हर्ताकर्ता लेखनदास
ओखलढुंगा : भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशन ओखलढुंगा मालपोत कार्यालयले पालना गरेको छैन। सर्वोेच्च अदालतको आदेशले गर्दा निर्देशनअनुरूप काम गर्न नसकिएको कार्यालय प्रमुख कुलप्रसाद दाहालको भनाइ छ। ‘अदालतको आदेश आएकाले केही गर्न नसकिएको हो’, उनले भने, ‘बिचौलिया कोही छैनन्। लेखापढी व्यवसायीले सहयोग मात्र गरेका हुन्।’
कार्यालयमा अनधिकृत व्यक्तिको प्रवेश रोक्न, लेखापढी व्यवसायीको कार्यालय हटाउन, लेखापढी गर्नेका नाम, ठेगानासहित इजाजतपत्र र प्यान नम्बर दर्ता गराउन विभागले भनेको थियो। लेखापढी व्यवसायीले लिने रकमको दर निर्धारण गर्न, बैंकहरूसँग समन्वय गरी काउन्टर सञ्चालन गर्न, सीसीटीभी जडान गर्न, टोकन प्रणाली लागू गर्न पनि निर्देशन दिइएको थियो। विभागले गत भदौ ५ गते देशभरका मालपोत कार्यालयलाई १० बुँदे निर्देशन पठाएको थियो। ओखलढुंगामा असोज ८ गते पत्र आए पनि त्यसअनरूप काम नभएको हो।
लेखापढी व्यवसायीले उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले कात्तिक १५ गते निर्णय कार्यान्वयनमा रोक लगाएको थियो। त्यसपछि मालपोतका फाँटमा बिचौलियाकै मनपरी छ। ढोकामै लेखापढी व्यवसायीको कार्यालय छ। कार्यालय प्रमुखसँग सेवाग्राहीको भेट आक्कलझुक्कल मात्र हुन्छ। सबै काम लेखापढी व्यवसायीले सकेर सेवाग्राहीलाई कागज मात्र ल्याइदिन्छन्। ‘मैले जग्गा नामसारी र कित्ताकाट गराएँ तर कार्यालयमा कोही भेट्नै परेन’, एक सेवाग्राहीले भने, ‘लेखापढी व्यवसायीले नै सबै मिलाए। हाकिमलाई दिनुपर्छ भनेर ५ हजार रुपैयाँ लिए। राजस्व कति हो भन्ने पनि थाहा भएन।’
कार्यालय प्रमुख दाहालसँग हालै एक व्यवसायी कानेखुसी गर्दै थिए। उनका हातमा लिखत, ढड्डा थिए। उनले सबै कागजात दाहालका अगाडि राखे। दाहालले उनको मुखमा हेर्दै ‘ल्याइहाल्नुभयो, विश्वास हो’ भन्दै धमाधम सही गरिदिए। लगत्तै अर्का लेखापढीले कागजात र ढड्डा ल्याए। उनका काम नसक्दै केही सेवाग्राही लिएर अर्का व्यवसायी आए। उनले धमाधम सबैको काम सकाएर पठाए। टारकेराबारीका गंगा विक भने काम नभएर अलमलिइरहेका थिए। उनी लेखापढी व्यवसायीलाई कर्मचारीसँग कुरा गर्न आग्रह गर्दै थिए। कुनै काम सेवाग्राही नै नदेखी कर्मचारीले सम्पादन गर्छन्। सेवाग्राही आफैं कर्मचारीका कार्यकक्षमा पुगेर गुनासो गर्दा पनि अनेक बहानामा झुलाइदिन्छन्। लेखापढी व्यवसायी नै पठाउनुपर्ने सेवाग्राहीको गुनासो छ।
कर्मचारीबाहेक अभिलेख खोज्न लेखापढी व्यवसायी र बिचौलिया नै लाग्छन्। सेवाग्राही गए कर्मचारीले काम गर्दैनन्। अनेक बहाना बनाएर फर्काइदिन्छन्। मोलुङ गाउँपालिकाका रमेश घिमिरेले दुई–तीन घण्टा कुरेर अनुरोध गरे पनि कर्मचारीले फुर्सद नभएको भनेर टेरेरन्। लेखापढी व्यवसायीलाई अनुरोध गरेपछि उनको काम बन्यो। ‘कर्मचारीले त हाम्रो कुरा नै सुन्दा रहेनछन्’, उनले भने।
लेखापढी व्यवसायी एसोसिएसनका जिल्ला अध्यक्ष इन्द्र कट्वालले प्रतीक्षालयमा सेवाग्राही बस्ने र सेवा लिने गरेको बताए। दैनिक २० जना लेखापढी व्यवसायीले काम गर्दै आएका छन्। उनीहरूले मनपरी रकम असुलेर कर्मचारीसम्म पु¥याउने गरेको सेवाग्राहीको दाबी छ।
‘सेवाग्राहीलाई फाँटमा पठाए दिनभर झुलाउँछन्’, एक लेखापढी व्यवसायीले भने, ‘अनि, सेवाग्राही नै आएर काम छिटो गराउन दबाब दिन्छन्। कर्मचारीलाई गोजीमा नहालिदिए काम छिटो हुँदैन। त्यो रकम त लिनै प¥यो नि।’ सेवाग्राही शमशेर विकका अनुसार कर्मचारीले सेवाग्राही नै भेट्दैनन्। उनीहरूले काममा झुलाउँछन्। ‘लेखापढीले कर्मचारीलाई भन्दै थप रकम लिँदा रहेछन्’, उनले भने।