्रहार गरे। पाँचौँ विकेटका लागि उनले नोवा क्रोससँग ८५ रनको अविजित साझेदारी गर्दै नेदरल्यान्ड्सको जित पक्का गरे।
नोवाले व्यक्तिगत ३४ रन बनाउँदै अविजित रहे। ओपनर ब्याटर सेड्रिक डे लिङ्गेले २१ रन बनाए। अर्का ओपनर म्याक्स ओ'डोड भने ९ रनमै पेभिलियन फर्किए। जाच क्याचलेटले २१ रन बनाए।
नेपालको लागि सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले १-१ विकेट लिए। नेपालको लागि ललितले निकै राम्रो बलिङ गरे। ललितले १० ओभरमा ३ मेडनसहित २२ रन खर्चेर १ विकेट लिए। नेपालका बलर करण केसी, सन्दीप लामिछाने र गुल्सन झा विकेटविहीन रहे।
त्यसअघि, ब्याटिङ गरेको नेपालका लागि मध्य क्रममा आएका आरिफ शेखले सर्वाधिक ४१ रन बनाए। उनले ९० बलमा ४ चौका प्रहार गरे। उनले छैटौं विकेटको लागि गुल्सन झासँग ४८ रनको साझेदारी बनाउँदै नेपालको मध्यक्रम केही बेर सम्हालेका थिए।
ओपनर आसिफ शेखले १४ रन, दिपेन्द्र सिंह ऐरीले २१, गुल्सन झाले २९ रन बनाए। सोमपाल कामीले १० रन बनाउँदा करण केसी १३ रनमा अविजित रहे।
नेदरल्यान्ड्सका लागि एलेक्स रोय र रोइलोफ मेरवीले समान ३–३ विकेट लिए। लोगन भान विकले २ र काइल क्लेइनले १ विकेट लिए। नेपालले जारी श्रृंखलाको पहिलो खेलमा नामिबियासँग ८ विकेटको हार बेहोरेको थियो।
प्रतिक्रिया दिनुहोस !