बिग्रेको मेसिनबाट स्वास्थ्य परीक्षण
प्युठान : प्युठान नगरपालिका–१ स्थित दाखाक्वाडी स्वास्थ्यचौकीमा बिग्रिएको मेसिनले प्रेसर परीक्षण गरी अनुमानका भरमा औषधि दिने गरिएको छ। जिल्ला जनस्वास्थ्य र प्युठान नगरपालिकामा मेसिनसहित अन्य सामग्री खरिदका लागि पटक–पटक माग फारम बुझाए पनि सुनुवाइ नभएको स्वास्थ्यचौकी निमित्त इन्चार्ज अनमी मोतीकुमारी केसीले बताइन्। ‘आन्तरिक स्रोतमा पनि पैसा छ’, उनले भनिन्, ‘त्यसबाट खरिद गरेनौँ। जिल्लाबाट पनि चासो दिइएन।’
स्वास्थ्यचौकी सञ्चालन तथा व्यवस्थापन समितिको बैठक बस्न नसक्दा काम गर्न असहज भएको उनले बताइन्। स्वास्थ्यचौकीको आन्तरिक खातामा रकम भएर पनि मेसिन खरिद गर्नतर्फ स्वास्थ्यकर्मी र व्यवस्थापन समितिले चासो नदेखाउनु गैरजिम्मेवार भएको स्थानीयको आरोप छ। औषधि व्यवसायीका अनुसार उक्त मेसिनलाई २ हजारदेखि १० हजार पाँच सय रुपैयाँ पर्छ।
प्युठान नगरपालिका कार्यालदेखि टाढाको दूरीमा अवस्थित उक्त स्वास्थ्यचौकीमा दाखाक्वाडीको भलावाङ, सालघारी, धाइरेचौर, फूलघाट र माण्डवी गाउँपालिकाको मार्सिवाङबाट बिरामी सेवा लिन आउने गर्छन्। जीर्ण भवनबाट सञ्चालित चौकीमा काम गर्न असहज भइरहेको अनमी सिर्जना योगीको गुनासो छ। ‘एउटा टेबलमा चार जनाले काम गर्छौं’, उनले भनिन्, ‘अभावै अभावमा सेवा दिनुपरेको छ।’
स्वास्थ्यसँग सम्बन्धित सरोकारवाला निकायका जिम्मेवार अधिकारीहरू बेला–बेला अनुगमनमा पुग्ने गर्छन्। तर, उनीहरूको अनुगमन औपचारिकतामै सीमित हुँदा स्वास्थ्यचौकीमा कार्यरत कर्मचारी जिम्मेवार बन्न नसकेको पाइएको छ। संघीय संरचनापछि कार्यक्रम सञ्चालनका लागि बजेट नआएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले बताए। स्वास्थ्य संस्थामा अत्यावश्यक पर्ने मेसिन, औजार खरिद गर्न सम्बन्धित कार्यालयका कर्मचारी जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ। स्थानीय तहमा निःशुल्क औषधि खरिदमा मात्र जनप्रतिनिधिको ध्यान पुगेको बताउँदै सुवेदीले अत्यावश्यक मेसिन, उपकरण खरिदमा समेत चासो दिन सुझाव दिए।