१५ सन्तानका ‘अन्तरे बा’
गोरखा : परिवार नियोजन कार्यक्रम लागू भएपछि ‘छोरा र छोरी दुई आँखाका नानी’, ‘दुईमात्र सन्तान, ईश्वरको वरदान’ जस्ता उक्ति लोकप्रिय भए।धेरैले यसलाई व्यवहारमा उतारेर सुखी जीवन बिताएका पनि थिए।त्यसैले जनसंख्या अपेक्षित रूपमा व्यवस्थित पनि भएको थियो।
तर, क्रमशः समय बदलियो। एकमात्र सन्तान जन्माएपछि ‘भयो’, ‘पुग्यो’ भन्ने मान्यता समाजमा हाबी भइरहेको छ। तर, यो अवधारणालाई प्राकृतिक सन्तुलनको प्रतिकूल छ भनेर आलोचना पनि नभएको त होइन। आरुघाट गाउँपालिका–३ स्याम्राङमा ‘अन्तरे बा’ त्यस्ता जीवित उदाहरण हुन्, जसले १५ सन्तान जन्माए, हुर्काए, बढाए, पढाए र गरिखान सक्ने बनाए।
सबैको मुखमा ‘अन्तरे बा’ झुन्डिए पनि उनको वास्तविक नाम नरबहादुर देवकोटा खत्री हो।उनी आफूहरूलाई राजेश्वर देवकोटाको खलक भन्न रुचाउँछन्।‘हाम्रा बराजुहरू यहाँ श्री ५ को वायुगुठी उठाउने जिम्मा लिएर आएका रहेछन्’, उनी भन्छन्, ‘पछि बाजेको पालादेखि खत्री भएका रहेछौं।’ उनका आफ्नै पनि ६ दाजुभाइ थिए।त्यसमध्य उनी अन्तरे हुन्।
उमेरले ९८ नाघेका उनी अहिले पनि हट्टाकट्टा छन्। अनुहार रातोपिरो नै देखिन्छ।पुगनपुग ७ फिट अग्ला अन्तरे बाको बोली अहिले पनि दमदार छ।उनका दुई पत्नीमध्य जेठी हिमाको १० वर्षअघि देहावसान भइसक्यो।कान्छी जुठी अहिले साथमा छिन्। जीवनसाथी, छोराछोरी, नाति, नातिनी, पनाति, पनातिनीको अपार माया, ममतामा वृद्ध रमाएरै बिताइरहेका छन्।‘९८ वर्ष कटेँ, ९९ अल्ली भा’ छैन’, उनी भन्छन्, ‘खेतबारीको काम गर्न त सक्दिनँ।हिँड्डुल गरिराछु।अहिले पनि जात्रा मेलामा बोलाइरहन्छन्।
पोहोरसम्म त हिँडेको थिएँ।यसपालि हिँडेको छैन।’ उनका १० छोरा र ५ छोरी छन्।‘२५ वर्षमा हिमासँग बिहे भयो।उनीबाट ५ छोरा र ३ छोरी जन्मिए।कान्छीपट्टि पनि ५ छोरा र २ छोरीहरू जन्मिए’, उनी भन्छन्, ‘बोलाउने नाम त सबैको आउँछ।लेख्ने नाम त खै के–के छ कुन्नी ? जान्दिनँ।’
अहिले सबैको बिहेवारी भइसक्यो।आआफ्नो घरजम गरेर बसिसकेका छन्।चाडपर्वमा सबैजना जम्मा हुन्छन्।‘छोराछोरी, नाति, नातिनी, पनाति पनातिनी जोड्दा १ सय १६ जना त पोहोरै गनेको हो।अहिले कति भए होलान्।’ धेरै जना धेरैतिर फिँजिए।अहिले कोहीसँग भेट हुन्छ, कोहीसँग हुँदैन।‘दसैं –तिहारमा भेला हुन्छन्।टीकाटाला गर्दा एक—एक सय रुपैयाँ दिँदा पनि २०, २५ हजार रुपैयाँ सकिन्छ’, उनी भन्छन्, ‘सबै जम्मा हुँदा धेरै रमाइलो हुन्छ।’
उनका छोराहरूतर्फ पनि ७, ८ जनाका दरले नाति, नातिनी छन्।‘जेठो छोरातिर ७ सन्तान, माहिलातिर ८ नाति, नातिनी छन्।सबैतिर यस्तै–यस्तै छन्’, उनी भन्छन्।
आफूलाई गोरखामात्र नभई धादिङ, तनहुँ, लमजुङलगायत गण्डकी प्रदेशका प्रायः सबै जिल्लाका आफ्नो पुस्ताकाले चिन्ने उनको विश्वास छ।‘अन्तरे खत्री, भनेपछि धादिङ, चितवनदेखि पोखरा, बागलुङसम्म जम्मैले चिन्छन्’, उनी भन्छन्, ‘जात्रा, मेलामा जान्थ्यौं।नाचगान गरिन्थ्यो, जुवातास खेलिन्थ्यो।रंगरस गरिन्थ्यो।हाम्रो त जमाना नै छुट्टै।’ कैयौं जात्राहरू आफैंले सुरु गरेको उनको भनाइ छ।
गोरखाको अठार सय खोलाका त उनी अभिभावक।‘३० वर्षको पञ्चायतकालमा १२ वर्ष त प्रधानपञ्च भएँ’, उनी भन्छन्, ‘बहुदल आएपछि कांग्रेस पनि भएँ, एमाले पनि भएँ।त्यो बेलामा पनि १० वर्ष अध्यक्ष भएँ।’
१५ सन्तान भए पनि व्यवस्थापनमा कुनै समस्या नभएको उनको भनाइ छ।‘मेरो पुख्र्यौली सम्पत्ति नै कति गर्ने, कति नगर्ने भन्ने थियो, झन्, जेठीतिरको पनि अपुताली स्याहार्नुपर्यो, कान्छीतिर पनि अपुताली स्याहार्नुपर्यो’, उनले भने, ‘अनि त कसरी पुर्याउने भन्ने नै भएन, बरु कसरी गर्ने भन्ने भयो।’ जति जना भए पनि आफ्नो सन्तान धेरै नलाग्ने, कुनैलाई माया, कुनैलाई घृणा नलाग्ने अनुभव उनको छ।
प्रतिक्रिया दिनुहोस !