राजदूत शेर्पालाई के गर्ने ?, छानबिन टोली नै अलमलमा
काठमाडौं : अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा विवादमा परेपछि उनलाई के गर्ने सरकार अलमलमा परेको छ। उनमाथि लागेको आरोप सत्य भए नभएको छानबिन समितिले अझै स्पष्ट पार्न नसकेपछि सरकार नै अलमलमा परेको हो।
प्रारम्भिक अध्ययनका आधारमा सञ्चारमाध्यममा आएका सबै असत्य भन्न नसकिने हुनाले केही समय लाग्ने दोधारे मौखिक जानकारी समितिले दिइरहेको छ। समितिले अध्ययन थालेको एक साता बितिसकेको छ। आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सचिव शंकरदास बैरागी अमेरिका जाने हुनाले बिहानै कुनै टुंगोमा पुग्नुपर्ने धारणा राजनीतिक नेतृत्वको रहेको परराष्ट्रका अधिकारीले बताए। परराष्ट्र सचिव बैरागी आइतबार चीनबाट फर्कंदै छन्। उनी नेपाल–चीन संयन्त्र बैठकका लागि गएका थिए। उनी आएलगत्तै यसमा छलफल हुने बताइएको छ। समितिले आइतबार मन्त्रालयमा औपचारिक धारणा बुझाउने तयारी गरेको छ।
परराष्ट्र मन्त्रालयका ३ सहसचिव संलग्न समितिले विभिन्न कोणबाट छानबिन गरेको बताइएको छ। ‘समितिले अध्ययन गरिरहेको छ। सबै कोणबाट अध्ययन गरिरहनुभएको जानकारी दिइएको छ। समितिको सुझावका आधारमा नै निर्णय हुने हो’, परराष्ट्रका सहप्रवक्ता रामबाबु ढकालले भने, ‘अहिले नै यो वा त्यो भन्न मिल्दैन। जे पनि हुनसक्छ।’ सत्य तथ्य पत्ता लगाउन गठन भए पनि समितिसमेत ‘राजनीतिक मुड’ बुझ्न खोज्दैछ।
शेर्पा गत आइतबार मन्त्रालयमा स्पष्टीकरणका लागि आइपुगेकी हुन्। मन्त्रालय अझै यसबारे स्पष्ट हुन नसक्नुलाई राजनीतिक भेटघाटलाई समेत एउटा कारण मानिएको छ। काठमाडौं ओर्लनासाथ मन्त्रालय पुगेकी शेर्पाले त्यसपछि राजनीतिक भेटघाटमा व्यस्त भइन्। छानबिन समिति र समिति सदस्यसँग पनि उनले पटक पटक संयुक्त र छुट्टाछुट्टै भेटिन्।
देशको प्रतिनिधित्व गर्ने व्यक्ति विवादमा परेपछि कुन आधारमा टुंगो लगाउने समिति नै अझै स्पष्ट हुन नसकेको एक सदस्यले बताए। ‘बदनाम भैसकेको छ कसरी गएर राजदूतले काम गर्न सक्छिन् भन्ने विषय सरकारले बुझ्ने हो’, एक सदस्यले भने, ‘यस्ता विषयमा सहजै नतिजा आउँदैन। समय लाग्न सक्छ। हामी अध्ययन गरिरहेका छौं।’ उनले राजनीतिक नेतृत्वसँग भेटेर प्रभावमा पार्न सक्ने भन्दै समितिले भित्रभित्रै काम गरिरहेको पनि उनले बताए। उनीहरूले छानबिनमा समय लाग्ने भएकाले तत्कालका लागि राजीनामा उपयुक्त विकल्प भन्न थालेका छन्।
लगातार प्रयास गर्दा पनि राजदूत शेर्पा सम्पर्कमा आउन चाहिनन्। उनले मन्त्रालयको निर्णयमा भर पर्ने र आफू निर्दोष रहेको दाबी गर्दै हिँडेकी भए पनि उनी सम्पर्कमा आइनन्। विवादमा परेपछि दुईपक्षीय सम्बन्ध नै असहज हुने र विवादित व्यक्ति फेरि राजदूतको काम गर्न समस्या आउने भएकाले उनलाई बर्खास्त वा सजायको पाटो थाँती राखेर तत्काललाई राजीनामा गराउन सक्ने स्रोतले बतायो।