पञ्चायतको सूत्रपातदेखि राजतन्त्रको 'मलामी' सम्म
काठमाडौं : निरंकुश पञ्चायती व्यवस्थाका धरोहर डा. तुलसी गिरीको निधन भएको छ। बुढानिलकण्ठस्थित सिद्धार्थ कोलोनीमा रहेको निवासमा बिहान ६ बजे उनको निधन भएको उनकी श्रीमती सराहा योन्जन गिरीले जानकारी दिइन्।
९३ वर्षीय डा. गिरी कलेजोको क्यान्सरबाट पीडित थिए। उनी हड्डी तथा मुटुको समस्याबाट पनि पीडित थिए। 'हामी सबै जागै थियौँ। उहाँको नर्स पनि सँगै थियो', सराहाले अन्नपूर्णसँग भनिन्, 'उहाँ निदाउनुभएको थियो। बिहान ६ बजे बिदा हुनुभयो।'
को हुन् डा. गिरी ?
सिरहाका तुलसी गिरी २००७ सालमा जहानीया राणा शासन अन्त्य भई प्रजातन्त्रको स्थापनापछिका पहिलो पुस्ताका नेपाली राजनीतिज्ञ हुन्।
पहिलो जननिर्वाचित सरकार अपदस्त गरेर पञ्चायती व्यवस्थाको शूत्रपात हुँदा होस् वा पछिल्लोपटक राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएका बेला होस्, डा. गिरी राजाका प्रिय पात्र रहे।
बुबा महेन्द्रदेखि छोरा ज्ञानेन्द्रसम्म उनी राजतन्त्रका बफादार रहे।
सम्पन्न परिवारका उनी २०१२ सालमै कांग्रेस कार्यसमितिमा महामन्त्री थिए। बीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारमा उनी मन्त्री थिए।
२०१७ पुस १ गते जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई अपदस्त गरेपछि पुस १२ गते बसेको पहिलो मन्त्रीपरिषद् बैठकमा राजा महेन्द्रले डा. गिरीलाई पहिलो स्थान दिएका थिए।
२०१९ चैत २० मा पञ्चायती संविधान आएपछि उनलाई मन्त्रिपरिषद् अध्यक्ष बनाइयो। तर २०२० पुस २२ गते राजासँग नीतिगत मतभेद देखाउँदै उनी सरकारबाट बाहिरिए।
सन्न्यास र कमब्याक
पहिलो फोटोमा डा. गिरी राजा महेन्द्रसँग। दोस्रो फोटोमा भारतीय पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीसँग। फोटो सौजन्यः जीवराम भण्डारी
२०२५ साल बैशाखमा उनलाई पक्राउ गरियो। उनी ३ महिना जेल बसे। तर २०२८ बैशाख १ मा राजाबाट राष्ट्रिय पञ्चायत सदस्य मननोति भए। २०२९ असोज २३ पुनः उनले त्यहाँबाट राजीनामा दिए।
केही समयपछि राजा वीरेन्द्रले उनलाई आफ्ना राजनीतिक सल्लाहकार नियुक्त गरे। २०३२ मंसिर १४ मा पुनः राष्ट्रिय पञ्चायत सदस्य नियुक्त गरी डा. गिरीलाई प्रधान मन्त्री बनाए।
२०३४ मा उनी 'गलैंचा काण्ड' मा मुछिएपछि उनलाई प्रधानमन्त्रीबाट हटाइयो।
'भ्रष्टाचार मुद्दा लगाइनुमा डा. गिरीको राजनीतिक छवि समाप्त पार्ने प्रयास गरेको थियो। जुन नेपालको ‘भ्रष्टाचार राजनीति’मा ऐतिहासिक ‘गलैंचा काण्ड’ले चिनिन्छ', लेखक हरिबहादुर थापाको पुस्तक 'रजगज' मा उल्लेख छ, 'निर्दलीय व्यवस्थाका हस्तीहरुलाई अभियुक्त बनाएपछि ‘ऐतिहासिक’ हुन पुगेको हो। २०३५ मा राजनीतिक सतहमा देखापरेको थियो। उनले २०३७ मात्र सफाइ पाएका थिए, गलैंचा काण्डबाट।'
जनमतसंग्रहका बेला पनि उनी पञ्चायती व्वस्थाकै पक्षमा रहे। तर २०३७ साल जेठ १ मा उनले सक्रिय राजनीतिक जीवनबाट बिदा लिने घोषणा गरे।
२०४२ सालमा एक वर्षसम्म मनाइएको पञ्चायत रजतजयन्ती पर्व– २०४२ का उनी संयोजक थिए। तर कार्यक्रम नसकिँदै उनी विदेसिए।
लामो समय श्रीलंका र भारतमा बसेका उनी १९ वर्षपछि पुनः राजनीतिक खेलमा देखा परे।
जब २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिए, तब उनी पुनः मन्त्रीपरिषद् उपाध्यक्षका रुपमा राजनीतिक मैदानमा देखिए। राजा महेन्द्रको दाहिने हात रहेर जननिर्वाचित सरकारलाई अपदस्त गर्न महत्वपूर्ण भूमिका खेलेका उनी ज्ञानेन्द्रको दाहिने हात बन्न त आइपुगे तर राजतन्त्र आफैं सधैँका लागि सकियो।
पञ्चायतको वैचारिक नेतृत्व
राजा महेन्द्रले पञ्चायतको शूत्रपात गरे पनि त्यसको वैचारिक राजनीतिक नेतृत्व भने तुलसी गिरीले नै गरेका थिए। राजा प्रेम र दलविहीन शासनको पक्षपाती भएकै कारण पछिल्लो उनी सधैँ विवादको केन्द्रमा रहने गर्थे।
लामो समय डा. गिरीको नजिक रहेका पत्रकार जीवराम भण्डारीका अनुसार 'विद्वता, बोल्डनेस, ज्ञान र राजनीतिक रुपमा कन्भिन्सि गर्ने क्षमता' का कारण उनी राजाको रोजाईमा परेका थिए।
'मुलुकको अव्यवस्थाको विषयमा खुब चिन्ता गर्नुहुन्थ्यो', भण्डारी भन्छन्, 'राजजन्त्र उन्मुलन भएको र हिन्दु राष्ट्र नरहेको विषयमा कुरा गरिरहनुहुन्थ्यो।' नेपालको पहिचान राजतन्त्र र हिन्दु राष्ट्र भएको डा. गिरी सुनाइरहन्थे।
भण्डारी पटकपटक आत्मकथा लेख्न प्रेरित गरे पनि डा. गिरीले नमानेको सुनाउँछन्।
नेपालको अवस्थाले गर्दा प्रतिस्पर्धात्मक राजनीति नफाप्ने उनको बुझाई सधैँ कायम रह्यो। 'प्रतिस्पर्धात्मक राजनीतिले नेपाल र नेपालीलाई लाभ हुँदैन, नेतृत्व बेइमान छ, यस्तो अवस्थामा विदेशीले खेल्छन् भन्नुहुन्थ्यो', उनी भन्छन्, 'बीपी जनतामा गएर निर्वाचित भएर शासन चलाउनुपर्ने पक्षमा हुनुहुनथ्यो तर डा. गिरी शक्ति राजामा केन्द्रित गरेर आफू स्थापित हुने पक्षमा हुनुहुन्थ्यो।'
'श्री ५ बाट हुकुम भएमा सारी लाउन पनि तयार छु' भनेर २०४० पुसमा उनले गरेको भाषण त्यतिबेला चर्चित रहेको पत्रकार भण्डारी सम्झन्छन्।
सुरुमा गिरीले राणाकी छोरी बिहे गरेका थिए तर उनीहरूको वैवाहिक सम्बन्ध राम्रो रहेन। दुई छोरा र दुई छोरी भइसकेका उनीहरू छुट्टिए। पछि उनको जीवन स्याहार्न सराहा आइपुगिन्। सराहा पत्रकार थिइन् जो रेडियो नेपालमा लामो समय अंग्रेजी समाचार वाचक गर्थिन्।
डा. गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दिउसो १२ बजेपछि निवासमा राखिने र त्यसपछि अन्तिम संस्कार गर्ने सराहाले जानकारी दिइन्। गिरीका श्रीमतीसहित दुई छोरा, दुई छोरी र नातिनातिना छन्।