दाइजोविरुद्ध मुस्लिम समुदायको प्रदर्शन
राजविराज : दाइजोप्रथाले विकृतिका रुपमा उग्ररूप लिएपछि इस्लामी संघ सप्तरीले चेतनामूलक कार्यक्रमको रुपमा मंगलबार राजविराजमा प्रदर्शन गरेको छ ।
एक र्याली मार्फत संघका समर्थकहरुले दाइजोप्रथाको विरोध गरे । इस्लामी संघले देशव्यापी दाइजोविरुद्ध सुरु गरेको १० दिने अभियानको मंगलबार समापन गर्दै राजविराजमा ¥याली प्रदर्शन गरेको जनाएको छ ।
दाइजोलाई हराम (अवैध) मानेका मुसलमान समुदायमा पछिल्लो समय दाइजोप्रथाले विकराल रूप लिन थालेपछि देशव्यापी अभियान चलाइएको संघका केन्द्रीय सदस्य अब्दल मनानले बताए ।
‘बिना लेनदेन आपसी सल्लाह र समझदारीमा हुने विवाहको साटो दाइजो प्रथाले जरा गाड्दै गएपछि मुसलमान समुदाय पनि चिन्तित छन्’ मनानले भने, ‘कुरानले एकअर्काको धन सम्पत्ति अनुचित ढंगले नखानु भनेको छ ।’
¥यालीको नेतृत्व गरेका जिल्ला अध्यक्ष कलिउज्जमा खाँले कुप्रथाविरुद्ध नलागे दाइजोको विष फैलिएर समाज नै विकृत बनाउने बताए । उनले भने, ‘कुरानले नै ‘हराम’ (अवैध) भनेकोमा अचेल इस्लामिक परम्पराभन्दा बाहिर गएर छोराको बिहेमा दाइजो लिन थालेपछि त्यस विरुद्व अभियान चलाएका हौँ ।’
दाइजो विरोधी अभियानमा संलग्न नेपाल मुस्लिम इत्तेहाद संगठनका जिल्ला अध्यक्ष कमाल अहमदले मधेसका मुस्लिमलगायत सबै समुदायमा दाइजोको विष फैलिएकाले मुस्लिम समुदायको अभियानले सबैमा राम्रो सन्देश पुग्ने दावी गरे ।
खराब देखासिकीबाट दाइजोप्रथा मुस्लिम समुदायमा पनि भित्रिएको बताउँदै नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले घरजग्गा सम्पति बेचेर दाइजो दिनुपर्ने बाध्यता विकराल बन्दै गएकोमा समयमै सचेत बन्नुपर्ने बताए ।
नुरी जामे मस्जिदका मौलाना कैशर इमाम र फकिरा मदर्साका मौलाना इर्साद खाँ नदबीले छोरीलाई शिक्षित बनाइ आत्मनिर्भर बनाउन सके दाइजो विरुद्ध प्रहार गर्न सकिने बताए ।
र्यालीपछि आयोजित कोणसभामा प्रदेश नम्बर २ का प्रदेश प्रमुखका स्वकीय सचिव युसुफ अली, नेकपाका सकिल अली, नेपाली कांग्रेसका शब्बिर आजमलगायतले मुस्लिम समाजमा समेत महामारी झैँ फैलिएको दाइजोप्रथाले छोरी जन्मिदा परिवारले बोझ ठान्न थालेकोमा आपत्ति जनाए ।
कोणसभाअघि बालबालिका, महिला, पुरुषहरुको जुलुसले ‘दाइजो प्रथाको अन्त्य गरौँ, छोरीलाई दाइजो होइन, पैतृक अंश दिऊँ, हिंसारहित समाज निर्माण गरौँ’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर नगर परिक्रमा गरेका थिए ।