गुञ्‍जिन छोड्यो ‘त्यःछिं तियः’

गुञ्‍जिन छोड्यो ‘त्यःछिं तियः’

भक्तपुर :
‘त्यःछिं तियः, बोकछिं तियः।

थुपालेया सामा वल

योमरी निगः तियः।’

अर्थात्

‘चार माना देऊ, एकै माना देऊ।

यो सालको बाली भित्रियो,

योमरी दुइटा देऊ।’

नेपालभाषी समुदायले स्थानीय मौलिक बाजागाजासहित घरघर र टोलटोलमा गएर योमरी माग्दा गाउने गीतको एक अंश हो यो। नेपाली समुदायमा तिहारमा देउसीभैलो खेलेजस्तै नेपालभाषी समुदायमा योमरी पुन्हीमा योमरी माग्ने प्रचलन छ। तर पछिल्लो समय यो गीत गुञ्जन छोडेको छ। कति नयाँ पुस्तालाई योमरी पुन्हीमा गाइने गीतबारे जानकारीसमेत छैन।

मंसिर शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिनलाई नेपालभाषी योमरी पुन्हीको रूपमा मनाउँछन्। यो पुन्ही यस वर्ष पुस ७ गते शनिबार परेको छ। यो पुन्ही विशेषतः खाने पर्व हो। तर यसको सांस्कृतिक एवं साहित्यिक महत्व बढी छ। योमरी भन्नाले मनपर्ने रोटी हो। नेपालभाषामा ‘यो’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी हो।

चामलको पीठो र चाकु तथा खुवा र तिल प्रयोग गरेर योमरी बनाइन्छ। यो बफाएर पकाइने भएकाले स्वास्थ्यका दृष्टिले पनि स्वस्थकर र पौष्टिक हुन्छ। अरू रोटी सुक्खा हुन्छ। चाकु तथा खुवा र तिल प्रयोग गरेर पकाइने भएकाले योमरी साँच्चै मीठो र स्वादिलो हुन्छ। चिसो मौसममा चाकु र तिलसहितको तत्तातो योमरी खाँदा शरीरले ऊर्जा प्राप्त गर्छ।

यस्तो मीठो योमरी खानकै लागि नेपालभाषी समुदायमा योमरी माग्न जाने प्रचलन रहेको संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन्। उनका अनुसार एउटै योमरीको स्वाद हातैपिच्छे फरकफरक हुन्छ। त्यसैले फरकफरक स्वादको योमरी खाने लोभले परापूर्वकालदेखि योमरी माग्न जाने परम्पराको विकास भएको उनी दाबी गर्छन्।

‘त्यत्तिकै माग्न जाँदा योमरी पाइँदैन। त्यसैले गीत गाउने परम्पराको विकास भएको हो’, संस्कृतिकर्मी धौभडेलले भने, ‘गीत गाएरमात्रै पनि योमरी पाइँदैन। त्यसले अर्थ बोक्नुपर्छ। भावना व्यक्त गर्नुपर्छ।’ उनले योमरी बहाना मात्रै भए पनि योमरी पुन्ही साहित्य सिर्जना र भाषाशैली विकास गर्ने माध्यमसमेत भएको स्पष्ट पारे।

जस्तैः

‘योमरी तुयु, उंकिया दुने चाकु।

नये बले माकु, दुरुभरी ताकु।

बिउसा ल्यास्से,

मबिउसा सितिकुति बूढी।’

अर्थात् ‘योमरी सेतो, त्यसभित्र चाकु।

खाँदाखेरि मीठो, कुराउनी हकुलो।

योमरी दिए तरुनी,

नदिए चाउरी बूढी।’

गीतले चोटिलो व्यंग्य पनि दिन सक्नुपर्ने संस्कृतिकर्मी धौभडेल बताउँछन्। जसअनुसार त्यस समयमा मोही किसानले जग्गाधनीबाट हुने शोषण, कुतबाली बुझाउन जाँदा उनीहरूले गर्ने तिकडमबारेका गीत योमरी पुन्हीमा सुन्न पाइने उनी बताउँछन्।

जस्तैः

‘लातापाताङ कुलेचा

जुसिङ तियः

थुपालेया सामा वल

योमरी छग तियः’

अर्थात् जथाभावी मानापाथी

भरिभरि राख

यो सालको बाली भित्रियो,

योमरी एउटा देऊ।’

संस्कृतिकर्मी धौभडेलका अनुसार मंसिरमा धान भित्र्याइसकेपछि मोही किसानले जग्गाधनीकहाँ कुतबाली बुझाउन जाने गर्छन्। जग्गाधनीले कुतबाली बुझ्न कै लागि भनी ठूला आकारका मानापाथी बनाएका हुन्छन्। त्यसमा पनि अझ भरेर पनि बढी (जुसी) लिने गर्छन्। यस्ता अन्याय र विकृतिविरुद्ध समेत योमरी पुन्हीको ‘त्यःछिं तियः’ मा गुञ्जायमान हुन्छन्।

त्यसैले यस्ता अन्यायविरुद्ध गीत बनाउने र त्यसमाथि भाषाशैली एवं साहित्यिक शैलीमा भन्न सके प्रभावित भएर सर्वसाधारणले बढीभन्दा बढी योमरी दान दिने परम्परा रहेको उनी सुनाउँछन्।

उनका अनुसार ठाउँ र परिवेशअनुसार योमरी माग्न गाइने गीत तथा हास्यव्यंग्य फरकफरक छ। काठमाडौं उपत्यकाभित्रकै भक्तपुर, काठमाडौं र ललितपुरमा योमरी पुन्हीको गीत फरक फरक छन्।

जस्तैः

‘योमरी च्वामु,

उके दुने हामु।

ब्यू साः माकु,

म ब्यू साः फाकु’

अर्थात्

‘रोटी चुच्चो छ,

त्यसभित्र तील छ।

दियो भने मीठो

दिएन भने टर्रो।’

योमरी जति बासी भयो त्यत्ति नै मीठो हुन्छ। चिसो याममा योमरी बिग्रन पनि पाउँदैन। चिसो याममा मकलमा आगो ताप्दै र त्यहीँ मकलमा बासी योमरी खाँदा झनै स्वादिलो हुने भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी बताउँछन्। त्यसैले पनि अरू रोटीभन्दा नेपालभाषी समुदायमा योमरीको महत्व धेरै भएको उनको भनाइ छ।' ‘नेपालभाषी समुदायमा जोर जन्म दिन मनाउँदासमेत योमरी नभई हुन्न’, मूल नाइके जोशी भन्छन्, ‘जोर वर्ष दिनमा जति वर्ष हो, त्यत्तिवटै पकाएको योमरी गाँसेर माला लगाइन्छ। त्यो माला हेरेरै उनको कति वर्षको जन्मदिन भन्ने थाहा हुन्छ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.