नेकपा स्थायी समिति बैठक : राजनीतिक प्रतिवेदनमाथि ३४ नेताले राखे धारणा
काठमाडौं : नेकपाको स्थायी समिति बैठकमा नेताहरूले बोल्नेक्रम जारी छ। आज (बिहीवार) को बैठकमा पनि ८ जना स्थायी समिति सदस्यहरूले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि आफनो धारणा राखेका छन्।
आजको बैठकमा स्थायी समिति सदस्यहरू किरण गुरुड, पेशल खतिवडा, अमृत बोहोरा, पम्फा भुषाल, मातृका यादव, चक्रपाणि खनाल, लीलामणि पोखरेल र विष्णु रिमालले बोलेका छन्।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा आफ्नो धारणा राख्ने नेताहरूले राजनीतिक प्रतिवेदनमाथि सुझाव राखिरहेका छन्। बैठकमा आजसम्म ३४ जना नेताले आफना धारणा राखेका छन्।
नेकपा स्थायी समितिका ४५, विगतका अनुशासन आयोगका अध्यक्षहरू २ जना र अन्य ४ जना आमन्त्रित गरि ५१ जना नेता बैठकमा सहभागी छन्। प्रत्येक सहभागी नेतालाई बोल्न २० मिनेट समय निर्धारण गरिएको छ। सबै नेताहरूले एकसरो आआफनो धारणा राखेपछि उठेका प्रश्नहरूको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि प्रतिवेदनलाई अन्तिम रुप दिइने नेता श्रेष्ठले बताए।
बैठक शुक्रवार बिहान ८ बजे बस्नेगरी आजलाई स्थगित भएको छ। नेकपा स्थायी कमिटी बैठक २९ मंसिरदेखि बसिरहेको छ।