शशि खतिवडाको टीभी
हामी स्कुले केटाकेटीबीच एकाएक हल्ला फैलियो– शशि खतिवडाको घरमा टीभी ल्याएका छन् रे ! टेलिभिजनको बारेमा हामीले सुनेका त थियौं, तर देखेका थिएनौं। त्यसैले त्यो चारपाटे बक्साले के गर्छ भन्नेबारे आ–आफ्नै अड्कल थिए। कोही भन्थे– त्यसमा त जे चाह्यो, त्यही हेर्न सकिन्छ। कतिपयले सुनाउँथे– हिरो–हिरोइनलाई पनि देखिन्छ। मलाई पनि लाग्थ्यो– अब त हाम्रो स्कुलमा रोलिङ क्लबले गर्ने फुटबल म्याच पनि त्यसैमा हेर्न पाइन्छ।
होइन रहेछ। पछि थाहा पाइयो– टीभीमा त स्टेसनले फ्याँकेको चिजमात्र आउँदो रहेछ। २०४२–४३ सालतिरको धुलाबारी, झापा। अहिलेजस्ता ‘ग्याजेट्स’ उपलब्ध थिएनन्। टीभी हाम्रा निम्ति ठूलै आविष्कारका रूपमा आएको थियो। एउटा सानो बक्सामा मान्छेहरू हिँडेको, डुलेको, बोलेको, नाचेको, लडेको, जिस्केको सबै देख्न पाइन्थ्यो। कम अचम्मको कुरा थिएन।
स्कुल जाँदा बाटोमा पथ्र्यो शशि खतिवडाको अढाइतले पक्की घर। उसबेलाका हुने–खाने। सीमा वारपारको व्यापारमा जमेका। पछि काठमाडौं आएपछि थाहा पाएँ– किशोर (नेपाल) दाइले लिएको उनको ‘फुल–पेज’ अन्तर्वार्ता देशान्तरमा छापिएको रहेछ। खैर, त्यो अर्कै पाटो भयो। धुलाबारीमा तिनैकहाँ टीभी आइपुग्यो। हुन त केही मारवाडी व्यापारीले पनि ल्याएका थिए। तर टीभी हेर्न जान मलाई शशि खतिवडाकै घरमा सजिलो भयो, उनको भतिज निर्मल मेरो साथी भएकोले।
पहिले त त्यो बक्साले बंगालीमात्र बोल्यो। त्यो पनि मान्छे होइन, कार्टुनले। सुपरम्यानको कार्टुन। कालो–सेतो देखिने। रंगीन टीभी आइसकेको थिएन। स्याटलाइट च्यानलहरू कल्पनामै थिएनन्। भारतको सरकारी च्यानल दूरदर्शनले पश्चिम बंगाल स्टेसनबाट जे फ्याँक्थ्यो, त्यही हेर्ने हो। पछि–पछि हिन्दीमा पनि आउन थाल्यो। अनि मजा आयो।
अचानक शशि खतिवडालाई कसैले गोली हानेर मार्यौं यो मेची पुलमा। नेपाल–भारत सीमाको बीचमा पार्ने गरी। ठूलै हल्लीखल्ली भयो। हलचल त मेरो मनमा पनि चलेको थियो। टीभी हेर्ने ढोका अचानक बन्द भएको थियो। तर विस्तारै अरू ढोकाहरू खुल्न थाले। धुलाबारीमा टीभीको संख्या बढ्दै गयो। अलि पछि त हाम्रै घरमा पनि आयो– १४ इन्चको श्याम–श्वेत ‘इटीएन्डटी’ टीभी। उसबेला चलेको त्यही थियो। २१ सय भारु पथ्र्यो पारी भारतीय बजारमा। त्यो भित्रिँदा घरमा ठूलै हर्षबढाई भयो– अरूभन्दा के कम जस्तो लाग्यो ! सबभन्दा खुसी मै थिएँ।
टीभी त आयो, तर प्रायःसधंै किरकिर आइरहने। छानामाथि एन्टेना राखेको हुन्थ्यो। मिलाउँदाको सास्ती। माथिबाट करायो ‘आयो–आयो ? ’ भन्दै। तलबाट ‘छैन’ भनेपछि फेरि घुमायो। दृश्य आउँदा आवाज नआउने, आवाज आउँदा दृश्य नआउने। हैरान। समय जति एन्टेना मिलाउँदैमा जान्थ्यो। अनि अलेली मधुरो देखिँदा पनि दंग परिन्थ्यो। कहिलेकाहीँ त धमिलो–धमिलो दृश्यमा आवाज सुनेर अन्दाज गर्नुपथ्र्यो– कुनचाहिँ कलाकार हो भनेर। पछि ‘बुस्टर’ पाइन थाल्यो। त्यसलाई एन्टेनामा जोडेपछि कमजोर तरंग पनि टिपथ्यो। एन्टेना र बुस्टर मिलाउने काममा म च्याम्पियन नै भएँ छरछिमेकमा।
गाउँको ढोका त्यसै पनि खुला हुन्छ, सहरमा झैं समय मागेर पसिरहनु पर्दैन। अझ टीभी हेर्ने कोठाको ढोका त सधैं सबैका लागि खुला हुनैपथ्र्यो। एउटा अघोषित नियमसरह। जसको घरमा टीभी छ, त्यहाँ गएर हेर्न पाउने हक सबैलाई हुन्थ्यो। एउटा साँघुरो कोठामा २०–२५ जनासम्म कोचिन्थ्यौं। कोठामा नअटेर बरन्डासमेत भरिन्थ्यो। राम्रो कार्यक्रम आउँदा त झ्यालबाट चियाएर सानो झलकमात्र देख्दा पनि धन्य !
दुःखको कुरो– टीभीमा फिल्म भने धेरै आउँदैनथियो। दूरदर्शनले सप्ताहन्तमा त देखाउँथ्यो, तर सधैं राम्रो हुन्थेन। फिल्म हेर्न सिनेमा हल नै जानुपथ्र्यो। हाम्रो स्कुलछेउमै एउटा थोत्रो हल थियो– तृष्णा चलचित्र मन्दिर। त्यो मन्दिरमा पुराना फिल्मको तृष्णामात्र मेटिन्थ्यो। तैपनि क्लास छलेर थर्ड क्लासमा पस्नेहरू भइहाल्थे। थर्ड क्लास कस्तो भने– पर्दाकै मुनि बसेर टाउको ठाडो पारेर हेर्नुपर्ने। फिल्म सकिँदा घाँटी दुखेर बिजोग। त्यसमाथि कहिलेकाहीँ त हेडसर छडी लिएर हलभित्रै खोज्न आइहाल्ने। अनि भागाभाग।
नयाँ फिल्म हेर्न भने सीमापारी नै जानुपथ्र्यो– पानीट्यांकी र नक्सलबारी। कहिले बस र रिक्सामा त कहिले साइकलमा। ‘स्कुल फस्ट’ भएपछि मैले बुवा–आमाबाट साइकल पाएको थिएँ। मौका पायो कि साथीहरूसँग कुरा मिलायो, चढ्यो, हिँडिहाल्यो। बाटोमा लेनिन, माओ र चारु मजुम्दारहरूका राता सालिक भेटिन्थे। नक्सलवादी विद्रोहको उद्गम रहेछ। हाम्रा निम्ति भने पाइडल खियाउँदा–खियाउँदा थाकेपछि बिसाउने ठाउँ। धुलाबारीको साप्ताहिक हाट भर्ने बजार पनि त्यही नक्सल थियो। त्यसैले सानो छँदा त्यो अर्कै देश हो भन्ने पनि लाग्दैन थियो।
नक्सलबारीमा दुई–तीनचोटी हेरेको उसबेलाको हाम्रो फेबरेट फिल्म थियो– ‘कयामत से कयामत तक’। आमिर खान र जुही चावलालाई त्यसैले चिनायो। हामीले पनि उनीहरूलाई त्यसैबाट चिन्यौं। आफ्नै कोसीपारि भारदहका उदितनारायणले गाएको ‘पापा कह्ते है...’ सबैको मुखमा झुन्डियो। उदितले त्यही गीतबाट बलिउडमा रि–ब्रेक पाए। आमिर खान किशोरवयमै हाम्रो ‘हिरो’ भए। त्यसो त मनपर्ने नायक अहिले पनि उनै हुन्। उसबेला एउटी केटी साथीले नयाँ वर्षमा आमिर–जुही जोडीको पोस्टकार्ड पठाउँदा म झन्डै माथि–माथि उडेको, आफैंलाई आमिर ठान्दै !
सायद ‘प्यारा–सोसल रिलेसन’ त्यसैलाई भन्छन्। टीभीले चाहिँ त्यस्तो फिल्मी फ्यान्टसी दिँदैन थियो। रंगीन टीभी आएपछि भने गजब भयो। हामी जस्तो छौं, त्यस्तै देखाइदिने। जुन रंगको लुगा छ, त्यही देखिने। अचम्मको लाग्थ्यो कलर टेलिभिजन। सुरुमा त्यो अलि हुनेखानेकहाँ मात्र थियो। सीमा क्षेत्रको साम्यवाद– केही समयमै त्यो आम मानिसकहाँ पनि भित्रिहाल्यो।
पछि टीभीलाई नै भिडियो बनाउन सकिँदो रहेछ भन्ने थाहा पाइयो। बजारबाट डेक र भिडियो क्यासेट भाडामा लियो, टीभीमा जोड्यो, हे¥यो। घरबाट कहिलेकाहीँ मात्र त्यसको अनुमति पाइन्थ्यो। अनि रातभरि हेरिन्थ्यो। भोलिपल्ट दिमागमा सबै फिल्मका कथा जुध्ने। मिथुन चक्रवर्ती हिँड्दाहिँड्दै अमिताभ बच्चन बन्थे। रेखा हो कि श्रीदेवी– दिमागले खुट्याउन सक्दैन थियो। अनि एउटा फिल्मको भिलेन अर्कोको जस्तो लाग्थ्यो। तैपनि एकैरात हेरेका तीन–चारवटा फिल्मका मि िश्रत कथा हामीलाई कैयौं दिन गफ दिने खुराक बन्थे।
हामीलाई टीभीतिर तान्ने एउटा मुख्य कारक बन्यो, रामानन्द सागरको ‘रामायण’। उसबेलाको मेगा सिरियल। २०४३–४५ को अवधिमा आइतबार बिहान त्यो धारावाहिक आउँदा स्कुल नै ढिलोगरी लाग्थ्यो। मान्छेले किताबमा पढेका राम–सीता टीभीमा प्रत्यक्ष प्रकट भएका थिए। कतिले त राम बनेका अरुण गोविल र सीता बनेकी दीपिकालाई पुज्थे नै। रामायण सुरु हुन लाग्दा टीभीलाई ढोग्ने गरेको समेत सुनिन्थ्यो। भगवान्लाई घरैमा ल्याइदिने साधन बन्यो टीभी !
अहिले जति प्रविधिको विकास नभए पनि स्पेसल इफेक्ट्सको सक्दो प्रयोग थियो त्यसमा। रामायणले यो उपमहाद्विपमै टीभीलाई लोकप्रिय बनाउने काम ग¥यो। भारत २०४८ सालबाट आर्थिक उदारीकरणमा जानुअघि धेरै खुलिसकेको थिएन, त्यसअगावै उसको सफ्टपावर बढाउन यसले भूमिका खेल्यो। हिन्दु समुदायमा धार्मिक पुनर्जागरण ल्याउने कारक पनि बन्यो भनिन्छ यो धारावाहिक। कतिपयले भाजपालाई अयोध्या मुद्दा चर्काउने आरम्भिक ऊर्जा यसैबाट मिलेको विश्लेषणसमेत गरेका छन्।
रामायण सकिएलगत्तै दूरदर्शनमै आउन थाल्यो अर्को मेगा सिरियल ‘महाभारत’। हरिश भिमानीको ओजिलो आवाजमा ‘मै समय हुँ’ भन्दै सूत्राधारले कथारम्भ गर्थे। मलाई रामायणभन्दा बढी त्यसले तान्यो। हुन पनि महाभारतका कथा–उपकथाहरूमा के छैन ! राजनीति–कूटनीति–छलनीति–प्रेम–युद्ध–धोका–ज्ञान–रोमाञ्च सबै उपलब्ध छ। कृष्ण र कुरुक्षेत्र अर्को आकर्षण भइहाले।
महाभारतमा कुरुक्षेत्र सुरु हुन लाग्दा यता मुलुकमा अर्को ‘कुरुक्षेत्र’ कसिँदै थियो। २०४६ सालको जनआन्दोलन। त्यसको केन्द्र काठमाडौं थियो, बाछिटा हाम्रो स्कुलसम्म आइपुग्यो। हाम्रो दिमागमा आसन्न एसएलसीभन्दा आन्दोलनले बास गर्यो। खासगरी भद्रपुर क्याम्पसमा राम थापा मारिएपछि हामी सबै तात्यौं। यति तात्यौं, त्यही स्कुलमा पढाउने मेरा बुवाको जागिर झन्डै मेरै कारणबाट गयो। केही दिनमा पञ्चायती व्यवस्था नै गएकाले मात्र त्यसो हुन पाएन।
देशको कुरुक्षेत्र साम्य भए पनि टेलिभिजनको कुरुक्षेत्र अरू केही महिना चलिरह्यो। हामीले हेरिरह्यौं। हाम्रो पुस्ता रामायण र महाभारतको कथा पढेर होइन, देखेर हुर्कियो। हामीलाई विश्वास त राजनीतिक गुरुहरूले पढाउने प्र िश्रतको ‘देवासुर संग्राम’ र त्यस्तै कथाहरूतिर थियो, तर टीभीको पर्दामा आइरहेको महाभारतको महाराजनीतिसँग त्यसको तुलनै हुन्थेन।
धेरै वर्ष हाम्रा निम्ति टीभी भनेको हिन्दीमात्र हो भनेजस्तो भइरह्यो। नेपाली बोल्ने नेपाल टेलिभिजन राजधानीमा २०४२ सालतिरै आएछ। हामीकहाँ भने भेडेटारमा टावर राखेपछि बल्ल आइपुग्यो। अनि मात्र नेपालसँग जोडिएजस्तो लाग्यो। तर टीभीका तरंगहरू यति चञ्चल हुँदा रहेछन्, जता राम्रो भयो त्यता बगिरहने। राजनीतिक भूगोलले नछेक्ने। सेटेलाइट युग सुरु भएपछि यो चञ्चलता अरू बढ्यो। कहिले को अगाडि, कहिले को। दर्शकसामु दर्जनौं विकल्पहरू देखापरे। दौडमा विदेशी च्यानलहरू नै हावी भए।
टेलिभिजन पश्चिमा जगत्मा लोकप्रिय भएको ३०–३५ वर्षपछि बल्ल हामीकहाँ आएको हो। उसबेला त्यही ‘क्रान्ति’ थियो। त्यसले दुनियाँलाई हेर्ने–बुझ्ने हाम्रो तौरतरिका बदल्यो। फेसन र प्रेमका नयाँ ढोकाहरू खोलिदियो। समाजलाई खुलापनतर्फ लैजान भूमिका खेल्यो। र, सायद अरू पनि थुप्रै कुरा ग¥यो।
टीभी सेट पनि पहिलेजस्ता मोटा र भद्दा रहेनन्। पातला र छरिता स्मार्ट टीभीहरू घरभित्र पसे। तर च्यानलहरू बाहिर निस्कदै गए। युट्युब र अन्य डिजिटल माध्यम छिर्दै गए। यसले टेलिभिजनप्रतिको परम्परागत बुझाइ र हेराइमै बद्लाव ल्याउँदैछ। लाग्छ, सूचना र मनोरञ्जनको अर्को आयाम आरम्भ हुँदैछ।
मलाई भने फेरि पनि इडिएट बक्सका पुराना कथाहरूले तानिरहन्छ। यो गन्थन त्यसैको उपज हो।
(नोट : यो निजी नोस्टाल्जिया हो, साह्रै झर्को लागे गाली गर्नुहोला है !)