दार्जिलिङको टेढोमेढो बाटो

दार्जिलिङको टेढोमेढो बाटो

दार्जिलिङ घुमेका र घुम्ने योजना बोकेका मानिसका निम्ति यो पुस्तक पठनीय हुन सक्छ।


नेपालका धेरै सहरको नामभन्दा पहिले मैले सुनेको सहरको नाम हो, दार्जिलिङ। यहाँका नेपालीहरू काठमाडौं आएर खोलेका निजी विद्यालयहरूले खुब बजार लिएको समय थियो। कतिपय निजी विद्यालयको प्रचार सामग्रीमा समावेश गरिने धेरै ‘सालियन्ट फिचर्स’ मध्ये अग्रस्थानमा हुन्थ्यो, दार्जिलिङबाट आएका शिक्षकहरूले पढाउने अंग्रेजी माध्यमको विद्यालय। त्यस्तै एउटा विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेको हुनाले नेपालका प्रमुख सहरहरूको नामसँग परिचित हुनुअघि म दार्जिलिङसँग परिचित थिएँ।

कक्षामा दार्जिलिङबाट आएका शिक्षक–शिक्षिकाहरूले स्थानीय लवजको नेपाली भाषामा सुनाएका कथाहरू अझै पनि म दुरुस्त सुनाउन सक्छु जस्तो लाग्छ। कति शिक्षक–शिक्षिकाको कडा मिजास, कतिको गिटार बजाएर नेपाली र अंगे्रजी गीतमा मज्जा लिने रोमान्टिसिज्म, उनीहरूसँग कनिकुथी अंग्रेजी बोल्नैपर्ने अप्ठ्यारो यस्तै यस्तै कलेवरले त्यति बेलाका धेरै विद्यार्थीको बाल्यकाल र विद्यार्थी जीवन बुनिएको छ। दार्जिलिङका किस्सा कहानीले त्यो ‘रहस्यमयी सहर’ प्रतिको आकर्षण बाल्यकालदेखिकै हो। तर सम्भवतः कक्षा ७ को विद्यार्थी हुँदै दार्जिलिङ गएको बेलामा भने त्यो सहर कल्पना गरेभन्दा धेरै फरक महसुस भएको थियो। निकै अस्तव्यस्त, मेलोमेसो नमिलेको सहरजस्तै लागेको थियो। सायद हतारको यात्रामा दार्जिलिङको सौन्दर्यलाई राम्ररी परख गर्नै पाइएन कि ?

०००

परिमल भट्टाचार्यको पुस्तक ‘नो पाथ इन दार्जिलिङ इज स्ट्रेट’ (दार्जिलिङका कुनै पनि बाटा सीधा छैनन्) पढेपछि दार्जिलिङसँगको अधुरो परिचय शब्दतः पूरा भएको आभास भयो। पत्रकार गिरिश गिरीले केही वर्षअघि आफू जन्मेको सहर वीरगन्जबारे पुस्तक लेखेका थिए, ‘वीरगञ्ज, मेरो सहरको कथा।’ वीरगन्ज सहरलाई धेरै कोणबाट हेरिएको त्यो पुस्तक सहरभित्र लुकेका कथा–उपकथाहरूको संकलन हो। उस्तै धारमा परिमलले लेखेको पुस्तक हो, नो पाथ इन दार्जिलिङ इज स्ट्रेट। फरक यति हो, गिरिश वीरगन्जकै हुन्, आफ्नो सहरको कथा लेखे। परिमल दार्जिलिङका होइनन्, कोलकाताका हुन्। उनले आफूले देखेको दार्जिलिङबारे किताब लेखे।

सन् १९९० दशकको सुरुमा परिमल सरकारी कलेजको अंग्रेजी शिक्षकका रूपमा दार्जिलिङ पुग्छन्। सन् १९९९ मा उनको सरुवा कोलकातामा हुन्छ। पुगनपुग एक दशकको दार्जिलिङ बसाइका क्रममा परिमलले भोगेको दार्जिलिङलाई झन्डै दुई सय पृष्ठमा अनुभव समेटेका छन्। तर यो पुस्तकलाई परिमलको निजात्मक अनुभूतिको संकलनका रूपमा मात्र लिनु भने अपूर्ण हुन्छ। पुस्तकलाई प्रकाशकले गैरआख्यानको कोटीमा राखेको भए पनि यसमा मनग्गे आख्यानिक चरित्र समावेश छन्। गैरआख्यान र आख्यानको मझधारमा बसेर लेखिएको पुस्तक भएकाले यसले दार्जिलिङलाई गहिराइसम्म चिनाउने प्रयास गरेको छ। दार्जिलिङ कस्तो छ, भन्दा पनि पुस्तकले दार्जिलिङ कसरी सोच्छ, रातमा कसरी सुत्छ र बिहान कसरी ब्यूँझन्छ ? कसरी बोल्छ मात्र होइन, किन त्यसरी बोल्छ, सहरको भौगोलिक परिधिमात्र होइन, मनोवैज्ञानिक र सामाजिक परिधि कति फराकिलो छ भन्ने विषयमा समेत मन्थन गरिएको छ।

लेप्चाहरूको आदिभूमि दार्जिलिङमा सन् १८३० को दशकमा बेलायती सिपाहीलाई आराम गर्न उपयुक्त ठाउँको खोजी गर्ने क्रममा बेलायती सेनाका कप्तान हेल्बर्टले पहिलोपटक पाइला राखेका थिए। अत्यन्त गर्मी हुने भारतका समथर भूमिबाट गर्मी छल्न तत्कालीन बेलायती शासकहरूले बसाएका केही सहरमध्ये दार्जिलिङ हो। त्यस्तो सहरलाई तिनताक ‘हिलस्टेसन’ भनिन्थ्यो। सिक्किमका राजासँग बेलायती शासकले दार्जिलिङ खोसेका थिए। हावापानीको कारण मात्र होइन, सामरिक महत्वको हिसाबमा पनि दार्जिलिङ बेलायतका लागि महत्वपूर्ण मानेर बेलायतीहरूले त्यहाँ सहर बसाउन उपयुक्त माने। दार्जिलिङ नेपाल र चीनसँग पनि जोडिएको भूभाग हो।

सन् १८५७ मा दार्जिलिङमा जंगल फँडानी गरी बेलायतीले ल्याएका चियाका बुट्टा रोपियो। सबैभन्दा पहिले मकैबारी भन्ने ठाउँमा चिया खेती सुरु गरिएको थियो। सन् १९६४ मा त्यहाँ आवासीय सेन्ट पाउल विद्यालय स्थापना गरियो। सन् १८७२ सम्म पुग्दा दार्जिलिङ सहरको कुल जनसंख्या तीन हजार पुगेको थियो। लेप्चाको ठाउँ दार्जिलिङमा कृषि गर्न जान्ने मानिस कम थिए। चियाखेतीलगायत कृषि उत्पादन गरी कर उठाउन सकिने ठूलो सहर बनाउने बेलायती शासकको चाहना पूरा गर्न दार्जिलिङमा नेपालतिरबाट आएका विभिन्न जातजातिका मानिसको बसाइ बसाइयो। कृषि गर्नमा दख्खल नेपालीहरूले दार्जिलिङको निर्जन पहाडमा गरागरा मिलाएर सुन्दर र उत्पादनशील क्षेत्रको रूपमा विकास गरे।

नेपालभित्र विभिन्न जातजातिमा विभाजित मानिस दार्जिलिङ पुगेपछि सबै नेपाली जाति बने। उनीहरू सबैले नेपाली भाषा बोले। नेपालमा रहेको जातिपातीको विभेदपूर्ण सम्बन्ध दार्जिलिङमा कमजोर बन्यो। कामी र बाहुनले गर्ने श्रममा कुनै भेद भएन। परिमलका अनुसार नेपालको गरिबीले धकेलेका मानिसहरू दार्जिलिङ पुग्दा आफ्नो जातको विशेषताको हिसाबकिताब गरी बसेनन्।

परिमलले दार्जिलिङ सहरको मात्र व्याख्यामा पुस्तकलाई सीमित राखेका छैनन्, उनले त्यस वरपरका ग्रामीण बस्ती डुलेर पनि त्यो समाजको मनोविज्ञान र अवस्थाबारे बुझ्ने प्रयास गरेका छन्। एक जना शिक्षक हुनुको नाताले उनलाई विद्यार्थीसँग चिनाजानको सुविधा थियो। त्यही सुविधाको उपयोग गर्दै उनी विद्यार्थीका घरमा पुगी तिनका परिवारमार्फत दार्जिलिङको सामाजिक भूसतहको गहिराइ मापन गरेका छन्।

अधिकांश दार्जिलिङका रैथानेहरू आज नेपाली भाषा बोल्छन्। सबैले नेपाली भाषा बोल्न थाल्दा त्यहाँको आदिभाषा लेप्चा लगभग लोपोन्मुख बनेको सत्य परिमलले तिनै गाउँघरका बाटाघाटा नापेर थाहा पाए। लोप हुन लागेको लेप्चा जातिको मौलिक संस्कृतिको अध्ययनका लागि बेलायतबाट आएकी विद्यार्थी जुलिया र सालामान्डर (एक प्रकारको छेपारो)को अध्ययनमा लागेका अध्येता हेमराजसँग लेखक दुर्गम सिंगलीलाका विकट ज•लको असजिलो यात्रा गर्छन्। दार्जिलिङ बजारबाट दैनिक रूपमा देखिएका कञ्चनजंघा हिमाललाई सिंगलीलाको उचाइबाट अझ अद्भुत सौन्दर्यमा साथ देख्छन्।

दार्जिलिङलाई अलग प्रान्तको मान्यता दिनु हुन्छ वा हुँदैन भन्नेमा लेखकले प्रस्ट आफ्नो मत राखेका छैनन्। उनी अलग प्रान्तका अभियन्ताहरूका मतसँग पनि पूर्ण सहमत छैनन्, तर त्यहाँका जनताले लामो समयदेखि अँगाल्दै आएको भावनालाई पनि लत्याउने पक्षमा छैनन्। जस्तोसुकै राजनीतिक मान्यता दिँदा पनि त्यहाँका जनताको आर्थिक र सामाजिक अवस्थाको सुधार पूर्वसर्त हुनुपर्नेमा उनी प्रस्ट छन्। रोजगारी नपाउँदा त्यहाँका स्थानीय युवामा व्याप्त निराशा र संस्थापनप्रतिको आक्रोशलाई उनले पुस्तकमा चर्चा गरेका छन्। उनले पश्चिम बंगाल प्रहरीबाट स्थानीय जनतामाथिको ज्यादती र त्यसले युवामा जन्माएको विद्रोही भावनाको पनि चित्रण गरेका छन्।

सन् १९९९ मा बिदा भएर कोलकाता गएका परिमल २००८ मा दार्जिलिङ फर्केर जान्छन्। तर, उनले दार्जिलिङे समाजमा ठूलो अन्तर आएको महसुस गर्छन्। दार्जिलिङ एक दशकभित्रै धेरै हिसाबमा बदलिसकेको र बदलिरहेको अनुभव गर्छन्। अस्थीर र गतिहीन राजनीति तथा योजनाविहीन सहरीकरणका कारण आज दार्जिलिङले हिजोको परिचय र सौन्दर्य गुमाउँदै गएकोमा उनी चिन्तित छन्। युवाहरूमा पश्चिमा संस्कृतिप्रतिको आकर्षण, राजनीतिक नेतृत्वप्रतिको निराशा, भारतको मूलधारबाट उपेक्षाबोध आजको दार्जिलिङको अर्को पाटो हो।

लेखक स्वंय झन्डै एक दशक दार्जिलिङ बसेर, भोगेर लेखेको पुस्तकले त्यहाँको चौरस्ताका भुसिया कुकुरदेखि माछाको परिकार पकाउने पसलसम्म, बेलायतीहरूको चिहानघारीदेखि वेश्यालयसम्मका अन्तरकुन्तर प्रकाशमा ल्याएका छन्। त्यहाँ वर्षायाम र त्यसको एकांकीले बढ्ने आत्महत्याका घटनादेखि दार्जिलिङको मौसमको व्याख्यामा निकै शब्द खर्चेका छन्। दार्जिलिङको मौसमको व्याख्या गर्न लेखकले सल्लाघारी, कुइरो, वर्षा, कञ्चनजंघा हिमाल आदि शब्दको अधिक प्रयोग गरेका छन्।

परिमलको भाषा कतिपय ठाउँमा कवितात्मक मिठासको छ भने कतिपय सन्दर्भमा उनको व्याख्या उदेकलाग्ने खालको पनि छ। पुस्तकमा कुनै सिलसिला छैन। लेखक कुनै पनि बेला कुनै पनि विषयमा कुरा गर्न सक्छन्। उनले दार्जिलिङको गहिरो प्राज्ञिक अध्ययन गरेर पुस्तक लेखेका पनि होइनन्। उनको सामान्य अध्ययन र साक्षात्कारकै आधारमा यो पुस्तक तयार गरिएको देखिन्छ। दार्जिलिङलाई बाल्यकालदेखि नै बोकेको मजस्ता पाठकलाई मात्र होइन, कुनै दिन दार्जिलिङ घुमेका र घुम्ने योजना बोकेका मानिसको निम्ति यो पुस्तक पठनीय हुन सक्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.