नाकाबन्दीपछि झन बलियो बन्दै कतार

नाकाबन्दीपछि झन बलियो बन्दै कतार

काठमाडौं : कतारलाई छिमेकीले नाकाबन्दी लगाएको डेढ वर्ष पुगिसकेको छ। तर यसबीचमा कतारीहरु हतोत्साहित भएका छैनन्। राष्ट्रिय दिवस मनाउँदै गर्दा आफू अझ बलियो भएको सन्देश उनीहरुले दिएका छन्।

कतारमा १८ डिसेम्बरमा राष्ट्रिय दिवस मनाइन्छ। १८७८ मा कतारको एकीकरण गर्ने शेख जासिम बिन मोहम्मद अल थानीको जन्मदिनलाई आफ्नो राष्ट्रिय दिवस मानिन्छ। गत वर्ष नाकाबन्दीकै बीचमा यो दिवस मनाइएको थियो। यसपटक सरकारले नागरिकलाई धीर भन्न र अझ बलियो हुन आग्रह गर्दैछ।

नाकाबन्दीका बीचमा पनि कतारले आफूलाई अझ सक्षम तुल्याएको कतारका लागि नेपाली राजदूत रमेश कोइरालले बताए। ‘यो देश थप बलियो र सम्बन्ध बिस्तारमा अब्बल बनेको अनुभव गरेको छु,’ उनले भने।

जुन २०१७ को ५ मा साउदी अरब, युनाइटेड अरब इमिरेट्स (यूएई), इजिप्ट र बहराइनले कतारले आतंकवादलाई प्र श्रय दिएको बताउँदै नाकाबन्दी लगाएका थिए। ‘नाकाबन्दीको प्रत्यक्ष असर हाम्रा नागरिकले भोगिरहेका छन्,’ नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अरहैलले अन्नपूर्णसँग भने, ‘डेढ वर्षमा कतारले आफूलाई अझ बलियो र परिष्कृत पार्न सफल भएको छ।’

यसले व्यक्तिको धार्मिक अधिकार समेत हनन गरेको उनको भनाइ छ। ‘हाम्रा आफन्त साउदी, युएई, इजिप्ट, बहराइनमा पनि छन् आपसमा भेट्न पाइएको छैन। धार्मिक स्थल घुम्न पाइएको छैन,’ राजदूतले भने, ‘तर हामी थप आत्मनिर्भर बन्दै गएका छौँ। यसैबीचमा कृषि उद्योग, पशुपालनलगायत दुई सयभन्दा बढी ठूला र करिब पाँच सय साना उद्योग संचालनमा ल्याएका छौं।’

नाकाबन्दीले मानिसको बाँच्न पाउने अधिकार कुण्ठित गरेपनि यसको सुनुवाइ कतैबाट नभएको कतारले बताएको छ। उसले राष्ट्रसंघको मानव अधिकार परिषद्मा यसबारे कुरा राखेको छ। अधिकांश कतारीहरु नाकाबन्दीले आफूलाई पाठ सिकाएको ठान्छन्। आफ्नो प्रगतिप्रति डाह गरेर छिमेकीले नाकाबन्दी गरेको कतारले बताउँदै आएको छ।

नेपालसँग सहकार्य

राजदूत अरहैलले नेपालजस्ता मुलुकसँग सहकार्यको पहल गरिरहेको बताएका छन्। ‘नेपाल र कतारबीचको सम्बन्ध स्थापना भएको ४१ वर्ष पुगेको छ। नेपालले समृद्धिमा जोड दिएको छ। हामी सहकार्य गर्न तयार छौँ,’ उनले भने। नेपाल र कतारबीच व्यापार, लगानी, कृषि, पर्यटन, खानी तथा उर्जालगायतका क्षेत्रमा छलफल गरी सहकार्य गर्नुपर्ने उनले बताए। राजदूत अरहैलले विश्वशान्तिका लागि नेपाल र कतारको समान भूमिका रहेको बताए। कतारले विभिन्न पक्षबीच मध्यस्थता गरेर र नेपालले शान्ति सेना पठाएर योगदान दिइरहेको उनको भनाइ छ। नेपालका पूर्व र वर्तमान दुवै राष्ट्रपतिले कतार भ्रमण गरेको पनि उनले स्मरण गरे।

नाकाबन्दीबाट नेपाललाई समेत असर परेको थियो। नेपाली कामदार कतार जाने क्रम घटेको थियो। अहिले त्यसमा सुधार आएको छ। कतारमा करिब पाँच लाख नेपाली कामदार छन्। कतारले नेपालमा बैंकको शाखा समेत खोलेर सहकार्य बढाएको नेपाली दूतावासले जनाएको छ। नाकाबन्दीपछि महंगी बढेको छ। तथापि यसबाट खासै ठूलो समस्या नपरेको कतारी विमानस्थलमा भेटिएका नेपालीहरुले बताए। हवाई क्षेत्र नपाउँदा कतारी विमानको उडान समय लम्बिएको छ। ‘ठूला पानीजहाज आफ्नो क्षेत्रमा ल्याउन समस्या छ। महंगी बढेको छ,’ कतारको विमानस्थलमा काम गर्ने रवि अर्यालले अन्नपूर्णसँग भने, ‘नाकाबन्दी गैरकानुनी र अमानवीय छ। हामीले नेपालमा भारतीय नाकबन्दी भोगेकै हौँ।’

कतारमा नेपाली समुदायको उच्च मूल्यांकन रहेको अर्यालले बताए। ‘नेपालीको कामप्रतिको लगाव अतुलनीय छ,’ उनले भने। नेपालको समृद्धि यात्रामा कतारमा सिकेका काम र सीप उपयोग गर्न सकिने धेरैको भनाइ छ।

कतार गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) बलियो बनाउनुपर्ने पक्षमा छ। आपसमै मनमुटाव बढेकोमा उसले छिमेकलाई सचेत समेत गराएको छ। नाकाबन्दीबाट कतारी मात्र होइन, अन्य मुलुकका नागरिक पनि पीडित छन्। खाडीका राजपरिवारबीच एकअर्काबीच नातेदारी छ। तिनैको अहम्का कारण समस्या बढेको उनीहरुको बुझाइ छ। सम्बन्ध सुधारका लागि अमेरिका र कुबेतले गरेको मध्यस्थता प्रयास असफल भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.