पुनरुत्थानवादी पार्टीको घाेषणा : रचनात्मक युद्ध गर्छाैँ
काठमाडौं : नागरिकको आधारभूत गास, वास र कपासको समेत व्यवस्था गर्न नसकेको भन्दै पुरुत्थानवादी शक्ति नेपालका नेताहरुले सरकारको आलोचना गरेका छन् ।
संगठनका नेताहरुले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निम्न वर्गका र पीडित जनताको उत्थानका लागि रचनात्मक युद्ध गर्ने चेतावनी समेत सरकारलाई दिएको छ ।
राज्यले सामूदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई सधैँ अन्यायमा राखेको, शिक्षा मन्त्रालयले अदालतको आदेश नमानेको तथा शिक्षक सेवा आयोगले मुलुकको सर्वोच्च निकाय सर्वोच्च अदालतमा समेत झुटो विवरण पेश गरेर शिक्षकलाई अन्यायमा पारेको भन्दै यस्तो चेतावनी दिइएको हो ।
पत्रकार सम्मेलनमा संगठनका नेता शेखरजंग रायमाझीले भने, ‘नागरिकका तमाम आधारभूत समस्याको समाधानका लागि खबरदारी गर्ने उद्देश्यले रचनात्मक युद्ध गर्न लागेका हौँ । हामी जनताको दैनिक जीवनसँग जोडिएका समस्यालाई उठान गरेर राज्यको ढोका ढकढक्याउछौँ ।’
यद्यपि उनीहरुले ‘रचनात्मक युद्ध’को कस्तो संरचना हुने छ त्यसबारे केही पछि विस्तृतमा दस्तावेज नै सार्वजनिक गर्ने पनि बताएका छन् । पत्रकार सम्मेलनमा संगठनकी प्रमुख नेता तारा बरालले मुलुकमा शुसासन कायम गर्नेतर्फ आफूहरुको अभियान केन्द्रित रहेको बताइन् ।