'सकारात्मक सोचले क्यान्सर जितें'
काठमाडौं : ‘जब आफू मर्दै छु भन्ने थाहा हुन्छ नि, अनि आफूलाई खुब बाँच्न मन लाग्दो रहेछ। आफ्नो जिन्दगीको बेहद माया लाग्दो रहेछ’, करिब चार महिना क्यान्सरको पीडा र साढे तीन वर्षसम्म क्यान्सर फेरि आउने सम्भावनाको डर भोगेर मुक्ति पाएकी बलिउड अभिनेत्री मनीषा कोइराला सोमबार काठमाडौंमा आफ्नो क्यान्सर अनुभव बाँडिरहेकी थिइन्।
सकारात्मक सोचले अनेक समस्यालाई जित्न सकिने बताउँदै उनले आफूमा भएको आत्मविश्वास, परिवारको माया र साथ, उचित उपचार र सकारात्मक सोचले क्यान्सरलाई जित्न सकेको बताइन्।
आफूलाई क्यान्सर लागेको थाहा भएपछिको जीवन र अहिलेको कामलाई समेटेर उनले संस्मरण लेखेकी छन्। नेपाल लिटरेचर फेस्टिभलको सातौं संस्करण सञ्चालन हुँदै गर्दा उनको उक्त संस्मरण यही पुस ७ गते पोखरामा विमोचन हुँदैछ। अंग्रेजी भाषामा लेखिएको ‘हिल्ड’ शीर्षकको संस्मरण संग्रह करिब एक वर्षको अन्तरालमा लेखिएको हो। केही समयपछि फाइन प्रिन्ट पब्लिकेसनबाट उक्त संस्मरणको नेपाली संस्करण बजारमा आउँदैछ।
पहिलोपटक नर्भिक अस्पतालका डा. मधु घिमिरेले उनलाई पाठेघरको क्यान्सर लागेको बताएका थिए। उनी अत्यन्तै ‘सक्ड’ भइन्, विश्वास नै गर्न सकिनन्। ‘मलाई कसरी क्यान्सर हुन सक्छ ? सायद गलत रिपोर्ट आयो होला’, उनी यस्तै सोच्दै थिइन्। लगत्तै मुम्बईमा रहेको एक अस्पतालमा जाँच गराइन्, रिपोर्ट उनले नसोचेकै थियो। उनलाई क्यान्सर लागेको सही साबित भयो। उनले भनिन्, ‘योपटक पनि मलाई रिपोर्टमा नै शंका लाग्यो।’ रिपोर्टअनुसार उनको पाठेघरमा जताततै क्यान्सर फैलिइसकेको देखिएको थियो। क्यान्सर चौथो स्टेजमा थियो।
बलिउड चलचित्र नगरीमा चमकधमक, रंग रमाइलो र सुखी जिन्दगी बिताइरहेकी कोइराला क्यान्सर सँगसँगै एकाएक भुमरीमा फसिन्। उनलाई आफूले बाँचेको जिन्दगी बेकार लाग्न थाल्यो।
‘मेरो आयु यति नै रहेछ भन्ने लाग्यो, म मर्दै छु भन्ने पक्का भयो’, उनी सुकसुकाउँदै अतीत सम्झँदै थिइन्। ‘जति भोगेर आएँ, किताब लेख्न बस्दा त्योभन्दा बढी पीडा भयो। प्रत्येक सिन लेख्दै गर्दा मैले भोगेको जिन्दगी सम्झनु पथ्र्यो, जुन निकै कठिन थियो मेरा लागि। धेरैपटक किताब लेख्न सक्दिनँ भनेर बन्द गरेँ तर मलाई म भित्रको भोगाइले निरन्तर बाहिर निस्कन उक्साइरह्यो’, मनीषा बोलिरहेकी थिइन्।
उनले आशा गरेका साथीहरूबाट नसोचेको धोका पाइन्, बरु जसबाट केही आशा थिएन, उनीहरूबाट असीमित आत्मीयता पाइन्। अस्पतालको बेडमा पुगेपछि सबै चिज फेरियो। उनकी आमा आफ्नोअगाडि निकै हिम्मतिली देखिए पनि अर्को कोठामा डाँको छोडेर रोएको सुन्थिन् उनी। साथीहरू पनि अन्तिमपटक भेट्दैछौं जस्तो व्यवहार गर्थे। उनी भन्छिन्, ‘लामो समय मृत्युसँगै हिँडिरहेँ। यसबाट मैले जिन्दगीलाई फरक तरिकाले बुझ्ने मौका पाएँ। यस अर्थमा जीवन बुझ्न क्यान्सरले एउटा अवसर पनि दियो मलाई।’
सुरुआतमा आशावादी, आत्मविश्वासी देखिएकी कोइरालाले केही प्रश्नको उत्तर भने आध्यात्मिक शैलीमा दिइन्। भन्दै थिइन्, ‘मैले भोगेको जिन्दगी कस्तो थियो ? के म खुसी थिएँ त ? मैले बाहिरी दुनियाँमा आफ्नो केयर गर्न भुलेछु। त्यसैले पनि अहिले मेरै वशमा रहेको मेरो जिन्दगी अति रमाइलो लाग्छ। म हरेकपटक सकारात्मक सोच्छु। नराम्रो लेखिएको समाचार पनि पढ्दिनँ, कुनै भिडियो पनि हेर्दिनँ। हरेक पल खुसीखुसी बिताउन सक्ने अहिलेको जिन्दगी निकै प्यारो छ मलाई।’
‘अस्पतालमा अन्तिम अवस्थामा रहेको मान्छेसँग कोही पनि लामो समय फेस गर्न सक्दैन। किनकि मर्ने मान्छेको अनुहारमा हामी आफ्नो मृत्युको झलक पाउँछौं। मृत्युको नजिक पुगेपछि थाहा हुने रहेछ, मानिस किन बाँच्न चाहन्छ ? ’, उनले भनिन्।
लामो समय अभिनयमा सफल मनीषा हाल सामाजिक सेवामा सक्रिय छिन्। उनले आफ्नो संस्मरण पुस्तक बिक्रीबाट आएको रकम क्यान्सर केयर सेन्टर जावलाखेललाई हस्तान्तरण गरिने जानकारी दिइन्। लेख्नभन्दा अभिनय गर्न नै सजिलो मान्ने कोइरालाले यसलगत्तै पारिवारिक संस्मरणको किताब लेख्ने योजना रहेको बताइन्। उनले भनिन्, ‘जति बाँच्छु, क्यान्सरपीडितका निम्ति केही न केही गरिरहन्छु।’