३ लाख बालबालिकाले खान्छन् स्वर्ण बिन्दु प्राशन

३ लाख बालबालिकाले खान्छन् स्वर्ण बिन्दु प्राशन

बुटवल : २५ वटा जिल्लामा मात्र सीमित रहेको स्वर्ण बिन्दु प्राशन कार्यक्रम अबदेखि सबै जिल्लामा विस्तार हुने भएको छ। एक वर्ष पूरा भएका र पाँच वर्ष उमेर ननाघेका बालबालिकाहरूका लागि जिल्लास्थित आयुर्वेद स्वास्थ्य केन्द्रहरू मार्फत खुवाइँदै आइरहेको स्वर्ण बिन्दु प्राशन सबै जिल्लामा विस्तार हुने भएको हो।

बालबालिकाहरूको रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि हुने भएपछि स्वर्ण बिन्दुप्रति अभिभावकहरूको आकर्षण बढ्दै गएको पाइएको छ। संघ र केन्द्र सरकारले मात्र सञ्चालन गरेको यो कार्यक्रम अहिले स्थानीय तहले समेत सञ्चालन गरिरहेका छन्।

३ लाख ६२ हजार बालबालिका लाभान्वित

हाल देशभर स्वर्ण बिन्दु प्राशन खाने बालबालिकाहरूको संख्या ३ लाख ६२ हजार ७ सय ७१ पुगेको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको तथ्यांकअनुसार १ लाख ८७ हजार ५ सय १० जना बालक र १ लाख ७५ हजार २ सय ६१ जना बालिकाहरू छन्। देशभर सबैभन्दा पहिले प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी, दाङबाट यो कार्यक्रम सञ्चालन गरिएको थियो।

यसको प्रभावकारिता र बालबालिकाहरूमा राम्रो प्रभाव पर्दै गएपछि नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ बाट वार्षिक नीति तथा कार्यक्रममा राखेर स्वर्ण बिन्दु खुवाउने कार्यक्रम सञ्चालन गरेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका आयुर्वेद चिकित्सक एवं सूचना अधिकारी डा. पुनेश्वर केशरीले जानकारी दिए।

‘नेपाल सरकारले आधिकारिक रूपमा गत वर्षको साउनदेखि कार्यक्रम अघि सारेको हो,’ उनले भने, ‘छिमेकी मुलुक भारतमा यो कार्यक्रम धेरै प्रभावकारी भएको नतिजापछि नेपाल सरकारले पनि यसलाई सञ्चालन गरेको हो। सुरुमा लुम्बिनी र मधेस प्रदेशका बालबालिकाहरूले यसको उपभोग गरेका थिए।’ भर्खरै सुरु भएको चालु आर्थिक वर्षदेखि देशभरका बालबालिकाहरूले स्वर्ण बिन्दु प्राशन खाने कार्यक्रम सञ्चालन हुने 
उनले जानकारी दिए।

‘स्वर्ण बिन्दुलाई नियमित खोपको रूपमा बुझ्नु हुँदैन,’ केशरी भन्छन्, ‘यो बालबालिकाको शारीरिक र मानसिक वृद्धि विकासका लागि खुवाउने हो। यो खुवाएपछि उनीहरूको स्मरणशक्तिमा समेत वृद्धि हुन्छ। रोगसँग लड्न सक्ने शक्तिको विकास हुन्छ। देशभरबाट धेरै राम्रो फिडब्याक आइरहेकाले सबै जिल्लामा कार्यक्रम सञ्चालन हुँदैछ।’ राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरबाट यसबारे थप अनुसन्धानसमेत सुरु भइरहेको केशरीले जानकारी दिए।

अघिल्लो आर्थिक वर्षमा स्वर्ण बिन्दु प्राशनका लागि एक लाख रुपैयाँमात्र बजेट विनियोजन भएको थियो। यो वर्ष ३ लाख रुपैयाँ छ। तर, यो बजेट पर्याप्त छैन। स्वर्ण बिन्दु प्राशनमा सेवाग्राहीको संख्या मासिक रूपमा बढ्दै गएको छ। गुल्मीकै रुरुक्षेत्र गाउँपालिकाले रिडी र बलेटक्सारबाट पनि यो सेवा दिइरहेको छ।
डा. जीवन बस्याल, कार्यालय प्रमुख, आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मी

प्रभावकारिता र बालबालिकाहरूमा राम्रो छ। त्यसैका कारण यस आर्थिक वर्षदेखि देशभर कार्यक्रम सञ्चालन हुँदैछ। स्वर्ण बिन्दुलाई नियमित खोपको रूपमा बुझ्नु हुँदैन। यो बालबालिकाको शारीरिक र मानसिक वृद्धि विकासका लागि खुवाउने हो। यो खुवाएपछि उनीहरूको स्मरण शक्तिमा समेत वृद्धि हुन्छ।
डा. पुनेश्वर केशरी आयुर्वेद चिकित्सक एवं सूचना अधिकारी, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग

कुन अस्पतालमा कति बालबालिकाले खान्छन् ? 
आर्थिक वर्ष २०८२÷८३ मा सबैभन्दा धेरै बालबालिकाहरूलाई स्वर्ण बिन्दु प्राशन खुवाउनेमध्ये प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरी दाङ रहेको छ। जहाँ ३३ हजार ५ सय ८६ जना बालक र ३९ हजार २ सय ४१ बालिका गरी कुल ७२ हजार ८ सय २७ जनाले खाने गरेका छन्। यही चिकित्सालयले स्वर्ण बिन्दुको थालनी गरेको थियो। चिकित्सकका अनुसार कम्तीमा पनि ३०औं पटक खुवाउनुपर्छ। बिजौरीले गत आर्थिक वर्षमा १४ औं पटकसम्मको डोज खुवाइसकेको छ।

त्यस्तै, धेरै बालबालिकाहरूलाई खुवाउनेमध्ये अर्को प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेत छ। यहाँ ६५ हजार ९२ जना बालबालिकाहरूले खाइरहेका छन्। त्यसमध्ये ३७ हजार ४ सय २१ जना बालक र २७ हजार ६ सय ७१ जना बालिका छन्। झापाको प्रादेशिक आयुर्वेद चिकित्सालय लखनपुरमा कुल २६ हजार ३ सय १८ जनाले खाइरहेका छन्। त्यसमध्ये १३ हजार ९ सय ४७ जना बालक र १२ हजार ३ सय ७१ जना बालिका छन्। जहाँ १३औं डोज पुगेको छ।

राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर दाङमा १८ हजार ८ सय ९० जना बालक र १९ हजार ४ सय ८ जना बालिका गरी कुल ३८ हजार २ सय ९८ जना बालबालिकाहरूले स्वर्ण बिन्दु खाइरहेका छन्। यहाँ नवौं पटकको डोज पूरा भएको छ। बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्रमा ११औं पटकको डोज पुगेको छ। जहाँ ७ हजार ५२ जना बालक र ६ हजार ३ सय ९ जना बालिका गरी कुल १३ हजार ३ सय ६१ जनाले खाइरहेका छन्।

लुम्बिनी प्रदेशकै लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलमा १० हजार ९ सय १० जना बालबालिकाहरूले स्वर्ण बिन्दु प्राशन खाइरहेका छन्। यहाँ पनि ११औं डोज पुगिसकेको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चितवनमा ३ हजार ९ सय ८६ जना बालक र ३ हजार ६ सय ९५ जना बालिका गरी कुल ७ हजार ६ सय ८१ जनाले स्वर्ण बिन्दु प्राशन खाइरहेका छन्। जहाँ १४औं डोज पुगेको छ।

प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सप्तरीमा बालक १ हजार ५ सय ३८ र १ हजार ३ सय २२ जना बालिका गरी कुल २ हजार ८ सय ६० जनाले खाएका छन्। यहाँ १४औं पटकसम्म खुवाइएको छ।null

त्यस्तै, रौतहटस्थित प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा २ हजार ८ सय ४० जना बालक, २ हजार ३ सय ८६ जना बालिका गरी कुल ५ हजार २ सय २६ जनाले सेवा लिएका छन्। यहाँ पनि १४औं पटकसम्म बालबालिकाहरूले खाएका छन्। राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बूढानीलकण्ठमा ७ सय ७७ जना बालक र १ हजार ३० जना बालिका गरी १ हजार ८ सय ७ जनाले सेवा लिएका छन्। यहाँ ६ पटकसम्म खुवाइएको छ। महाकाली आयुर्वेद औषधालय कञ्चनपुरमा १ हजार ८ सय ४१ जना बालक, १ हजार ७ सय ६० जना बालिका गरी कुल ३ हजार ६ सय १ जनाले सेवा लिएका छन्। जहाँ आठौं पटकसम्म खुवाइएको छ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भक्तपुरमा १ हजार ९ सय २ जना बालक र १ हजार ८ सय ८३ जना बालिका गरी ३ हजार ७ सय ५८ जनाले सातौं पटकसम्म खाएका छन्। सर्लाहीस्थित प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा ७ सय ७२ जना बालक र ६ सय ८ जना बालिकाले सेवा लिएका छन्।

त्यस्तै, तनहुँको प्रदेश आयुर्वेद चिकित्सालयमा १ हजार ३ सय ५९ जना बालक, १ हजार ४ सय १९ जना बालिका गरी कुल २ हजार ७ सय ७८ जनाले सातौं पटकसम्म खाएका छन्। आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लामा २ हजार २ सय ८४ जना बालक र १ हजार ६ सय ८२ जना बालिका गरी कुल ३ हजार ९ सय ६६ जनाले सेवा लिएका छन्।

लुम्बिनीमा आकर्षण बढी
तथ्यांकअनुसार लुम्बिनी प्रदेशमा स्वर्ण बिन्दु प्राशन खुवाउनेहरूको संख्यामा उल्लेखनीय वृद्धि हुँदै गएको छ। देशभरमै लुम्बिनी प्रदेशकै दाङस्थित प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीबाट यसको थालनी भयो र त्यसपछि देशभर सुरुवात गरियो। स्वर्ण बिन्दुको जग बसाल्ने प्रदेशको रूपमा पनि यो प्रदेशलाई केन्द्र सरकारले हेर्ने गरेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका आयुर्वेद चिकित्सक एवं सूचना अधिकारी डा. पुनेश्वर केशरीले 
बताएका छन्।

बिजौरीबाट देशभरमै धेरै बालबालिकाहरूले सेवा लिइरहेका छन्। ७२ हजार ८ सय २७ जना बालबालिकाहरूले यहाँबाट सेवा लिएको तथ्यांक छ। लुम्बिनी प्रदेशकै पहाडी जिल्ला रोल्पामा तीन महिनाको अवधिमा २ हजार २ सय ७९ जना बालबालिकाहरूले सेवा लिएको आयुर्वेद स्वास्थ्य केन्द्र रोल्पाका निमित्त कार्यालय प्रमुख शिशिर पोख्रेलले जानकारी दिए। तीमध्ये १ हजार २ सय २६ जना बालक र १ हजार ५३ जना बालिका छन्। वैशाखमा ४ सय ३७ जनाले सेवा लिएकोमा असार महिनामा आउँदा ६ सय ७ जनाले सेवा लिएको पोख्रेलले जानकारी दिए।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्र, नेपालगञ्जमा तीन महिनाकै अवधिमा कुल १ हजार २ सय ४ जनाले सेवा लिएका छन्। तीमध्ये बालक ५ सय ८३ जना र बालिका ६ सय २१ जना रहेका छन्। लुम्बिनी प्रदेशकै एकमात्र हिमाली जिल्ला पूर्वीरुकुममा सेवा लिनेको संख्या अत्यन्तै कम छ। जहाँ ३ सय ८१ जनाले मात्र स्वर्ण बिन्दु प्राशन खाएका छन्। त्यसमध्ये २ सय २ जना बालक र १ सय ७९ जना बालिका छन्। यो जिल्लामा तीन वटामात्र स्थानीय तह छन्, जो गाउँपालिकामात्र हुन्।

प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रमा २ हजार ३ सय ७९ जनाले सेवा लिएका छन्। बालक १ हजार २ सय ८९ र बालिका १ हजार ९० जना छन्। लुम्बिनीकै पहाडी जिल्ला अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रबाट ४ हजार ४ सय ५६ बालक र ३ हजार ५ सय २६ बालिका गरी ७ हजार ९ सय ८२ जनाले सेवा लिएका छन्। पाल्पामा ३ हजार ९ सय ५३ जनाले सेवा लिएका छन्। तीमध्ये बालक २ हजार ७० र बालिका १ हजार ८ सय ८३ जना छन्।

बजेट पर्याप्त छैन

आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीका कार्यालय प्रमुख डा. जीवन बस्यालले अघिल्लो आर्थिक वर्षमा स्वर्ण बिन्दु प्राशनका लागि एक लाख रुपैयाँमात्र बजेट विनियोजन भएको जानकारी दिए। ‘कार्यालय आएर सेवा लिने सेवाग्राहीको संख्या मासिक रूपमा बढ्दै गएको छ,’ बस्यालले भने, ‘तर, यो कार्यक्रम सञ्चालन गर्न पर्याप्त बजेट छैन।’ उनले अघिल्लो वर्षको तुलनामा यस वर्ष बजेट तीन लाख रुपैयाँ विनियोजन भए पनि त्यो पर्याप्त नभएको प्रतिक्रिया दिए।

गुल्मीकै रुरुक्षेत्र गाउँपालिकाले रिडी र बलेटक्सारबाट पनि स्वर्ण बिन्दु प्राशन खुवाइरहेको बस्यालले बताए। ‘नागरिक स्तरबाट यसको प्रतिक्रिया धेरै राम्रो आएको छ,’ उनले भने, ‘मौसमी रुघाखोकी लाग्नबाट धेरै बच्चाहरू जोगिएको समेत हामीले गाउँ पुग्दा अनुभव सुन्न र देख्ने गरेका छौं।’ असार ३१ गते बालक ६ सय २७ र बालिका ३ सय ६४ जना गरी कुल ९ सय ९१ जनाले जिल्लाबाट स्वर्ण बिन्दु खाएको बस्यालले जानकारी दिए। लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलकी प्रमुख डा. कलावती विश्वकर्माले पनि पर्याप्त बजेट विनियोजनमा सरकारले ध्यान नदिएको गुनासो गरिन्। ‘हाम्रो चिकित्सालयमा संघीय सरकारबाटै पाँच लाख रुपैयाँ बजेट यस कार्यक्रमका लागि आउने गरेको छ,’ उनले भनिन्, ‘तर, यो बजेट पर्याप्त छैन।’

कसरी बन्छ स्वर्ण बिन्दु प्राशन ? 
आयुर्वेद चिकित्सकका अनुसार स्वर्ण बिन्दु प्राशन विभिन्न प्रकारका सामग्रीहरूको मि श्रणबाट बनाउने गरिन्छ। त्यसमध्ये स्वर्ण भस्म अर्थात् शुद्ध गरिएको सुनको भस्म यसमा मिसाइन्छ। त्यस्तै, मह औषधि मिसाउन र स्वादका लागि प्रयोग हुन्छ। गाईको घिउसहित ब्राह्मी, शंखपुष्पी, वचा, गुडुची, यष्टिमधु, अश्वगन्धा र पिप्पली नामको आयुर्वेदिक जडीबुटीहरू मिसाएर बनाउने गरिएको आयुर्वेद चिकित्सक डा. जीवन बस्यालले बताए।

बजेटमात्रै ८१ लाख
संघ सरकार मातहत रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका अनुसार आर्थिक वर्ष २०८३/८४ मा देशभर कुल ८१ लाख ३६ हजार रुपैयाँ बजेट स्वर्ण बिन्दु प्राशन कार्यक्रम सञ्चालन गर्नका लागि विनियोजन गरिएको छ। यो बजेट देशभरका ३८ वटा आयुर्वेद स्वास्थ्य संस्थाहरूका लागि हो। नागरिकको आकर्षण बजेटले त्यसलाई सम्बोधन गर्न नसकेको चिकित्सकहरू गुनासो गर्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.