हटेनन् हड्डी र मासु उद्योग

हटेनन् हड्डी र मासु उद्योग

वीरगन्ज : बस्तीछेउ सञ्चालित चौपायाका मासु र हड्डी उद्योगका कारण पर्साको वीरगन्जका पाँच वडावासी पीडित बनेका छन्। उद्योगको दुर्गन्धले आसपासमा रहेका वडा नम्बर १७ , १८ , २० , २७ र २८ का २५ हजारभन्दा बढी घरपरिवार समस्यामा परेका हुन्। उनीहरूले यी उद्योग हटाउनुपर्ने माग गर्दै आएका छन्।

सौराहा र भवानीपुर अपौनीमा हिरो बफ मिट सप्लायर्स, मध्यमाञ्चल बोन चिप्स र नारायणी बोन चिप्स डेढ दशकदेखि सञ्चालनमा छन्। चिनियाँ व्यापारीको लगानी रहेको हिरो बफले राँगा, भैंसीको मासु तयार पारी विदेश निर्यातसमेत गर्छ। अरू दुई उद्योगले विभिन्न स्थानबाट राँगा, भैंसी र पाडाका हाड, खुर र सिङ ल्याएर प्रशोधन गर्दै आएका छन्।

मापदण्डविपरीत खोलिएका मासु र हड्डी उद्योगबाट फैलिने दुर्गन्धले घरभित्र बस्न सक्ने अवस्था समेत नरहेको स्थानीय बताउँछन्। उद्योगको लापरवाहीका कारण चार जनाले ज्यानसमेत गुमाएको उनीहरूको भनाइ छ। उद्योगको आलो मासु र हड्डी खाएर बहुलाएका स्याल र कुकुरले टोक्दा रेबिज लागी उनीहरूको ज्यान गएको स्थानीय रामनरेशप्रसाद यादवले बताए।

‘फ्याक्ट्रीकै मासु, हड्डी खाएर बहुलाएको कुकुरले टोक्दा मेरो छोरो म¥यो’, स्थानीय कमलदेवी यादवले भनिन्, ‘भुस्याहा कुकुर मासु, हड्डी खान आउँछन्। खसी, बाख्रा र भैँसीलाई पनि टोकिदिन्छन्। बच्चा स्कुल जाँदा पनि बाटोमा भुस्याहा कुकुरले टोक्छन्। खेतबारी जान पनि सयपटक सोच्नुपर्छ।’

मासु र हड्डी खुला रूपमा भण्डारण गरेर राखिएका कारण भुस्याहा कुकुर र स्यालको बथान नै आउने गरेको स्थानीयको भनाइ छ। त्रासकै कारण बालबालिका गाउँनजिककै विद्यालय जान छाडेको स्थानीय चानसी प्रसादले बताए। ‘कुकुर र स्यालले टोक्ने डरका कारण हामीले नानीबाबुलाई स्कुल पठाउँदैनौं’, उनले भने, ‘हामीलाई पनि खेतसम्म जान जोखिम छ।’

सौरहाका बलिस्टर यादवका अनुसार दुर्गन्धले गाउँमा बस्न सक्ने अवस्था छैन। ‘घरमा खाना खाइरहेका बेला काग र कुकुर सडेको मासुको चोक्टा र हड्डी बोकेर आँगनमै आइपुग्छन्’, उनले भने, ‘हावा चलेको बेला त घरभित्रै पनि गम्छाले नाक–मुख थुनेर बस्नुपर्छ।’

उद्योग बन्द गराउन माग गर्दै स्थानीयले २०६८ असोज २५ गते जिल्ला प्रशासन कार्यालय पर्सा र २०६९ पुस २९ गते उद्योग मन्त्रालयमा निवेदन दिए। मन्त्रालयको निर्देशनमा घरेलु तथा साना उद्योग कार्यालयको टोलीले २०७० वैशाख ४ गते स्थलगत निरीक्षण गरेको थियो। टोलीले बुझाएको प्रतिवेदनमा एक–डेढ किलोमिटर वरै दुर्गन्ध आएको, उद्योग परिसरमा खुला रुपले हड्डी र मासु राखिएको, कामदारले सुरक्षा साधन प्रयोग नगरेको भेटिएको उल्लेख थियो। टोलीले दुर्गन्धका कारण उद्योग स्थानीयमा खान मन नलाग्ने, वाकवाक लाग्ने, टाउको दुख्ने र बाटोमा देखिने हड्डीले मनोवैज्ञानिक असर पारेको जनाएको थियो। प्रदूषण रोक्न ट्रिटमेन्ट प्लान्ट स्थापना गरी उद्योग दर्ता गर्दाका बखत स्वीकार गरेका सर्त पूरा गराउन पनि टोली राय दिएको थियो। स्थानीयले २०७२ मंसिरमा पनि जिल्ला प्रशासनमा निवेदन दिएका थिए।

स्थानीय निर्वाचनपछि पाँच वडाका वडाध्यक्षले पनि उद्योग हटाउन माग गर्दै महानगरपालिका कार्यालयमा निवेदन दिए। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भुसालले अधिकृत रामदयाल यादवलाई स्थलगत अध्ययन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएका थिए। स्थानीयको जीवनयापनमा समस्या उत्पन्न गराएकाले उद्योग हटाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाइसकेको अधिकृत यादवले बताए। तर, महानगपालिकाले पनि निर्णय गर्न नसकेको वडा नम्बर २० का अध्यक्ष पारप्रसाद यादवको भनाइ छ।

अनुगमनका क्रममा उद्योगले सामान्य सर्त पनि पालना नगरेको पाएको भुसालले सुनाए। ‘मासु र हड्डी उद्योगका कारण स्थानीय समस्या छन्’, उनले भने, ‘तर, ठूला लगानीका उद्योग भएकाले तत्काल निर्णय लिन नसकिएको हो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.