विद्यालयमै उद्यमको अभ्यास, विद्यार्थीले बनाए विद्युतीय सामग्री
धादिङ : विद्यालयमा घण्टी बज्छ, विद्यार्थी कक्षाकोठामा प्रवेश गर्छन् र पाठ्यपुस्तकका अध्याय पढ्छन्। सामान्यतया विद्यालयको चित्र यही हो। तर धादिङको धुनिवेशी नगरपालिका स्थित त्रिकुटेश्वरी माध्यमिक विद्यालयमा भने विद्यार्थीहरू किताबसँगै तार, स्विच, बल्ब र विद्युतीय उपकरणसँग पनि व्यस्त देखिन्छन्। उनीहरू केवल पढिरहेका छैनन्, सिकिरहेका छन्, उत्पादन गरिरहेका छन् र उद्यमशीलताको अभ्याससमेत गरिरहेका छन्।
विद्यालयमा सञ्चालन भइरहेको ‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले आफ्नै हातले विभिन्न विद्युतीय सामग्री निर्माण गरिरहेका छन्। उनीहरूले तयार पारेका विद्युतीय बत्ती तथा अन्य सामग्री हाल बिक्रीका लागि समेत उपलब्ध छन्। यसले विद्यालयको सिकाइलाई कक्षाकोठाबाट उत्पादन र बजारसम्म विस्तार गरेको छ।
हालै विद्यालयमा विज्ञान तथा इलेक्ट्रिकल प्रयोगशालाको उद्घाटनसँगै विद्यार्थीहरूले निर्माण गरेका सामग्रीको बिक्री शुभारम्भ गरिएको छ। विद्यालयको स्कुल अफ इलेक्ट्रिकल इन्जिनियरिङ अन्तर्गत स्थापना गरिएको प्रयोगशालामा विद्यार्थीहरूले विद्युत् सम्बन्धी आधारभूत सिद्धान्तदेखि व्यवहारिक अभ्याससम्म गर्ने अवसर पाएका छन्। पाठ्यपुस्तकमा पढेका विषयलाई प्रत्यक्ष प्रयोग गरेर बुझ्न पाउँदा सिकाइ अझ प्रभावकारी बनेको शिक्षकहरू बताउँछन्।
प्रधानाध्यापक रमेश कँडेलका अनुसार विद्यालयले विद्यार्थीलाई केवल परीक्षा उत्तीर्ण गराउने उद्देश्य राखेको छैन। उनीहरूलाई जीवनमा उपयोगी हुने सीप प्रदान गर्दै आत्मनिर्भर बन्ने आधार तयार गर्ने प्रयास भइरहेको छ। ‘सिक्दै कमाउँदै’ कार्यक्रमले विद्यार्थीमा श्रमप्रतिको सम्मान, आत्मविश्वास र उद्यमशील सोचको विकास गरिरहेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !