महिला बजाउँछन् नौमती
धनकुटा : धनकुटाका गाउँमा हिजोआज पुरुष होइन, महिलाले नौमती बाजा बजाउँछन्। पञ्चेबाजा बजाउने चलन हराउँदै गएपछि छथर जोरपाटी गाउँपालिका-६ नाम्जाङका महिला यसको संरक्षणमा सक्रिय भएका हुन्।
उत्सव, मेला, पर्व, विवाह, व्रतबन्ध र विशेष अवसरमा पञ्चेबाजा बजाउने भेटिँदैनन्। तर, स्थानीय महिलाले थरीथरी धुन निकालेर स्थानीयको मन जित्दै छन्। लोप हुन लागेको संस्कृति संरक्षणका लागि नौमती बाजा खरिद गरिएको आइतबारे शान्ति क्लबकी अध्यक्ष कविता बस्नेतले बताइन्।
‘धेरै पुरुष त वैदेशिक रोजगारीमा छन्’, उनले भनिन्, ‘बाजा बजाउने मान्छे पनि भेटिन छाडेपछि महिलाले गर्दा के नै हुन्छ भनेर सुरु गरेका हौं।’ देउसीभैलोबाट संकलित १ लाख ४५ हजार रुपैयाँ लगानी गरेको उनले सुनाइन्। स्थानीय महिलाले क्लबको अगुवाइमा हरेक वर्ष छथरजोरपाटीका विभिन्न स्थानमा दैउसीभैलो कार्यक्रम सञ्चालन गर्छन्।
समूहले पहिलो पटक सिँधुवा बजारमा नौमती बाजा बजाएर र्याली निकालेको थियो। उनीहरूले संगिनी गीत गाएर, नाचेर रमाइलो गरेका थिए। महिलाले नौमती बाजा बजाएको हेर्न भीड लागेको थियो। फेन्सी व्यवसायी नवनीत खड्काले क्लबको कार्य सराहनीय रहेको बताए।‘समुदायविशेषले मात्र संस्कृति संरक्षण गर्ने होइन’, उनले भने, ‘सबैले संरक्षणमा चासो देखाउँदा प्रोत्साहन हुन्छ।’
क्लबमा आबद्ध सदस्यले १५ दिने तालिम लिएका छन्। ‘नेपाली कला संस्कृतिको जगेर्नासहित नौमती बाजा संरक्षण गर्ने उद्देश्यले अभियान थालेका हौं’, अध्यक्ष बस्नेतले भनिन्, ‘लोपोन्मुख अन्य बाजा संरक्षणमा पनि हामी लाग्छौं।’
क्लबको यो अभियानमा पुरुषले साथ दिएका छन्। ‘राम्रो काममा हामीले साथ दिएका छौं’, स्थानीय अगुवा दीपक गुरुङले भने, ‘महिलाहरू बाजा बजाउन सक्रिय हुनुले सकारात्मक सन्देश गएको छ।’ बाजा बजाउने मान्छे बाहिरबाट ल्याउनुपर्ने बाध्यता हटेको स्थानीयको भनाइ छ।
ट्याम्को अध्यक्ष, वागदल विष्णु घिमिरे, समया सीता घिमिरे, झ्याम्टा राधिका बस्नेतलगायत मिलेर बजाउँछन्। भगीरथ बस्नेत र उमेश गुरुङले सनइ, अमर घिमिरे, नेत्र बस्नेत, टंक बस्नेतले नर्सिंगा बजाउन साथ दिएका छन्। समूहका सदस्यका घरमा निःशुल्क र बाहिर व्यवस्थापन खर्च लिने निर्णय गरिएको गुरुङले बताए।