‘खुला दाजिर्लिङ, खुम्चिएको काठमाडौं’

‘खुला दाजिर्लिङ, खुम्चिएको काठमाडौं’

सन् १९४३ मा सिलोङ (भारत)मा जन्मिएका पिटर जे कार्थकले दार्जिलिङको टर्नबुल हाइस्कुल, सेन्ट जोसेफ कलेज र नर्थ प्वाइन्टमा अध्ययन गरे। दार्जिलिङको पहिलो स्थानीय रक ब्यान्ड ‘हिलियन्स’का बेस गिटारिस्ट तथा ‘फ्रन्टम्यान’ कार्थक अम्बर गुरुङ नेतृत्वको आर्ट एकेडेमी अफ म्युजिकमा आबद्ध रहे। त्यसका अन्य सदस्यहरू थिए– गोपाल योञ्जन, अरुणा लामा, कर्म योञ्जन, शरण प्रधान, जितेन्द्र बर्देवा, रञ्जित गजमेरजस्ता नेपाली सांगीतिक आकाशका नक्षत्रहरू। एकेडेमीबाट अम्बर गुरुङले राजीनामा र गोपाल–कर्मले हिमालय कलामन्दिरको स्थापना गरेपछि कार्थक, शरण, अरुणा, जितेन्द्र र रञ्जितले ‘संगम’ नामको छुट्टै समूह स्थापना गरे।

गुरु अम्बर गुरुङ र दौंतरी गोपाल योञ्जनकै पदचाप पछ्याउँदै कार्थक पनि नेपाल आए। र, सन् १९६६ देखि ७६ सम्मको एक दशक रेडियो नेपालको ‘सेसन म्युजिसियन’का रूपमा काम गरे। यही अवधिमा कार्थकले नेपाली सुगम संगीतका एक से एक हस्ती अम्बर गुरुङ, नारायणगोपाल, नातिकाजी, शिवशंकर, बच्चुकैलाश, तारादेवी, प्रेमध्वज प्रधान, कोइलीदेवी, पुष्प नेपाली, दीप श्रेष्ठ, फत्तेमान, माणिक रत्न, मीरा राणा, ज्ञानु राणादेखि लेकाली समूहको गायन र कम्पोजिसनमा गिटार र (डबल) बेस बजाए।

दार्जिलिङबाट सुरु भएर काठमाडौंमा झाँगिएको आफ्नो सांगीतिक जीवनको संस्मरणात्मक पुस्तक ‘नेपाली म्युजिकमेकर्स, विट्विन दी डेल्स अफ दार्जिलिङ एन्ड दी भेल्स अफ काठमाण्डू’ कार्थकले भर्खरै सार्वजनिक गरेका छन्। सूचनाभन्दा पनि आफ्ना संगतको स्पन्दन रहेको हिमाल बुक्सद्वारा प्रकाशित ‘नेपाली म्युजिकमेकर्स’को सेरोफेरोमा रहेर कार्थकसँग ‘दी काठमाण्डू पोस्ट’मा कुनै बेला सँगै काम गरेका लेखक एवं वृत्तचित्र निर्माता शेखर खरेलले कुराकानी गरेका छन्। प्रस्तुत छ कुराकानीको सम्पादित अंश :


सन् १९६६ मा काठमाडौं आउँदा यहाँको संगीत माहोल कस्तो पाउनुभयो, दाइले ?

मैले किताबमा पनि लेखेको छु, त्यति बेलाको काठमाडौं मध्ययुगको ‘वेस्टल्यान्ड’जस्तै थियो। सांस्कृतिक रूपमा काठमाडौं धनी हो। तर पनि सिनेमा र संगीतको हिसाबले दार्जिलिङबाट काठमाडौं आउँदा एउटा छुट्टै प्रदेशमा आएजस्तो लाग्यो। किनकि, उता हामी अंग्रेजी सिनेमा मज्जाले हेर्दै थियौं। संगीत त छँदैै थिएन भने पनि हुन्छ यहाँ। जे–जति थियो रेडियो नेपालमै सीमित थियो। रेडियो नेपालभित्र बाजागाजा र वाद्यवादकको अवस्था अत्यन्त निराशाजनक थियो। अनि बाजा बजाउने ‘दमाई’ मात्र हुन् भन्ने खाले जातीय दृष्टिकोण थियो।

जातिगत रूपमा भेदभाव वा दुव्र्यवहार पनि महसुस गर्नुभयो कि ?

देखिने नै गरेर त हँदैनथ्यो। दुईजना पाले थिए रेडियोमा, उनीहरू हामीले बाजा लिएर आउँदै गर्दा उदेक मानेर ‍हेर्थे। उनीहरूमा बाजा बजाउनु ‘दमाई’को काम भन्नेजस्तो छाप परेको थियो, तर हामी ‘दमाई’ थिएनौं। किनकि त्यहाँ शुभबहादुर सुनाम, मनश्यामहरू जस्ता वाद्यवादक थिए। हामीमध्येका फुर्वा छिरिङ भोटे, पिटर जे कार्थक लाप्चा, पुरु सुब्बा लिम्बू थियौं नि ! त्यहाँको माहोल अर्कै थियो, हामी प्रवेश गरेर इन्द्रेणीको रंग दिएका थियौं।

गायक फत्तेमान (राजभण्डारी) माथिको लेख (ओविच्युरी) मा तपाईंले उनको उदारमना र खासगरी ‘प्रवासी’ प्रतिको अपनत्व भावको हार्दिक प्रशंसा गर्नुभएको छ। के जातीय भेदाभावजस्तै प्रवासबाट आएकाप्रति पनि पूर्वाग्रह राखिन्थ्यो ?

हो, त्यस्तो व्यवहार देखिन्थ्यो। एकपल्ट गीतकार किरण खरेलले, ‘होइन हो, प्रवास नभन न, परको वास न हो, हाम्रै नेपाली हो’ भनेर जवाफ दिनुभएको सम्झन्छु। मानिसहरू ठाडै त भन्दैनथे, तर बाहिरिया भन्नेचाहिँ थियो। यसमा एउटा कुरा पनि थप्छु। राजाले नै निम्त्याएर ल्याएका अम्बर गुरुङ, लैनसिंह बाङ्देलजस्ता व्यक्तिहरूमाथि पनि बालकृष्ण सम, केदारमान व्यथितहरूका शंकालु दृष्टि रहन्थ्यो। यिनीहरू हाम्रा भाग खोस्न आएका कुजात वा बेजात हुन् भन्नेजस्ता पूर्वाग्रह पाइन्थ्यो। जस्तै अम्बर सरलाई भन्नलाई संगीत प्रमुखको पद भने पनि उहाँले (राजकीय) प्रज्ञाप्रतिष्ठानमा २७–२८ वर्ष सडेगलेकै अवस्थामा बिताउनु पर्‍यो।

पुस्तकमा एक प्रकारले बहस पनि गरिएको छ अम्बर गुरुङको योगदान वा भनौं सिर्जनशीलतालाई लिएर, कि उहाँ नेपाल आएपछि अपेक्षा गरिएअनुसार सफल हुनु भएन भनेर। तपाई आफैंचाहिँ, आफ्ना गुरु अम्बर गुरुङ नेपाल आएपछि कति सफल देख्नुहुन्छ ?

भाइले टाउकोमा किला ठोक्ने भनेजस्तो प्रश्न गर्नुभयो। मैले सर (अम्बर गुरुङ)लाई धेरैपल्ट सोध्थेँ पनि, खै त दार्जिलिङका ती खाँटीखाँटी गीतहरू, ती त तपाईंका बहिखातामै रहिरहने भए भनेर। अगमसिंह गिरीदेखि ईश्वरवल्लभ, भूपि शेरचन र बैरागी (काइँला) दाजुका कति गीतहरू रेकर्ड नै भएका छैनन्। अनि सरका गीतहरू पनि खै त, यहाँ त रेकर्डिङ स्टुडियो छन् भनेर प्रश्न गरेको छु। २८ वर्षमा पुराना २८ वटा मात्र गीत गाइएका भए कति राम्रो हुन्थ्यो ! सर बितेलगत्तै (अम्बर गुरुङकी) छोरी अल्कालाई मैले तिम्रा दाइहरू संगीतकार छन्, आफ्नै स्टुडियो छ, कति गीतका ट्युन हामीलाई थाहा छ, त्यसैले ती बहिखाताबाट निकालेर रेकर्डिङ गर भनेर सुझाएको थिएँ। उनले पनि ‘हो अंकल गर्नुपर्छ भनेर’ उत्साह जनाएकी थिइन्।

अम्बर गुरुङको स्वभावका कारण पनि ती रेकर्डिङ नभएका हुन् कि ?

नेपालमा आएर प्रज्ञाप्रतिष्ठानमा नोकरी गरेपछि जसरी अम्बर सर चम्किनुपर्ने, ठीक उल्टो भइदियो। दार्जिलिङजस्तो असम्भव लाग्ने ठाउमा उहाँ चम्किनुभयो। यता त, १५ मिनेट मात्र हिँड्दा रेडियो नेपालको रेकर्डिङ स्टुडियो पुग्न सकिन्थ्यो। स्टुडियो थियो, १२÷१५ जना म्युजिसियन हुन्थ्यौं। त्यसैले गर्न धेरै सकिन्थ्यो। तर, किन हो ‘डेट’ पर्खिरा जस्तो हुन्थ्यो। अम्बर गुरुङ जस्ताका लागि डेट त सधैं खुला रहनुपर्ने हो। म किशोर (छोरा)लाई जिस्क्याउँदै बारम्बार भन्थेँ पनि, बुवाले बेलुका दुईचार पेग लगाएपछि गुनगुनाउँदा ती ट्युन तिमी किन थाहा नपाउने गरी टेप रेकर्ड गर्दैनौ !

तर, गुरुङ विपरीत उनका चेला गोपाल योञ्जन नेपाल आएपछि चम्किएको देखिन्छ। उनी खुला र अरूसँग सहकार्य गर्न इच्छुक देखिन्छन्। उदाहरणका लागि, योञ्जन स्वयं गायक भईकन पनि नारायणगोपाललाई आफ्नो कम्पोजिसनमा स्वर भर्न दिएका उदहरण प्रशस्तै छन्। दाइलाई के लाग्छ ?

हो, पक्कै। गोपाल (योञ्जन)मा ‘एडभेन्चरिज्म’ भन्ने थियो। रेडियो नेपालको रेकर्डिङकै दौरान गोपालले एकै दिन दुईवटा भजन गायो। त्यो सुनेर एकजना तबलावादक इन्द्रलाल श्रेष्ठले त स्टुडियोभित्र धुप बाले, वातावरण नै पवित्र भयो भन्दै। राष्ट्रिय गीतदेखि तमाङ सेलो के गाएन उसले !

अम्बर गुरुङका चेलाहरू तपाईं, गोपाल योञ्जन, रञ्जित गजमेर नेपाल आउनु भए पनि अरुणा लामाले भने दार्जिलिङ नै रोजिन्। उनले त्यहाँ रहेर आफ्नो सिर्जनाको भरपूर उपयोग गरिन् वा चुकिन्, कस्तो लाग्छ दाइलाई ? त्यसैगरी विवाहले उनको जीवनमा कस्तो प्रभाव पार्‍यो ? किनकि, शरण प्रधानसँग विवाहपछिका १० वर्ष उनले पतिका कम्पोजिसनमा मात्र सीमित राखेकी थिइन्।

अम्बर गुरुङबाट छुट्टिएपछि हाम्रो ‘संगम’ समूह बन्यो। त्यो बेला राम्राराम्रा गीतहरू रेकर्ड गरिए। विवाहपछि उनीहरूले नगरेका त होइनन्। त्योभन्दा पनि अरुणाले सरकारी जागिर खाएका कारण उसले भनेजसरी गीत गाउन पाइन। एक प्रकारले गीत गाउन बन्देज लागेजस्तै भयो। ‘नौ लाख तारा’को काण्ड पनि त्यही हो। अम्बर सरले ‘एन्टी–नेसनल’ गीत गाएका कारण जागिरबाट राजीनामा दिनुपर्‍यो। ‘सुगौली सन्धि’ गीतका कारण रचनाकार अगमसिंह गिरी पनि ७० दिन जेल बस्नु पर्‍यो। अर्को कारणचाहिँ, शरण यसै पनि रोगी, ऊ पछि ‘अल्कोहलिक’ भयो। दुई सन्तान भए। घर (सासूहरू)बाट अवहेलना र पतिको मृत्युका कारण त्यति बेलासम्म अरुणा पनि पिउन थालिसकेकी थिई। गोर्खाल्यान्डको गन्जागोलमा अरुणा सायद नेपाल आउन सक्थी। किनकि, ऊ गोर्खाल्यान्डका हुल्याहाबाट उत्तिकै सताइएकी थिई। व्यक्तिगत, प्राविधिक र राजनीतिक कारणले जति हुनुपर्ने हो, त्यति गीत रेकर्ड हुन सकेन।

अरुणा लामा हुन् वा उनका पति शरण प्रधान वा जितेन्द्र बर्देवा अनि अगमसिंह गिरी हुन् वा गोपाल योञ्जन; सबैको नियति एउटै देखिन्छ। रक्सीका कारण अकाल मृत्यु ! किन सर्जकलाई रक्सी नभई नहुने ? दाइ पनि पिउनका लागि अलिअलि त सोखिन हुनुहुन्थ्यो नै !

खै के कारण हो ! जितेन्द्र बर्देवाले आर्मीमा रहँदा खैनी खान सिकेको थियो। उसको बोलीचाली यति राम्रो, किन रक्सीमा लाग्यो बुझ्नै सकिएन। मानिसको किन हो मतिभ्रष्ट हुने रहेछ। त्यो लीला नै होला ! गोपाल (योञ्जन)की आमाले छोरालाई सन्न्यासी बनाउन चाहेकी थिइन्। ऊ त हामीसँगै जाँड खान पो थाल्यो। दसैंको बेला टन्न पिएर ठीक–ठीक भएर घर पुग्दा आमा रुनु भयो रे ! यता नेपाल आएपछि ऊ पारिवारिक कारणले झनै पिउन थाल्यो। ऊ परिवारबाट ‘डेस्परेट’ भइसकेको थियो र पछिल्ला दिनमा त रक्सीलाई नै सहारा बनाउन थाल्यो।

एउटा मलाई रुचि भएको विषय जुन तपार्इंको किताबमा समेटिएको देखिनँ। नारायणगोपालका अनन्य मित्र अनि मीत गोपाल योञ्जनको एउटा समयमा नारायणगोपाल सँगको सम्बन्धमा दरार आयो। त्यसैगरी नारायणगोपाल र अम्बर गुरुङबीच पनि दूरी देखियो। के कस्तो कारणले यस्तो भएको थियो, थाहा होला ?

नारायण (गोपाल) दाइको माणिक रत्न (स्थापित) सँग पनि सम्बन्ध टुट्यो। तारादेवीसँग पनि बोलचाल बन्द भएको थियो, यद्यपि उनीहरूले सँगै रेकर्ड भने गरेका छन्। सायद नारायण दाइकै सनकपन हुनुपर्छ। नारायण दाइ र गोपाल बीचको फाटोको कारणचाहिँ ‘ओल्ड वाइफ्स टेल्स’ भन्छन् नि, यी दुवैका पत्नीहरूका हस्तक्षेपमा विचरा पतिहरू फसे।

सन् १९७६ को कुरा हो, म अम्बर सरलाई भेट्न उहाँको त्यस बेलाको डेरा छाउनी पुगेको थिएँ। त्यहाँ के पुगेको थिएँ, अम्बर सर र नारायण दाइ बीचको झगडा चर्केर हात हालाहालको अवस्थातिर पुग्न लागेको रहेछ। पछि कुरा बुझ्दा अम्बर सरको ट्युनमा नारायणगोपालले मनपरी गरिदिएको रहेछ। उनीहरूले झगडा गरेको गीत थियो, हरिभक्त कटुवालको ‘पोखिएर घामको झुल्का।’ त्यो गीत पछि सुपरहिट भयो। सबैसँग बेमेल हुनुमा नारायण दाइका भूलहरू देखिन्छन्।

अम्बर गुरुङमाथिको संस्मरणमा तपाईंले उहाँलाई ‘अनयुज्ड, मिस्युज्ड एन्ड अब्युज्ड जिनियस’ भन्नुभएको छ। तर, नेपाल आएका स्रष्टाहरूमध्ये उनीभन्दा बढी सम्मान अरूले पाएका देखिँदैन। उदाहरणका लागि, गोपाल योञ्जनसँगै तुलना गरौं न !

हो भाइको तर्क जायज हो। मैले किताबमा पनि कतै लेखेको छु, पञ्चायतमा ल्याएको अम्बर गुरुङलाई प्रजातन्त्रले माथि उठाइदियो भनेर। उहाँको हकमा विरोधाभाष भएरै यस्तो लेखेको हँ। राजा महेन्द्रले ल्याएका अम्बर गुरुङलाई २८ वर्ष त कुँजाएरै राखिएको हो नि त ! बरु २०४६ पछि अम्बरलाई ‘महेन्द्रको मान्छे’ कहिल्यै पनि भनिएन, बरु मानपदवी र सम्मान दिइन थालियो। उता, गोपाल (योञ्जन) ले नगेन्द्र थापा (गीतकार) बाट प्रशस्त ‘एड्भान्टेज’ लिन सक्नु पथ्र्यो। नगेन्द्र पटकपटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापाका भाइ हुन्। नत्र अम्बर सरभन्दा भाग्यशाली गोपाल हुन सक्थे। तर, उनले त्यतातिर ध्यान दिएनन्।

दार्जिलिङबाट अम्बर गुरुङ र गोपाल योञ्जनजस्ता गीत, संगीत र गायनमा पारंगत स्रष्टा नेपाल आएर नेपाली सुगम संगीतलाई अघि बढाए। सँगै तपाईंहरूले पनि वाद्यवादनमार्फत ठूलो योगदान दिनुभयो। तर, उहाँहरू आउनुअघि देखि नै यता नेपालमा नातिकाजी, शिवशंकरजस्ता हेभिवेटहरूले पनि संगीत रचना गरिरहेका थिए। नेपाल र दार्जिलिङका यी स्रष्टाहरू बीचको सिर्जनागत आधारभूत (फन्डामेन्टल) भिन्नता के थियो ?

काठमाडौं र दार्जिलिङ आकाश–पातालको फरक हो। राणाहरूले सय वर्षभन्दा बढी कब्जामा पारेको काठमाडौं त थुनिएको देश हो नि ! त्यसैले काठमाडौं अँध्यारोमा थियो, जब कि दार्जिलिङमा सबैतिर उज्यालै–उज्यालो। दार्जिलिङ खुला थियो भने काठमाडौं खुम्चिएको। ब्रिटिस शासनका कारण खुला र आधुनिक रह्यो त्यो समाज। पाश्चात्य फिल्म, संगीतमा हाम्रो पहुँच थियो। हो, त्यही कुरा यहाँ आउँदा बिलकुल शून्य पायौं। संगीतको हकमा पनि यही थियो।

पुस्तकमा एउटा मन छुने तुलना वा भनौं उदाहरण तपाईंले प्रस्तुत गर्नुभएको छ। नेपाली सुगम संगीतका तीन कर्णप्रिय स्वर बच्चुकैलाश, माणिकरत्न र ध्रुव केसी आफ्नो सिर्जना र ख्यातिको चरमचुलीमा रहेकै बेला संगीत क्षेत्रबाट अघोषित सन्न्यास लिन्छन्। यी तीन गायकमध्ये बच्चुकैलाशको प्रसंग एउटा छुट्टै संस्मरणमार्फत तपार्इंले उजागर गर्नुभएको छ। बच्चुकैलाशले किन र कुन कारणले संगीत चटक्कै छाडेका हुन् ?

खास कारण त बच्चु दाइलाई नै सोध्नुपर्ने हो। किताबमा मैले उल्लेख गरेको पनि छु। सन् १९६८ मा दार्जिलिङमा गएको बाढीपहिरोको सहायतार्थ महेन्द्र पुलिस क्लबमा च्यारिटी कन्सर्ट भएको थियो, जहाँ बच्चु दाइको गीतमा मैले पनि गिटार बजाएको थिएँ। उहाँले गाउँदा केही हुल्याहाले नराम्ररी हुटिङ गरे। गीत सकिएपछि उहाँले मलाई भन्नुभयो, ‘यस्ता मान्छेहरूका लागि अब गाए त के ? ’ हुन पनि त्यसपछि उहाँलाई सार्वजनिक कार्यक्रममा गाएको देखिएन। त्यस्तै रेकर्ड पनि कमकम हुँदै जान थाल्यो। अरू त पारिवारिक कारण पनि होला। किनकि, बच्चु दाइलाई माथिका (अभिजात्य वर्ग)ले आफ्नोझैं बनाए। हुन सक्छ, उहाँ कुनै परिबन्धमा पनि पर्दै जानुभयो कि !

कुरा बच्चुकैलाशको मात्र रहेन, तपाईं स्वयंले पनि कुन कारणले सांगीतिक करिअर उत्कर्षमा पुगेकै बेला (सन् १९७६) मा संगीतलाई चटक्कै छाडेर अर्को पेसा अँगाल्नुभयो ?

रेडियो नेपालमा आएपछि दार्जिलिङमा जुन ‘प्रोग्रेस’ (उन्नति) गरेका थियौं त्यो ‘रिग्रेस’ (अवनति) हुन थाल्यो। सिकेको कुरामा थपिँदै जानुपर्नेमा त्यो झन् घट्न पो थाल्यो। यसै बेला मैले त्रिविबाट अंग्रेजीमा स्नातकोत्तर गरिसकेको थिएँ। दोस्रो श्रेणीमा उत्तीर्ण भएकाले मेरानिम्ति कलेज पढाउने ढोका पनि खुल्यो। पछि बाजा बजाउने वातावरण पनि बिग्रँदै गयो र म स्वयं पनि के गर्ने भन्ने विषयमा ‘सेलेक्टिभ’ बनेँ। अर्कै लाइन पक्डिएपछि भौतिक अनुपस्थिति पनि हुने रहेछ। यदाकदा मैले कन्सर्टहरूमा नबजाएको पनि होइन, तर त्यहाँ बजाउँदा दार्जिलिङको जिमखाना (क्लब)मा बाजाएजस्तो आनन्द कहाँ हुन्थ्यो र ! यी सबै कारणले म टाढाटाढा हुँदै गएको हुनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.