खोले साग बन्यो आम्दानीको स्रोत

खोले साग बन्यो आम्दानीको स्रोत

वीरगन्ज : पर्साको ठोरीमा रहेका खोलामा पाइने खोले साग, केही वर्षयता भने स्थानीय किसानका लागि आम्दानीको राम्रो स्रोत बनेको छ। गाउँदेखि सहर बजारसम्म खोले सागको माग बढ्न थालेपछि ठोरीका स्थानीयले खोलामा त्यसै खेर गइरहेको खोले साग टिपेर मनग्य आम्दानी गर्न थालेका छन्।

छिप्छिपे पानी बग्ने खोलामा यो साग मौलाउने भएकाले यसलार्ई खोले साग भनिन्छ। कतिपय स्थानमा खोले सागलाई सीम साग र पालुंगे साग पनि भनिन्छ। ठोरी गाउँपालिकामा पर्ने गंगटेखोला, धार्नी खोला, ताल खोला, जरायोखोला र झिंगेखोलामा पाइने खोले, स्थानीयले टिपेर बेच्दै आएका छन्।

बजारमा खोले सागको माग बढ्न थालेपछि स्थानीयले खोलामै व्यावसायिक रूपमा खोले सागखेती गर्न थालेका छन्। ठोरीका चार/पाँचवटा खोलामा खोलेसाग पाइने भए पनि स्थानीयले वडा नम्बर १ भगवाननगरको घोलटोलमा रहेको गंगटेखोलामा मात्रै खोले सागको व्यावसायिकखेती गरेका छन्।

स्थानीय हर्कबहादुर अधिकारी, हर्कबहादुर आले, दिलबहादुर थापा, धनबहादुर थापा, प्रेमबहादुर रिमाल, ज्ञानेन्द्र रिमाललगायत आधा दर्जन किसानले गंगटेखोलामा खोले सागको व्यावसायिक खेती गरेका हुन्। खोलामा हरेकले लगभग एक एक कठ्ठामा खोले सागखेती गरेको भन्दै स्थानीय पुरन थापाले भने,‘खोलामा त्यसै खेर गइरहेको साग अहिले भने सिजनमा प्रत्येक वर्ष एक घरपरिवारले ३५ देखि ४० हजार रुपैयाँसम्ममा बेच्ने गरेका छन्।

उपभोक्ता साग किन्न आफैं खोलासम्म पुग्ने गरेको भन्दै स्थानीय किसान थापाले भने‘ पछिल्लो समय खोले साग चितवन, कास्की, काठमाडौंलगायत शहरसम्म पुग्न थालेको छ। उनका अनुसार , मङ्सीर देखि चैत महिना सम्म खोलामा खोले साग उत्पादन हुन्छ। विशेष गरेर फागुन देखि चैत सम्म यसको माग अत्यधिक हुन्छ, थापाले भने ,‘ चैत वैशाख महीनामा त यति धेरै माग बढ्छ कि पूरा गर्नै सकिन्न।

स्थानीय किसानहरुका अनुसार , सङगलो पानी बग्ने स्थानमा खोले साग फल्छ। पानी फोहरमैलो र रसायनयुक्त हुन थालेमा भने खोले साग आफै नष्ट भएर हराउछ , स्थानीय किसान प्रेम बहादुर रिमालले भने ,‘ यो सागमा कुनै मल विषादि प्रयोग नगरिने भएकोले आर्गेनीक पनि हुन्छ।

यो साग खादा कब्जियत, कुपोषण, आँखाको समस्या भएकाहरुको स्वास्थ्यमा प्रत्यक्ष फाइदा पुग्ने भएकोले यसको माग दिन प्रतिदिन बढ्दै गएको थापाले बताए। उनका अनुसार , खोले साग रोपेको एक महीना भित्र नै बेच्ने लायक हुन्छ , रोप्नुबाहेक यसको खेती गर्न कुनै लगानी पनि गर्नु पर्दैन , त्यसैले विना लगानी त्यसै खेर गइरहेको खोलाको पानी सदुपयोग गरेर स्थानीय किसानले राम्रो आम्दानी गर्दै आइरहेका छन्।

जब पहिलो पटक टिपिन्छ त्यसको हप्ता दिनमै फेरि साग टिप्न सकिने भएकोले साप्ताहिक रूपमा आम्दानी लिन सकिने भन्दै स्थानीय किसान रिमालले भने ‘अरु तरकारी बेच्न बजारसम्मै धाउनुपर्छ तर खोले साग किन्न ग्राहकहरु खोलामैं आउछन्। खोलामा खोले साग रोप्दा हेरचाह पनि धेरै गर्नु नपर्ने भएकोले खोले सागको खेती तर्फ आपूmहरू आकर्षित भएको रिमालले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.