रहेनन् पञ्चायतका ‘बफादार सूत्रधार’
काठमाडौं : ‘राजा होइन, राजतन्त्रको पक्षमा वकालत गर्छु’ भनी खुला धारणा राख्ने पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको मंगलबार बिहान ९३ वर्षको उमेरमा निधन भएको छ। गिरी पञ्चायती व्यवस्थाका ‘सूत्रधार’ मात्र होइन, ‘आमा’ का रूपमै परिचित थिए। भारतमा चिकित्सा अध्ययनपछि कांग्रेस राजनीतिमा होमिएका उनी सहयात्रीलाई जेल र प्रवास पठाउँदै कालान्तरमा पञ्चायतकै हर्ताकर्ता बन्न पुगे। डा. गिरीले राजात्रय महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रसँग निकट रहेर राजनीति गरे। उनलाई २०१७ पछि नेपालको राजनीतिमा दरबार पक्षधर रणनीतिकार भनिन्छ।
गिरी पत्नी सहारा योन्जनले बूढानीलकण्ठको सिद्धार्थ कोलोनीस्थित निवासमा बिहान ६ बजे पतिको निधन भएको बताइन्। ‘हामी सुतेका थिएनौं। उहाँको नर्स पनि सँगै थिइन्। उहाँ निदाउनु भएको थियो तर बिहान ६ बजे हामीबाट उहाँ बिदा हुनुभयो’, उनले अन्नपूर्णसँग भनिन्।
राजा महेन्द्रदेखि शाह वंशीय अन्तिम राजा ज्ञानेन्द्रसम्म आइपुग्दा पनि गिरी राजतन्त्रका ‘बफादार’ र ‘प्रयोगपात्र’का रूपमा रहे। जीवनको उत्तराद्र्धमा पनि डा. गिरी हँसिला र फुर्तिला देखिन्थे। उनको कलेजोमा क्यान्सर थियो। हड्डी तथा मुटुको समस्याले पनि उनी उत्तिकै पीडित थिए।
२०६१ माघ १९ को शाही प्रकरणपछि राजा ज्ञानेन्द्रले मन्त्रिपरिषद् उपाध्यक्ष बनाएपछि डा. गिरी पछिल्लो समयको राजनीतिमा पुनः उदाएका थिए। पञ्चायत रजत जयन्तीका सभापति रहेका उनी २०४२ मा एकाएक देशबाट बाहिरिए र श्रीलंका र भारतको बैंगलोर बस्न थाले। ज्ञानेन्द्रको आग्रह टार्न नसकेको भन्दै ‘परिबन्द’ले आफू आएको उनले पटकपटक सुनाएका थिए। ‘राजतन्त्र अफ्ठेरोमा परेको बेला सहयोग गर्नु मेरो कर्तव्य हो’, उनले सार्वजनिक भाषणमै भनेका थिए। गिरीले राजतन्त्र थेग्न सकेनन्। राजतन्त्रको अन्त्यपछि गिरीले भनेका थिए, ‘ज्ञानेन्द्रले राजनीतिज्ञको होइन। सेना र अन्य (विदेशीका स्थानीय पात्र)का कुरा सुन्न थाले अनि सकिए।’
यद्यपि उनले २०३७ जेठ १ मा सक्रिय राजनीतिक जीवनबाट बिदा लिएको घोषणा गरेका थिए। १९ वर्ष विदेशिएका डा. गिरीलाई एकलौटी शासनको थिति बसाल्न ज्ञानेन्द्रले भित्याएका हुन्। ‘राष्ट्रभक्त नेतामध्ये गिरी एक हुन्। सिद्धान्त र निष्ठामा कर्मठ विद्वान् एवं अध्ययनशील नेता हुन्’, पूर्वउपप्रधानमन्त्री कमल थापाले भने, ‘उहाँसँग काम गर्दा व्यक्तिगत रूपमा निकट रहेँ र सधैं प्रभावित भएँ। राजसंस्था चाहिने उनको धारणा बीपीसँग मिल्थ्यो।’
गिरीको बुधबार अन्त्येष्टि गरिने छ। उनको निधनमा सबैजसो राजनीतिक दलले समवेदना व्यक्त गरेका छन् भने पुराना नेता पार्थिव शरीरमा फूलगुच्छा चढाउन र श्रद्धाञ्जली व्यक्त गर्न बूढानीलकण्ठ पुगेका थिए।
सिराहाको सम्पन्न परिवारका उनी २०१२ सालमै कांग्रेस महामन्त्री थिए। बीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारमा उनी परराष्ट्र मन्त्री भए। २०१७ पुस १ मा जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई अपदस्थ गरेपछि पुस १२ मा बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा राजा महेन्द्रले डा. गिरीलाई पहिलो स्थान दिए।
२०१९ चैत २० मा पञ्चायती संविधानअनुरूप मन्त्रिपरिषद् अध्यक्ष बने। हुन त महेन्द्र र बीपीको सम्बन्ध र द्वन्द्वको सूत्रधार र पञ्चायतको हिमायती पनि गिरी नै हुन्। २०२० पुस २२ मा राजासँग नीतिगत मतभेद देखाउँदै उनी सरकारबाट बाहिरिए।
२०२५ मा तीन महिना जेल जीवन पनि गुजारे। २०२८ वैशाख १ मा राजाबाट राष्ट्रिय पञ्चायत सदस्य मनोनित भए। वीरेन्द्रको आगमनसँगै डेढ वर्षमै अर्थात् २०२९ असोज २३ पुनः राजीनामा दिन बाध्य पारियो उनलाई। दरबारले आवश्यक परेको बखत उपयोग गर्न सकिने विश्लेषणसहित केही समयपछि उनलाई मन्त्रीसरह सुविधामा राजनीतिक सल्लाहकार नियुक्त गरियो। राष्ट्रिय पञ्चायत सदस्यमा पुनः नियुक्त गर्दै २०३२ मंसिर १५ मा डा. गिरीलाई प्रधानमन्त्री बनाइयो। २०३४ मा उनी ‘गलैंचा काण्ड’ मा मुछिएपछि प्रधानमन्त्रीबाट हट्न बाध्य भए।
‘भ्रष्टाचार मुद्दा लगाइनुमा डा. गिरीको राजनीतिक छवि समाप्त पार्ने प्रयास गरिएको थियो। जुन नेपालको ‘भ्रष्टाचार राजनीति’ मा ऐतिहासिक ‘गलैंचा काण्ड’ ले चिनिन्छ’, लेखक हरिबहादुर थापाको पुस्तक ‘रजगज’ मा उल्लेख छ। अन्ततः २०३७ मा गलैंचा काण्डमा सफाइ पाए। यद्यपि उनी जनमत संग्रहका बेलामा पनि पञ्चायती व्वस्थाकै पक्षमा उभिए।
जसले उनलाई राजतन्त्रको बफादार पात्र बनायो। ‘ श्री ५ बाट हुकुम भएमा सारी लगाउन तयार छु’ २०४० पुस १ का दिन उनले दिएको भाषण बहुचर्चित बन्यो। उनलाई रंगिला, जोसिला, सुकिला नेताका रूपमा पनि चिनिए। उनको पहिरन र फेरिरहने कारबारे पनि राजनीतिक वृत्तमा निकै बहस हुन्थ्यो।
दुई छोरा र दुई छोरी भइसकेपछि उनी पहिलो परिवारबाट छुट्टिए। पछि उनको जीवनको साहाराको रूपमा सराहा आइपुगिन्। रेडियो नेपालमा लामो समय अंग्रेजी समाचार वाचन गरेकी सराहाले नै उनलाई अन्तिम घडीसम्म साथ दिइरहिन्। पूर्वपरराष्ट्रसचिव डा. मदनकुमार भट्टराईले गिरीलाई लगातार राजनीतिमा लागिरहने र कुटनीति बुझेका नेताका रूपमा स्मरण गरे। ‘विदेशी उनीसमक्ष कुरा गर्न पुग्दा तयारी गरेर मात्र जान्थे। उनको व्यक्तित्व, बुझाइ र बोलाइ गज्जबको थियो’, भट्टराईले सम्झे।