गाँजा नखानूभन्दा गाउँपालिकाका सुरक्षा गार्डको हत्या
राजविराज : गाँजा सेवन गर्ने युवाको एक समूहले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका सुरक्षा गार्ड (पाले) २७ वर्षीय रिकेश भनिने परशुराम मिश्रको हत्या गरेका छन्।
गाउँपालिका कार्यालयको चौरमा लागूऔषध सेवन गरिरहेका युवाको समूहलाई गाँजा सेवन नगर्न भनेपछि शनिबार राति युवाले कुटपिट गर्दा मिश्रको आइतबार राति मृत्यु भएको सप्तरी प्रहरीले जानकारी दिएको छ।
कुटपिटबाट घाइते मिश्रको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार पछि थप उपचारका लागि बिराटनगरतर्फ पठाइएकोमा बाटोमै मृत्यु भएको एसपी राजेन्द्र विष्टले बताए।
मिश्रका वृद्ध आमा, बुवा, श्रीमति, दुई वर्षीय छोरा छन्। मिश्रको मृत्युसँगै आक्रोशित स्थानीयवासीले सोमबार तिलाठीस्थित राजविराज-कुनौली सडक खण्ड अवरुद्ध पार्दै प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले बाटोमा टायर बालेर तत्काल अपराधिलाई पक्राउ गरी कडा कारवाही गर्न माग गरेका छन्।प्रहरीले कुटपिट गर्ने व्यक्तिको खोजि भइरहेको बताएको छ।