ओमान नजिक अमेरिकी मिसाइल आक्रमणमा तीन भारतीय नाविकको मृत्यु
भारत : भारतका बन्दरगाह, जलमार्ग तथा जहाजरानी मन्त्री सर्बानन्द सोनोवालले बिहीबार ओमानको खाडीमा रहेको एक तेल ट्याङ्करमाथि अमेरिकी सैन्य आक्रमणपछि बेपत्ता भएका तीन भारतीय नाविकको शव फेला परेको जानकारी दिएका छन् । यस घटनापछि भारतले अमेरिकाका उप–मिसन प्रमुखलाई तलब गरी घटनाप्रति कडा विरोध जनाएको थियो । सोनोवालले एक्समा लेखेका छन्, ‘पलाउको झण्डा बोकेको एमटी सेटेबेलो जहाजमा भएको दुःखद घटनाबारे थाहा पाउँदा अत्यन्त दुःखी भएको छु । पहिले बेपत्ता भनिएका तीन भारतीय नाविकको शव फेला परेको छ र उनीहरूको पहिचान पुष्टि गरिएको छ ।’
उनले थप लेखेका छन्, ‘यो हाम्रो लागि अपूरणीय क्षति हो । यस कठिन घडीमा मोदी सरकार शोकसन्तप्त परिवारहरूसँग दृढतापूर्वक उभिएको छ । मृतकका परिवारलाई आवश्यक सबै सहयोग प्रदान गरिने छ । साथै, उद्धार गरिएका चालक दलका सदस्यहरूको तत्काल स्वदेश फिर्ती र मृतकहरूको शव यथाशीघ्र भारत ल्याउने व्यवस्था गर्न निर्देशन दिइएको छ ।’
फरवार्ड सिमेन युनियन अफ इन्डियाका महासचिव मनोज यादवका अनुसार मृतकहरूमा डेक क्याडेट आदित्य शर्मा, इन्जिन फिटर शिवानन्द चौरसिया र प्रमुख इन्जिनियर पटनाला सुरेश रहेका छन् । शिवानन्द चौरसिया भारतको उत्तर प्रदेशस्थित देवरिया जिल्लाका बासिन्दा थिए । भारतको विदेश मन्त्रालयले घटनाको निन्दा गरे पनि प्रारम्भिक वक्तव्यमा अमेरिकाको नाम उल्लेख गरेको थिएन। तर, पछिल्लो घटनापछि भारतले खुला रूपमा आक्रमणको विरोध गरेको छ ।
भारतमा रहेका अमेरिकी राजदूत सर्जियो गोर कजाखस्तान भ्रमणमा रहेकाले अमेरिकी दूतावासका कार्यवाहक प्रमुखलाई विदेश मन्त्रालयमा बोलाइएको थियो । यसअघि एमटी म्यारीभेक्स नामक अर्को तेल ट्याङ्करमाथि भएको अमेरिकी कारबाहीबाट २४ भारतीय नाविकलाई ओमानको सेनाले सुरक्षित उद्धार गरेको थियो ।
भारतको कडा आपत्ति
एमटी सेटेबेलोमा रहेका २१ भारतीय नाविकलाई सुरक्षित उद्धार गरिएको छ । अमेरिकी सेनाले ‘प्रिसिजन म्युनिसन्स’ प्रयोग गरी जहाजको इन्जिनलाई निशाना बनाएको जनाएको छ । अमेरिकी सेन्ट्रल कमान्डका अनुसार उक्त ट्याङ्करले इरानबाट तेल बोकेर नाकाबन्दी उल्लंघन गरिरहेको थियो। सेन्ट्रल कमान्डले जारी गरेको वक्तव्यमा चालक दललाई पटक–पटक चेतावनी दिइएको तर बेवास्ता गरिएकाले कारबाही गरिएको दाबी गरिएको छ ।
यस घटनाले खाडी क्षेत्रमा जारी तनाव तथा समुद्री व्यापार मार्गको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ, विशेष गरी भारतीय नागरिकको ज्यान गएको कारण । भारत सरकारले अमेरिकी दूतावासका उपप्रमुख जेसन मिक्सलाई तलब गरी औपचारिक विरोध जनाएको छ । विदेश मन्त्रालयले ओमानस्थित भारतीय दूतावासले उद्धार तथा खोजी कार्यमा ओमानी अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ । समुद्री गुप्तचर वेबसाइट ल्वाइड्स लिस्टका अनुसार सेटेबेलो हालैका दिनमा ओमानको दुक्म बन्दरगाह नजिक रोकिएका र अमेरिकी निगरानीमा रहेका जहाजहरूमध्ये एक थियो ।
यसअघि संयुक्त अधिराज्य समुद्री व्यापार सञ्चालन केन्द्रले ओमानको सोहर बन्दरगाहबाट करिब २० समुद्री माइल उत्तर–पूर्वमा रहेको एक ट्याङ्करको इन्जिन कक्षमा आगलागी भएको र चालक दलको उद्धार भइरहेको जनाएको थियो । प्रारम्भिक विवरणमा एक जनाको मृत्यु र दुई जना बेपत्ता भएको उल्लेख गरिएको थियो । भारतले क्षेत्रका व्यापारिक जहाज तथा नागरिक पूर्वाधारमाथि भइरहेका आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय कानुनअनुसार समुद्री मार्गमा स्वतन्त्र र निर्बाध आवागमन सुनिश्चित गर्न आग्रह गरेको छ ।
सैन्य तनाव थप बढ्ने संकेत
जहाजहरूको निगरानी गर्ने वेबसाइटहरूका अनुसार सेटेबेलो यसअघि चीनसम्म पुगेको थियो । मार्च र अप्रिलमा दुई पटक चीन पुगेको उक्त जहाजले अप्रिलको अन्त्यदेखि मेको सुरुसम्म लियानयुङगाङ बन्दरगाहमा माल उतारेको थियो र मे १२ मा सिंगापुरबाट प्रस्थान गरेको थियो । अप्रिल १३ देखि अमेरिकाले इरानी बन्दरगाहहरूमाथि नाकाबन्दी सुरु गरेको थियो । त्यसअघि इरानले क्तचबष्त या ज्यचmगश हुँदै हुने जहाज आवागमनमा कडाइ गरेको थियो ।
यस घटनाले खाडी क्षेत्रमा बढ्दो सैन्य तनाव, समुद्री व्यापारको सुरक्षा र विदेशी द्वन्द्वमा फस्ने भारतीय नाविकहरूको सुरक्षाबारे नयाँ चिन्ता थपेको छ । यसैबीच अमेरिका र इरानबीचको तनाव कम हुने संकेत देखिएको छैन । अमेरिकी राष्ट्रपति म्यलबमि त्चगmउ ले इरानले शान्ति सम्झौतामा हस्ताक्षर गर्न ढिलाइ गरिरहेको र अमेरिकालाई झुक्याइरहेको आरोप लगाएका छन् ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । त्यसको जवाफमा इरानले इजरायल तथा अमेरिकाका सहयोगी खाडी राष्ट्रहरूमाथि मिसाइल र ड्रोन आक्रमण सुरु गरेको थियो । त्यसपछि द्वन्द्व विस्तार हुँदै मार्चमा लेबनानसम्म पुगेको थियो ।
अप्रिलमा अमेरिका र इरानबीच अस्थायी युद्धविराम भए पनि नयाँ आक्रमण, आरोप–प्रत्यारोप र अविश्वासका कारण त्यो अत्यन्त कमजोर अवस्थामा पुगेको छ । त्यसैले क्षेत्रीय स्तरमा पुनः ठूलो सैन्य टकराव हुने जोखिम कायम रहेको विश्लेषण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !